खेलकुदआइतबार, कार्तिक ९, २०७१
नेपालको शानदार जीत
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सिंगापुरलाई १९० रनले हराएको छ । मलेशियामा ९ कात्तिकमा २६४ रनको लक्ष्य पछ्याइरहेको सिंगापुरलाई २१.४ ओभरमा अलआउट गर्दै नेपालले शानदार जीत हासिल गरेको हो ।
नेपाललाई जिताउने क्रममा सोमपाल कामी तथा बसन्त रेग्मीले ४–४ र अमृत भट्टराईले २ विकेट लिए । सोमपालले ५४ बलमा तीन मेडन राख्दै ४१ रन खर्चिए ।
बसन्तले ५.४ ओभर बलिङ गर्दा दुई मेडन राखेर ६ रन दिए । पाँच ओभर बलिङ गरेका अमृतले १९ रन खर्चिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
————————————————————————————————————————————————–
नेपालद्वारा सिंगापुरलाई २६४ रनको चुनौती
मलेशियामा जारी आइसिसी विश्व लिग डिभीजन–३ मा नेपालले सिंगापुरलाई २६४ रनको चुनौती दिएको छ ।
मलेशियामा जारी आइसिसी विश्व लिग डिभीजन–३ अन्तर्गत ९ कात्तिकमा भइरहेको आफ्नो तेस्रो खेलमा नेपाली क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्दै सिंगापुरविरुद्ध २६३ रन बनाएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्लले १३ चौका र १ छक्काको मद्दतले १२५ बलमा ११४ रन बनाए ।
ओपनिङ ब्याट्सम्यान सुबास खकुरेल कुनै रन नबनाई दोस्रो बलमै आउट भए पनि नरेश बुढा ऐरले ५९ बलमा २९ रन बनाए । कप्तान पारस खड्काले १९ बलमा २ चौका सहित १४ रन बनाए ।
शरद भेसवाकरले ४९ बलमा २५ रन बनाए । त्यसैगरी बसन्त रेग्मीले २१, विनोद भण्डारीले ८, सोमपाल कामीले ६, शक्ति गौचनले ५ रन बनाए ।
२५ बलमा २१ रन बनाएका सागर पुन र ५ बलमा ६ रन बनाएका अमृत भट्टराई ‘नटआउट’ रहे ।
यसअघि युगान्डासँग नेपाल पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराउँदै समूहको दोस्रो स्थानमा उक्लिएको थियो।
एक सातासम्म चल्ने प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
