रिपोर्टबुधबार, कार्तिक १९, २०७१

मुटुमा नेपाली डाक्टरको सुनाम

हिमालखबर

डा. कुमुद धिताल

डा. कुमुद धिताल

-सञ्जीव शर्मा

अष्ट्रेलियामा कार्यरत नेपाली सर्जन कुमुद धिताल विश्वमै पहिलो पटक मृत व्यक्तिको मुटु प्रत्यारोपणबाट बिरामी बचाउन सफल भएका छन्।

सिड्नीको सेन्ट भिन्सेन्ट्स अस्पतालले मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को बिरामीमा प्रत्यारोपण भएको जानकारी गराउँदासम्म त्यहाँ त्यस्ता तीन वटा सफलता हासिल भइसकेको थियो।

तीन महीनाअघि पहिलो प्रत्यारोपण गरिएकी ५५ वर्षीया महिला र ४० वर्षका पुरुष नयाँ मुटुबाट स्वस्थ भएर घर फर्किसकेका थिए भने प्रत्यारोपण गरिएका अर्का विरामी अस्पतालमा स्वास्थ्यलाभ गर्दै थिए ।

तर, अस्पतालले बिरामीहरू पूर्ण स्वस्थ नहुँदासम्म प्रत्यारोपणलाई सफल भन्न नमिल्ने भन्दै तीन महीनापछि मात्र यो जानकारी गरायो। र, यो जानकारीसँगै विश्वले थाहा पायो– चिकित्सा विज्ञानको यो उपलब्धिमा नेपाली डाक्टर कुमुद धितालको मुख्य भूमिका।

गएको ७ कात्तिकमा सेन्ट भिन्सेन्ट्स अस्पतालले गरेको पत्रकार सम्मेलनमा डा. धितालले सगर्व भने, “हो, मैले यो गरें।”

मृत व्यक्तिको मुटु प्रत्यारोपणका लागि धेरै देशमा अनुसन्धान भइरहँदा भिक्टर च्याङ रिसर्च इन्ष्टिच्यूट (भीसीआरआई) र सेन्ट भिन्सेन्ट्स अस्पतालको सहकार्यमा कार्डियोथोरासिक सर्जन धिताल र उनको टोलीले यसमा फड्को मारेर विश्वचर्चाको केन्द्र बनेका छन्।

डा. धिताल ९ वर्षदेखि डीसीडी (डोनेशन आफ्टर सर्कुलेटरी डेथ) हार्ट ट्रान्सप्लान्टमा अनुसन्धानरत थिए। उनको टोलीले मस्तिष्क मरिसके पनि निष्त्रि्कय नभइसकेको मुटु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गरिने प्रचलित प्रक्रियाभन्दा फरक पूर्णतः मृत व्यक्तिको बन्द भइसकेको मुटु झिकी विशेष यन्त्रमा राखेर पुनः चलायमान गराई अर्को बिरामीमा सफल प्रत्यारोपण गर्‍यो।

भीसीआरआईका फ्याकल्टी मेम्बर रहेका डा. धिताल सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्यरत छन्। यो उपलब्धिमा सेन्ट भिन्सेन्ट्स अस्पतालका मुटु तथा फोक्सो प्रत्यारोपण इकाईका निर्देशक डा. पिटर म्याकडोनाल्ड मुख्य सहयोगी थिए।

यो प्रोजेक्टको अनुसन्धान भीसीआरआई र क्लिनिकल काम सेन्ट भिन्सेन्ट्समा भएको थियो।

प्रचलित विधिमा मस्तिष्क मरिसकेका (ब्रेन डेड) व्यक्तिको चलिरहेको मुटुलाई कार्डियोप्लेजिक सोलुसन राखेर बन्द (स्केमिक अरेष्ट) गराइन्छ।

त्यसपछि मुटुलाई मृतकको शरीरबाट निकालेर तत्कालै औषधिसहित आइस बक्समा राखिन्छ।

यसरी कोषहरू बिग्रनबाट जोगाइएको मुटु अर्को बिरामीमा प्रत्यारोपण गरिन्छ। नयाँ मान्छेको शरीरमा मुटु धड्किन थालेपछि प्रत्यारोपण सफल हुन्छ।

क्यानाडामा आफू संलग्न टोलीले मुटु झिकिएको ७ घण्टासम्ममा यस्तो प्रत्यारोपण गरेको शिक्षण अस्पताल महाराजगञ्जका कार्डियोथोरासिक सर्जन डा. भगवान कोइराला सम्झ्न्छन्।

