खेलकुदबुधबार, कार्तिक १२, २०७१
नेपाल फेरि डिभिजन २ मा
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले आयोजक मलेशियालाई ३६ रनले जितेको छ । १२ कात्तिकमा मलेशियाले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि डर्कवर्थ लेविसको आधारमा नेपाल ३६ रनले विजयी भएको हो ।
जितसँगै नेपाल फेरि डिभिजन २ मा उक्लिएको छ । आईसीसी वान–डे विश्वकप छनौटमा नवौं स्थानमा रहेर डिभिजन ३ मा घटुवा भएको नेपाल मलेशियामा जारी प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै पुनः डिभिजन २ मा उक्लिएको हो ।
मलेशियाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २५ ओभरमा दुई विकेटको क्षतिमा ८९ रन बनायो ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान नरेश बुढाऐर ४२ र पाँच बलको सामना गरेका कप्तान पारस खड्का एक रन बनाउँदै नटआउट रहे । ज्ञानेन्द्र मल्ल ३५ र सुवास खकुरेल ३ रन बनाए ।
टस हारेर ब्याटिङ गरेको आयोजक मलेशियाले ४३.२ ओभरमा अलआउट हुँदै १४२ रन बनायो ।
मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान पारस खड्काले ४ विकेट लिए । उनले ५४ बलमा ३ मेडन राख्दै २० रन मात्र दिए ।
भुवन कार्कीले ३ विकेट झारे । ९.३ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ३४ रन दिए ।
शक्ति गौचनले २ र सागर पुनले १ विकेट लिए ।
अनवर अरुदिनले बनाएको सर्वाधिक ६९ रनले मलेशियालाई जीवनदान दिन सकेन ।
नेपालसँगै युगान्डा पनि डिभिजन २ मा उक्लिएको छ । युगान्डा पनि नेपालसँगै डिभिजन ३ मा घटुवामा परेको टीम हो ।
प्रतियोगितामा नेपालसँगै ४ जितसहित आठ अंक बटुलेको युगान्डा नेट रनरेटमा भने पछि रह्यो । नेपाल प्रतियोगितामा शीर्षस्थान छ ।
१३ कात्तिक बिहान नेपाल र युगान्डाबीच फाइनल खेल हुनेछ । यी दुवै टीमले नामिबियामा ३–१० माघमा हुने डिभिजन २ प्रतियोगितामा भाग लिनेछन् ।
डिभिजन २ मा नेपालसहित युगान्डा, नामिबिया, नेदरल्याण्डस्, क्यानडा, र केन्या छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
