अन्तर्वार्ता/विचारबुधबार, कार्तिक १९, २०७१

‘नेपाललाई व्यावहारिक सहयोग गर्न चाहन्छु’

हिमालखबर

अष्ट्रेलियामा कार्यरत नेपाली सथर्जन डा. कुमुद धितालसँग गरिएको कुराकानीः

'नेपाललाई व्यावहारिक सहयोग गर्न चाहन्छु'तपाईंले गर्नुभएको प्रत्यारोपणमा के नयाँ छ?

अरु प्रक्रिया उस्तै भए पनि पहिलो फरक दाताको हो। सामान्यतया प्रत्यारोपणका लागि मुटु दिने व्यक्ति ‘ब्रेन डेड’ हुने गरेकोमा अहिले मृत व्यक्तिको मुटु प्रत्यारोपण भएको छ। मृत शरीरबाट बन्द भइसकेको मुटु निकालेर त्यसलाई विशेष यन्त्रमा सक्रिय पारेर अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम यसअघि भएको थिएन।

यसअघि मस्तिष्कको मृत्यु भए पनि मुटु लगायतका अन्य अंगहरू चलिरहेका व्यक्तिको मुटु झिकेर विशेष भाँडोमा राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्थ्यो।

यसले मुटु रोगी धेरै भएका नेपाल, भारत लगायत दक्षिण एशियाली देशहरूमा कस्तो प्रभाव पार्छ?

पहिलो कुरा त अब प्रत्यारोपणयोग्य मुटु दाताको संख्या बढ्ने छ। मृत व्यक्तिको कलेजो, फोक्सो, मिर्गौला जस्ता अंगहरूको केही वर्षदेखि सफल प्रत्यारोपण हुँदै आएका छन्। अब मुटु प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहेकाहरूको पनि पर्खाइ अवधि छोटिनेछ र, उचित मुटु नपाएर मर्नुपर्ने अवस्थामा कमी आउनेछ। यो प्रत्यारोपणपछि एउटै व्यक्तिका धेरै अंगको प्रत्यारोपण गरेर अंगदान गर्ने परोपकारी चाहना पूरा गराउन पनि थप सघाउ पुग्नेछ।

मलाई लाग्छ, अब मानिसहरूलाई अंगदान र प्रत्यारोपणबारे बुझ्न अझ सहज भएको छ। तर, यो सब गर्न दक्षिण एशियाली देशहरूमा प्रत्यारोपण केन्द्रहरूको विस्तार हुनुपर्छ।

चिरफारभन्दा उचित आहार–बिहार जस्ता रोकथामका उपायमा ध्यान दिएर रोग लाग्न नदिनु राम्रो होइन र?

रोग लाग्नबाट बच्नु त अत्यन्तै राम्रो हो तर, धेरै मानिसमा मुटुको समस्या जन्मजात अथवा वंशाणुगत पनि हुन्छ। त्यसका लागि त चिरफार गर्नै पर्‍यो!

यस क्षेत्रमा आगामी चुनौती के–के छन्?

डीसीडी (डोनेशन आफ्टर सर्कुलेटरी डेथ) हार्ट ट्रान्सप्लान्टेसनका लागि धेरै केन्द्रहरू बन्नुपर्छ। प्रत्यारोपण गरिएका अंगहरू स्वस्थ र सुरक्षित राख्ने अझ राम्रा औषधिहरूको विकास हुनुपर्छ। आगामी दशकमा विभिन्न अंगका कोस प्रिन्ट गरेरै उत्पादन गर्न सक्ने क्षमतासहितका उपचारका नयाँ विधिहरूको विकास हुनेछ जसले गर्दा मानिसले नै बनाएका मांसपेशीका तन्तुबाट मुटुको मर्मत गर्न सकियोस्।

कार्डियोथोरासिक सर्जन भएर ‘मृत मुटु’ को प्रत्यारोपण गर्छु भन्ने विचार तपाईंमा कहिले आएको थियो?