'हार्ट इन अ बक्स' भित्र धड्किरहेको मुटु देखाउँदै डा. कुमुद धिताल।

‘हार्ट इन अ बक्स’ भित्र धड्किरहेको मुटु देखाउँदै डा. कुमुद धिताल।

डा. धितालको टोलीले भने धड्कन बन्द भइसकेको मुटु निकालेर प्रत्यारोपण गरेको छ। यो प्रविधिमा मुटु चल्न छोडेको आधा घण्टाभित्रै कोसहरू बिग्रन नदिन इन्जेक्सनद्वारा विशेष प्रकारको ‘सोलुसन’ हालिन्छ।

‘सोलुसन’ दिएको ४० मिनेटभित्रै मृतककोे शरीरबाट मुटु निकालेर ‘एक्स भिभो अर्गान केयर सिस्टम’ (जसलाई सजिलोका लागि ‘हार्ट इन अ बक्स’ भनिएको छ) मा राखिन्छ।

आवश्यक रगत, अक्सिजन र पोषकतत्व दिएर ‘हार्ट इन अ बक्स’ भित्र चलाइएको मुटुलाई बिरामीमा प्रत्यारोपण गरिन्छ।

मृत व्यक्तिको मुटुमा पठाइने ‘सोलुसन’ को विकास डा. धिताल संलग्न भीसीआरआईको टोलीले गरेको हो भने ‘हर्ट इन अ बक्स’ उनीसँग नियमित सम्पर्कमा रहेका अमेरिकी अनुसन्धानकर्ताहरूले बनाएका हुन्।

७ कात्तिकको पत्रकार सम्मेलनमा डा. पिटर म्याकडोनाल्डले यो प्रविधिलाई २० वर्षको अनुसन्धानको परिणाम भनेका थिए। उनका अनुसार, पछिल्लो चार वर्षमा यो अनुसन्धानले निकै तीव्रता पाएको थियो।

‘ब्रेन डेथ’ को अवस्था

डा. धितालका अनुसार, मस्तिष्कले पूर्ण रूपमा काम गर्न छोडिसके पनि कृत्रिम श्वासप्रश्वासबाट मुटु लगायत अन्य अंगहरू चलिरहेको शारीरिक अवस्थालाई ‘ब्रेन डेथ’ मानिन्छ।

Cover.inddयस्तो बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि रक्तसंचार अवरुद्व भएर सबै अंगले काम गर्न छाड्छन्। अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा बाँच्ने संभावना शून्यमा पुगेको ‘ब्रेन डेथ’ को अवस्थाको बिरामीलाई कानूनी रूपमा मृत मानिन्छ।

“तर, भेन्टिलेटरमा राखिएका सबै बिरामी ‘ब्रेन डेड’ होइनन्”, डा. धिताल भन्छन्, “डाक्टरले निश्चित मापदण्डको आधारमा जाँचहरू गरेर मात्र ‘ब्रेन डेड’ को घोषणा गर्छन्।”

कहिलेकाहीं त्यस्तो जाँचहरू गर्दा ‘ब्रेन डेड’ भएका बिरामीमा हुनुपर्ने केही लक्षण नपाउँदा परिवारजनको सहमतिमा भेन्टिलेटरबाट निकालेर आन्तरिक श्वासप्रश्वास बाँकी छ, छैन हेरिन्छ।

आन्तरिक श्वासप्रश्वास बाँकी रहेछ भने पुनः भेन्टिलेटरमा राखेर उपचार गरिन्छ, नत्र अक्सिजनको अभावमा मुटुसँगै रक्त सञ्चार बन्द हुन दिइन्छ र २ देखि ५ मिनेटमा मृत घोषित गरिन्छ।

यसरी मृत व्यक्तिको स्थिर मुटु ‘हर्ट इन अ बक्स’ मा राखेर पुनः धड्कन फर्काई बिरामीमा प्रत्यारोपण गरिन्छ। डा. धितालको टोलीले त्यही गरेको हो।

डा. धितालका अनुसार, मुटु दाता रहेको अस्पताल र प्रत्यारोपण गरिने अस्पताल एउटै हुने सम्भावना निकै कम हुन्छ। धेरैजसो अवस्थामा बिरामी रहेको अस्पतालसम्म मुटु ल्याइपुर्याअउन घण्टौं लाग्छ।

प्रविधिबाट फाइदा
विश्वमा मुटु प्रत्यारोपण गरिनुपर्ने बिरामीको दाँजोमा मुटु दाताको संख्या निकै न्यून छ। विकसित मुलुकहरूमा दाता नपाएर प्रत्यारोपणको पालो कुरिरहेका थुप्रै बिरामीको मृत्यु हुन्छ भने गरीब देशहरूमा मुटु प्रत्यारोपणको कल्पना मात्र सम्भव छ।

