थप समाचारमंगलबार, कार्तिक १८, २०७१
शिक्षकको गाउँ
अन्न उत्पादनका लागि जिल्लामै कहलिएको सोलुखुम्बुको दक्षिणी गाउँ नेचा शिक्षक उत्पादनमा अझ् अगाडि छ। ओखलढुंगा र खोटाङसँग जोडिएको नेचाले छिमेकी जिल्लामा समेत ‘शिक्षक गाउँ’ को परिचय बनाएको छ। यो गाउँका ५०० भन्दा बढी व्यक्ति शिक्षण पेशामा छन्।
सोलुखुम्बुमा शिक्षा अधिकारी भइसकेकी शिक्षा मन्त्रालयकी उपसचिव गीता घिमिरे भन्छिन्, “एउटै गाउँमा यति धेरै शिक्षक अन्यत्र शायदै होलान्।” नेचाबासी घिमिरेका अनुसार नेचाकै शिक्षकले सोलुखुम्बुका धेरै विद्यालय धानेका छन्।
जिल्ला शिक्षा कार्यालयका अनुसार सोलुखुम्बुमा एक हजार २६० शिक्षक कार्यरत छन्। जिल्लाका ३४ वटै गाविसमा नेचाका शिक्षकले पढाउँछन् भने धेरैजसो प्रधानाध्यापक पनि नेचाली नै छन्। ओखलढुंगा, खोटाङ, रामेछापका विद्यालयमा पढाउनेहरूमा पनि नेचाका शिक्षकको संख्या उल्लेख्य छ।
छेस्काम माविमा प्रधानाध्यापक रहिसकेका र हाल काठमाडौंको मच्छेगाउँस्थित नारायण जनमाविमा अध्यापनरत नेचाकै बालकुमार जमरकट्टेल भन्छन्, “सोलुको माथिल्लो क्षेत्रमा नेचाको शिक्षक भन्ने वित्तिकै इज्जत नै बेग्लै हुन्छ।” नेचामा अवकाशप्राप्त समेत २०० भन्दा बढी शिक्षक छन्। पूर्वमन्त्री एवं सोलुखुम्बुबाट निर्वाचित संविधानसभा सदस्य बलहादुर केसी भन्छन्, “घरैपिच्छे शिक्षक भेटिने हुँदा नेचालाई शिक्षक जन्माउने गाउँ भन्दा हुन्छ।”
बलियो जग
आसपासमा कुनै विद्यालय नहुँदा २०१६ सालमा शहीद नरनाथ कट्टेलको अगुवाइमा ‘केदार आधार पाठशाला’ शुरू गरिएकाले नेचाका बासिन्दा त्यसबेलादेखि नै शिक्षामा अगाडि थिए। भारतीय र बेलायती सेनामा जागीर खाएका तथा कामको सिलसिलामा विदेश गएर फर्केकाहरूले समेत शिक्षामा जोड दिए।
शिक्षण पेशामा लागेको पहिलो पुस्ताले पछिल्ला पुस्तालाई पनि यसमै लाग्न प्रेरित गर्नु यो शिक्षकको गाउँ बन्नुको प्रमुख कारण रहेको सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीका प्रमुख उद्धवकुमार शर्मा बताउँछन्। “आसपासका अरू ठाउँभन्दा नेचा शिक्षामा अगाडि रहेकाले शुरूमै शिक्षण पेशामा लाग्ने पनि धेरै भए”, नेचाकै शर्मा भन्छन्, “पढेपछि घरपायकमै सजिलै जागीर पाउने भएपछि धेरै जना शिक्षण पेशातिरै आकर्षित भए।” शिक्षा मन्त्रालयकी उपसचिव घिमिरे पनि शुरूशुरूमा जागीर भनेकै शिक्षक भन्ने लहरले नेचालाई शिक्षकको गाउँ बनाएको बताउँछिन्।
बेतघारी र नेचा बतासे दुई गाविसको बसोबास समेटिएको बढी जनघनत्व भएको गाउँ हो, नेचा। नेपाल शिक्षक संगठन सोलुखुम्बुका पूर्व अध्यक्ष एवं नेचा बेतघारीस्थित केदार उच्चमाविका प्राचार्य एकराज शर्मा जमरकट्टेल भन्छन्, “पढेर के बन्ने भन्दा पनि अग्रजहरूले जे बाटो रोजे, त्यही पछ्याउँदा धेरैले शिक्षण पेशा अँगाले।” शिक्षकसँगै यो क्षेत्रको शैक्षिक विकासमा पनि नेचा अग्रणी छ।
सोलुखुम्बु, ओखलढुंगा र खोटाङको स्नातकोत्तरसम्म पढाइ हुने पहिलो सोलुखुम्बु बहुमुखी क्याम्पस नेचाकै शर्माको अगुवाइमा खुलेको हो। नेचामै पनि अहिले स्नातकसम्म पढाइ हुने हिमाल दर्शन क्याम्पस छ। जिल्लाकै शैक्षिक केन्द्र मानिने नेचाको प्रेरणाले जिल्लाका अन्य क्षेत्रमा पनि शिक्षकहरू बढिरहेका छन्।
ऋषिराम कट्टेल, सोलुखुम्बु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
