टिप्पणीमंगलबार, कार्तिक १८, २०७१
मालामाल नर्सरी
नर्सरी उत्पादन नभई व्यावसायिक फलफूल खेती हुँदैन, तर नेपाल सरकारको कीर्तिपुरस्थित वागवानी केन्द्र अन्तर्गत १२ ठाउँमा बिरुवा उत्पादन केन्द्रले देशभरका व्यावसायिक किसानलाई समेट्न सकेको छैन। यो अवस्थामा निजी नर्सरीहरूले फलफूलका गुणस्तरीय बिरुवा उत्पादन गरेर किसानमाझ् पुर्याइरहेका छन्। उनीहरूले पनि गुणस्तरीय बिरुवाको बढ्दो माग धान्न भने सकेका छैनन्। सबै नर्सरी व्यवसायीले ग्राहकको आवश्यकता तथा मनोविज्ञान बुझेर काम गरेका पनि छैनन्। सिपालुहरूका लागि भने बिरुवामा निकै व्यावसायिकता आएको छ।
काठमाडौंको महाराजगञ्जमा रहेको स्ट्याण्डर्ड नर्सरी सञ्चालक सुवास श्रेष्ठले ४२ वर्षअघि बुबा हरिभक्तले शुरू गरेको पेशालाई विकसित गरेका छन्। क्षेत्रफल र विविधताको हिसाबले यो नर्सरी सम्भवतः नेपालकै सबभन्दा ठूलो नर्सरी हो। यो नर्सरी फूलका पारखी र फलफूल किसानदेखि वन तथा वनस्पति विज्ञानका विद्यार्थीसम्मका लागि उपयोगी सावित भएको छ। ४० रोपनी क्षेत्रफलमा फैलिएको र २२ जनालाई प्रत्यक्ष रोजगारी दिएको यो नर्सरीले हजारौं फलफूल र वनस्पतिलाई सुरक्षित बनाएको छ।
यसैगरी, खोटाङका जीतबहादुर खड्काले ललितपुरको बालकुमारीमा खोलेको गोल्डेन नर्सरीमा नेपालमा हुने प्रायः सबै फूलका अलावा बाँस, अनार, सुन्तला, कागती लगायतका फलका बिरुवा पाइन्छ। ग्राहकको चाहना बमोजिमका सबै किसिमका गुणस्तरीय बिरुवा उचित दाममा उपलब्ध गराउन संचालक खड्का प्रयासरत छन्। काठमाडौंको मध्यबानेश्वरमा गत १५ वर्षदेखि संचालित रोज डेल नर्सरीका संचालक प्रकाश राई बोटबिरुवाले पैसासँगै सन्तुष्टि दिइरहेको बताउँछन्। उनका अनुसार, नेपालमा नर्सरी लगानी र रोजगारीको एउटा निर्धक्क क्षेत्र भएको छ।
यसैगरी, काभ्रेको धुलिखेलमा २० वर्षदेखि कृषि उद्यम गरिरहेका प्रताप लामाले गत वर्षबाट नर्सरीमा हात हालेका छन्। बढ्दो फलफूलका बिरुवाको मागलाई ध्यानमा राखेर नर्सरी पनि खोलेको उनी बताउँछन्। अर्ग्यानिक तरकारी उत्पादनमा केन्द्रित लामाले ठूलो परिमाणमा रूखकटहर, मेवा, केरा, ड्रागनफल, कागती, नास्पाती, किवी, अनार र हलुवाबेदका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन्। यसबाहेक पाउलोनिया, भेनिला र साबरसूप लगायतका बिरुवा समेत उत्पादन तथा वितरण गर्ने लामाको योजना छ। यसैगरी ललितपुर, भैंसेपाटीका डा. जगन्नाथ राईले ड्रागन फ्रूटका बिरुवा उत्पादन गरेर राम्रो मुनाफा गरिरहेका छन्।
यी व्यवसायीहरूको उत्साहलाई नियाल्दा यहाँ नर्सरी व्यवसायको भविष्य देखिन्छ। नेपालमा निकट भविष्यमै फलफूलका लाखौ बिरुवा रोपिने उनीहरू बताउँछन्। हुन पनि, नेपालका शहरी क्षेत्रका घरहरूमा ड्रागनफल, मुन्तला लगायतका बिरुवा लगाउने चलन बढेको छ भने वैदेशिक रोजगारीका कारण पछिल्ला वर्षहरूमा बाँझो रहेका गाउँघरका जमीनमा फलफूल र रूखबिरुवा लगाइँदैछ। कतिपय गाउँमा त फलफूल र अरू किसिमका रूखबिरुवा लगाउने होड नै चलेको छ।
नर्सरी व्यवसायी प्रकाश राईका अनुसार, लगानी तथा प्रविधि पुर्याउन सक्दा एकै वर्षमा लाखौं बिरुवा बिक्री गर्न सकिने अवस्था आएको छ। यो भनाइले नर्सरी व्यवसाय अँगाल्नेहरूका लागि राम्रो दिन आएको बुझाउँछ। पछिल्लो समयमा उच्च मूल्य आउने बिरुवाको माग बढेको व्यवसायीहरूको अनुभव छ। छिमेकी मुलुकहरूमा समेत बिरुवा पठाउन सकिने सम्भावना आफ्नो ठाउँमा छँदैछ।
यस्तो अवसरको बीचमा बिरुवा उत्पादनमा सरकारको भूमिका गौण छ। सरकारका निकायहरूले उन्नत र गुणस्तरीय बिरुवा उत्पादनले नेपाली कृषि र वन क्षेत्रमा पुर्याउने योगदानमाथि उति ध्यान दिएका छैनन्। यता कम लगानी र लगभग विना प्रविधि संचालनमा रहेका निजी नर्सरीहरूले पूँजी, प्राविधिक र कामदार नपाउने समस्या झेलिरहेका छन्। काठमाडौं उपत्यका लगायतका पायक पर्ने शहरी क्षेत्रमा नर्सरी व्यवसाय गर्नेहरूले जग्गा नपाउने समस्या पनि भोगिरहेका छन्। यी यस्ता समस्या हुन्, जसलाई सरकारको स–सानो नीतिगत व्यवस्था वा परिवर्तनले छुमन्तर पारिदिन सक्छ।
बजारको समस्या नभएको यो व्यवसायमा सरकारले जग्गा, माटो (नर्सरीमा चाहिने जंगलको माटो सामुदायिक वनहरूले दिंदैनन्) र कामदारसँग सम्बन्धित नीतिहरू बनाए बोटबिरुवाका अनेक फाइदासँगै दशकभरमै देशमा हरियाली फिर्नेछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट