खेलकुदसोमबार, कार्तिक १७, २०७१
क्रिकेटः बढ्यो चुनौती
१३ कात्तिकमा पुरानो प्रतिद्वन्द्वी युगान्डालाई फाइनलमा हराएर आईसीसी वल्र्ड क्रिकेट लीग डिभिजन–३ को उपाधिसहित नेपाल डिभिजन–२ मा उक्लेको छ । र, यससँगै नेपाली टीमका लागि डिभिजन–२ को चुनौती पनि शुरु भएको छ । यसअघि पनि फाइनलमा युगान्डालाई पराजित गरेर डिभिजन–२ मा पुगेको नेपाल पर्याप्त तयारी नभएकै कारण अघिल्लो वर्ष एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा खराब नतीजा निकालेपछि रेलिगेसनमा परेर पुनः डिभिजन–३ मै झारेको थियो ।
झन् बढी चुनौती
नेपालसामु एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटको प्रवेशद्वार मानिने विश्व क्रिकेट लीग च्याम्पियनसीप खेल्न कम्तीमा डिभिजन–२ को फाइनलमा पुग्नुपर्ने चुनौती छ । आगामी ३—१० माघमा नामिबियामा हुने यो प्रतियोगितामा नेपालले युगान्डा, नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जुन अहिलेको भन्दा स्वाभाविक रुपमा कठिन हुनेमा दुईमत छैन । संभवतः यही कुरालाई मध्यनजर गर्दै डिभिजन–३ को उपाधि जितेलगत्तै प्रशिक्षक पुबुदु दासनायकेले भनेका थिए, “डिभिजन–२ फरक स्तरको हो, त्यसका लागि हामीले अझै धेरै मिहिनेत र तयारी गर्नुपर्नेछ ।”
डिभिजन–२ को फाइनल पुग्नसके मात्रै नेपालले प्रथम श्रेणी मान्यता प्राप्त चार दिवसीय प्रतियोगिता (अन्तरमहादेशीय कप) खेल्न पाउनेछ । यसको विजेताले टेष्ट क्रिकेटका लागि ‘प्ले अफ’ खेल्न पाउनेछ । त्यस्तै अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यताको आधार मानिने आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनसीप खेल्ने अवसरका लागि पनि डिभिजन–२ को फाइनलमा पुग्नैपर्छ । राष्ट्रिय टीमका सहायक प्रशिक्षक जगत टमाटा राम्रो तयारी गरे मात्रै डिभिजन–२ को चुनौती पार गर्न सकिने बताउँछन् । प्रतिस्पर्धी टीमहरूको कमि–कमजोरी पहिल्याउँदै त्यसै अनुसारको रणनीति बनाएर खेल्नुपर्ने उनको तर्क छ । अघिल्लो पटक डिभिजन–२ मा भोगेको असफलताबाट सिकेर पनि पर्याप्त तयारी आवश्यक भएको राष्ट्रिय टीमका पूर्व कप्तान एलबी क्षेत्री बताउँछन् । “खेलाडीको लगनशीलता र मिहिनेतले फाइनल पुग्न सक्ने देखाउँछ”, उनी भन्छन्, “तर त्यसका लागि सरकारले पनि लगानी बढाउनुपर्छ ।”
तर, क्रिकेट विश्वकपमा नेपाली टोलीको सहभागितालाई अभियानको रूपमा सञ्चालन गर्न २०६७ मा गठित कार्यदलले खेल मैदान निर्माण र स्तरवृद्धि, खेलाडीलाई विशिष्टीकृत तालीम, बाह्य टोलीसँगको अभ्यास र खेलाडीको फिटनेसमा सुधार गर्ने लगायतका सुझाव हालसम्म पनि कार्यान्वयन भएको छैन ।
नेपाललाई थप सफलताका लागि बढीभन्दा बढी ‘एक्सपोजर’ आवश्यक छ । हङकङसँग टी—२० श्रृङ्खला खेल्न आगामी साता नेपाली टीम श्रीलंका जाँदैछ । त्यहाँ नेपालले श्रीलंकाको ‘ए’ टीमसँग ‘थ्री डे’ खेल पनि खेल्ने छ । यी दुवै खेलले डिभिजन–२ को तयारीका लागि सहयोग पुग्नेछ । तर त्यति मात्रै पर्याप्त नहुने बताउँछन्, पूर्व कप्तान एलबी क्षेत्री । डिभिजन–२ अफ्रिकाको नामिबियामा हुन लागेकाले त्यहाँको हावापानी मिल्दो देशमा मैत्रीपूर्ण खेलमार्फत अभ्यास गराउनुपर्ने उनको सुझाव छ । आवश्यक विशिष्टीकृत तालीमका लागि क्यानले आईसीसीसँग समय मिलाउँदै गरेको बताउँदै सहायक प्रशिक्षक टमाटा भन्छन्, “श्रीलंकाबाट फर्केको केही दिनमै मैत्रीपूर्ण खेलका लागि विदेश लैजाने तयारी हुँदैछ ।”
तुफान/सेन्छेलुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