म न्यूरोसर्जन बन्ने रहरले मेडिकल स्कूलमा भर्ना भएको थिएँ, तर १९९४ मा पहिलो पटक कार्डियोथोरासिक सर्जरी गरेको देखेपछि मेरो उद्देश्य बदलियो। डीसीडी हार्ट ट्रान्सप्लान्टेसनका लागि भने क्याम्ब्रिजस्थित पापवर्थ हस्पिटलका मेरा गुरु डा. स्टेफेन लार्जबाट प्रेरित भएँँ। एक दिन यस्तो प्रत्यारोपण गरेरै छाड्छु भन्ने मलाई थाहा थियो, तर यो गर्ने पहिलो व्यक्ति नै हुँला भन्ने चाहिं लागेको थिएन।

तपाईंले सबभन्दा बढी प्रेरणा कोबाट पाउनुभएको छ?

मेरा बुबा स्व. विष्णुप्रसाद धिताल जसले मलाई सपना देख्न र त्यसलाई प्राप्त गर्न कडा मिहिनेतका लागि प्रेरित गरिरहनुभयो। उहाँ भन्ने गर्नुहुन्थ्यो ‘तिमी विदेशमा छौ, त्यहाँका सामान्य नागरिकभन्दा माथिल्लो हैसियत बनाउनुपर्छ, भीडमा हराउने हो भने विकसित देशमा पढेको, काम गरेको सार नै भएन।’

अर्को मलाई प्रेरणा दिने हार्ट फेलियरबाट अपाङ्ग भएका र अन्तिम अवस्थामा पुगेका बिरामीहरूको धैर्य र दृढता पनि हो। आफूले चिन्दै नचिनेकाहरूका लागि अंग दान गरेर उनीहरूको जीवन सहज बनाइदिने परोपकारी दाता र परिवारहरू पनि मेरो प्रेरणाका स्रोत हुन्।

तपाईं ‘अन्तर्राष्ट्रिय नेपाली’, तपाईंकै मुटुमा चाहिं नेपाल कति छ?

मेरो व्यक्तिगत जीवनको धेरै भाग नेपालमै छ। मेरी आमा, परिवारका अन्य सदस्य र नातेदारहरू सबै नेपालमै छन्। नेपालमा व्यावहारिक सहयोग गर्न सकूँ भन्ने चाहना मनमा सधैं छ तर, अहिलेसम्म त्यसले साकार हुने अवसर पाएको छैन।

अहिले म कुन देशको हुँ भनेर चलेको बहसबाट अचम्ममा पनि परेको छु। एउटा भारतीय पत्रिकाले त म भारतीय भएको दाबी गरेछ। मेराबारे भारतीयहरूले नकारात्मक टिप्पणी भने गरेका छैनन्। मैले नचिनेका सामान्य भारतीयदेखि ठूला कम्पनीका सीईओसम्मले प्रत्येक दिन ‘हामीलाई तपाईंप्रति गर्व छ’ भनिरहेका छन्। भारतीय मेडिकल कम्युनिटी निकै उत्साहित भएको छ र मैले त्यहाँबाट ‘की–नोट’ भाषणका लागि निम्तो पाइरहेको छु।

अचेल त एकछिन पनि फोन बिसाउन पाउनुभएको छैन होला, हगि?

विश्वभरबाटै निकै सुखद् प्रतिक्रियाहरू पाइरहेको छु। धेरै वर्षदेखि सम्पर्क टुटेका साथीहरूसँग फेरि भेट भएको छ। ‘मुटु प्रत्यारोपणमा कोसे ढुंगो’ जस्ता प्रतिक्रियाबाट म चकित छु। तर यो चमत्कार होइन, प्रविधि र सीपको कुरा हो।

नेपाली मिडियाले पनि यस विषयमा निरन्तर चासो राखिरहेको छ। नेपालमा पत्रकारिताका लागि अरु थुप्रै योग्य र उचित विषयहरू पनि छन् जस्तो लाग्छ। प्रसिद्धि भनेको त आखिर १५ मिनेटसम्मका लागि न हो।

यो पनि पढौ‌

मुटुमा नेपाली डाक्टरको सुनाम

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>