ब्लगसोमबार, कार्तिक १७, २०७१
बैठक सहमति
“भइसक्यो भन्नुस् !”
“झिनो अल्झेटो बाँकी देख्दैनस्, झ्याप्ले !”
ठिटाहरू सडकबीच सिंगौरी खेल्न थाले । मनोरञ्जनको मुफ्त अवसर लुँड्याउन मानिसहरूको मेला लाग्यो । भीड हटाएर आवागमन सुचारु गराउन प्रहरीको गानो खुस्केला जस्तो भयो ।
“के हुनलाग्यो भन्या ?”
“सहमति !” सामूहिक भाका आयो ।
तत्क्षण भीड तितरवितर भयो । सग्लै होस् वा फुटाएर हेर्दा, बडो सकारात्मक लाग्ने ‘सहमति’ शब्दमा निहित मिठास पुरातात्विक महत्वको वस्तु हुन पुगेको दह्रो प्रमाण हो, यो । धेरै कोचे’सी मह पनि यसरी तीतो भएर मर्दोरहेछ । भाषाप्रेमीहरूको प्रेमिल मनले भन्दो हो– बरा, शब्दको के दोष ? दोषभागी त ती मदारीहरू हुन् जसले निमुखा शब्दहरूलाई बाँदर भन्दा बढी
नचाए ! तर, भावुक कुरामा बहेर निजात पाए पो !
नयाँ नेपालाँ जे–जति उटपट्याङ खेल चलिरहेका छन्, ती सबै शब्दको पुच्छर निमोठ्ने खेलोबाट प्रेरित देखिन्छन् । पछाडि फर्केर हेर्दा ‘१४ जेठ’ भन्नेवित्तिकै कुनै कालमा हाम्रो आङ सिरिङ्ग हुन्थ्यो, मन भरङ्गिन्थ्यो र कन्पारो तात्न थाल्थ्यो । अहिले ‘सहमति’ शब्दले त्यस्तै पारा ल्याउँदैछ । देश र जनताप्रति भित्रैदेखि हुँडलिएको चिन्ताले रातोदिन बैैठकरत् नेताज्यूहरूमाथि सहमति भन्ने जिनिसले किञ्चित रहमभाव देखाएन । र पनि, कर्तव्यपरायण नेतृत्व बरु गाँजा–चरेस खाने, तर हरेस नखानेमा दृढै देखिन्छन् । यति दर्विलो नेतृत्व पाएर पनि हाम्रो राजनीति चाहिं नशेडीको खुट्टी झैं लर्बरिएको प्रतीत हुनु अलग बात हो । साँढेको पछि दगुर्ने स्यालले कुरीकुरी भन्दा समेत फल नझर्ने बैठकमा सिलसिलेवार सहभागी हुने हिम्मतवाहक नेतृत्वका कारण सहमति उद्यम झाँकीहरू रोकिन पाएको छैन ।
समयमै सर्वसम्मतिको संविधान बनाउन भइरहेका बैठकहरूलाई हाइ, खाइ र भत्काइ गरी मोटामोटी तीन भागमा वर्गीकृत गर्न सकिन्छ । पहिलोमा नेताजीहरू सन्चो–बिसन्चो सोध्छन्, पत्रपत्रिकामा आ–आफ्नो तस्वीर खोज्दै एकछिन सुस्ताउँछन् अनि हाइ काढेर आङ तन्काउँदै निस्कन्छन् । खाइ बैठकमा क्रिकेटरहरूले एक दिवसीय, तीन दिवसीय र टेस्ट म्याच खेले झैं नेता मण्डली होटल–रिसोर्टमा आवासीय बैठक बसी चमेना चर्दै विभिन्न सभामा आफूले फलाकेका रेकर्ड बजाएर सिन्कोले दाँत कोट्याउँदै बाहिरिन्छन् । उल्लिखित दुईभन्दा भत्काइ बैठक कुछ कामको हुन्छ ।
बैठकहरूमा डुबुल्की मार्दामार्दै समयले नेटो काटे’सी अन्तिम पटकका लागि संशोधित कार्यतालिकाको पुनः संशोधन नै भत्काइ बैठकको मुख्य उपलब्धि हुन्छ ।
बैठकहरूको गोलचक्करबीच पार्टी एवं मोर्चे चियापानको दौर चल्दा समेत माखो नमरेको देखेर संवाद र सहमति समितिका मुखियाले बेपत्ता दुखिया हुँदै सहमति कोरल्न अब केही दिन अनौपचारिक बैठकमा ओथारो बस्नुपर्ने विचार गरेछन् । पार्टीहरूदेखि गुट–उपगुटसम्मका विभिन्न नेताका मनमा लन्ठिएका चाहना, कुन्ठिएका इच्छा र गुम्सिएका आकांक्षा सम्बोधन गर्न यसको दरकार पर्ने उनले विचारेछन् । तर, दलहरूबीच सहमतिको प्रयत्न त पार पाइनसक्नुको दलदल प्रतीत भएको बेला नेता–नेताका अन्तर–कुन्तर मिलाएर संविधान जारी गर्ने कुरा कलियुग नबिती सम्भव देखिंदैन ।
कागलाई अण्डा कोरल्न लगाउने ‘कोइली स्कूल’ का हेडसरले सुझाएको टोटकालाई हामी अदनाले ‘अण्डर–इस्टिमेट’ गर्न नमिल्ला, तर नेपाली राजनीतिले सदा उल्टो गंगा बहाउने हुँदा सुल्टो हाम्लाई फाप्दैन । औपचारिक, निर्णायक, अन्तिम, वारपार हुँदै अनौपचारिक बैठकको चरणमा हामी प्रवेश गरेका छौं भने निकट भविष्यमै दलहरूले अर्ध–औपचारिक र पौने–अनौपचारिक वार्ताको प्रहसन प्रस्तुत गर्नेमा दृढविश्वासी बनौं । लोकाचारका लागि असहमतिका बुँदा संविधानसभामा प्रवेश गराइएछ भने’नि बेफुर्सदी माननीयहरूले त्यो टण्टा ठालुहरूकै थाप्लाँ नथचार्लान् भन्न सकिन्न ।
दलहरू मेरुदण्ड भाँच्चिए’नि खाँचैसित्ती भन्दै हदैसम्म लचिलो बनी सहमति खोज्दाछन् । त्यति गर्दा’नि टिमुर्केर हिंड्ने ‘सहमति’ को बैमानीलाई नजरअन्दाज गर्दै राजनीतिक नेतृत्वतर्फ धारे हात लाउनु घोर नाइन्साफी हुनेछ । कार्यतालिकालाई जतिसुकै मारमुङ्ग्री लाए पनि ८ माघको भाकालाई दलहरूले टसमस हुन नदिनु कम्ता सकारात्मक छैन । माघेसंक्रान्तिका दिन तिलौरा बुक्याउँदै गर्दा दलहरूले ८ माघलाई १४ जेठको मीता नबनाइदिउन् भन्ने कामना गरौं । जय सहमति !
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