नेपाल जस्तो देशमा कसैलाई ‘ब्रेन डेड’ भएका तिम्रो आफन्तको चलिरहेको मुटु कसैलाई दिऊँ भनेर मनाउन पनि गाह्रो हुने शिक्षण अस्पताल महाराजगञ्जका कार्डियोथोरासिक सर्जन कोइराला बताउँछन्।

क्यानाडामा रहँदा १२ वटा मुटु प्रत्यारोपणमा सहभागी भएका डा. कोइराला भन्छन्, “प्रविधिको विकाससँगै दाता संख्या बढेर मुटु प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीहरूले राहत पाउलान्, तर संख्या अनुमान गर्न सकिन्न।”

सेन्ट भिन्सेन्ट्स अस्पतालले भने अब मुटु दाता संख्या ३० प्रतिशतले बढ्ने जनाएको छ। शरीरबाट निकालिएको मुटु कति काम लाग्दो छ भनेर थाहा पाउने ‘हार्ट इन अ बक्स’ प्रविधि विकास भएको र यस्तो जानकारीले प्रत्यारोपणपछिको जोखिम घटाउने हुनाले सेन्ट भिन्सेन्ट्सले त्यसो भनेको अनुमान लगाउन सकिन्छ।

डा. धितालको टोलीले ‘हर्ट इन अ बक्स’ मा राम्रो काम नगरेका दुई वटा मुटु प्रत्यारोपण गरेको थिएन। उनको टोलीले मृत व्यक्तिको शरीरबाट मुटु निकालेको चार घण्टापछि बिरामीको शरीरमा प्रत्यारोपण गरेको थियो।

प्रविधिको विकासले यो अवधिलाई लम्ब्याउने सम्भावना बलियो छ। मृतककै शरीरमा लामो समयसम्म मुटुलाई स्वस्थ राख्न सक्ने ‘प्रिजर्भेसन सोलुसन’ को विकास हुने सम्भावना पनि छ।

डा. धितालको सफलताले पनि चिकित्सा विज्ञानमा धेरै सम्भावना रहेको प्रमाणित गरेकै छ। पछिल्लो सफलताले यो क्षेत्रलाई विस्तारित गरिदिएको बताउँदै डा. धितालले हिमाल सँग भने, “यसको अर्थ, हामी मानव स्वास्थ्यमा अझ्ै सुविधा बढाउन तल्लीन छौं भन्ने पनि हो।”

नेपालमा संभावना
शहीद गंगालाल हृदय केन्द्रका कार्डियाक सर्जन रामेश कोइराला मृत व्यक्तिको मुटु बिरामीको शरीरमा सफल प्रत्यारोपण हुनुलाई चिकित्सा विज्ञानको ठूलो उपलब्धि मान्छन्।

उनका अनुसार, चिकित्सा क्षेत्रमा पेन्सिलिन वा एक्स–रेको आविष्कार जस्तै नयाँ फड्को हो, यो। यस्तो काम एउटा नेपालीबाट हुनुले नेपाललाई गौरवान्वित बनाएको कुरा त छँदैछ।

नेपालमै मुटु प्रत्यारोपणको लागि भने धेरै कुर्नुपर्नेछ। विदेशमै पनि अझ्सम्म कुनै नेपालीको मुटु प्रत्यारोपण नभएको डा. भगवान कोइराला बताउँछन्।

मुटु प्रत्यारोपणको सुविधा भए पनि त्यसका धेरै कानूनी जटिलताहरू हुन्छन्। अमेरिका, क्यानाडा र यूरोपका केही देशबीच मुटु प्रत्यारोपण सम्झौता गरिएको छ, तर त्यसका थुप्रै शर्तहरू छन्।

अमेरिकामा कुनै व्यक्तिलाई ‘ब्रेन डेड’ घोषणा गरियो र उसको मुटु प्रत्यारोपण योग्य हुनुका साथै आफन्तहरू दिन तयार छन् भने सम्बन्धित राज्यका बिरामी पहिलो प्राथमिकतामा हुन्छन्।

त्यस राज्यका मुटु प्रापक (रेसिपियन्ट) सँग दाता (डोनर) को मुटु ‘म्याच’ भएन भने अमेरिकाकै अर्को राज्यका बिरामीले प्राथमिकता पाउँछन्, त्यसपछि मात्र आउँछ अरू देशका बिरामीको कुरा।

मुटु दिने निर्णय पनि आफन्त वा सम्बन्धित चिकित्सकले होइन, त्यसकै लागि गठित विशेषज्ञहरूको स्वतन्त्र निकायले गर्छ। मुटु प्रत्यारोपण गरिनुपर्ने बिरामीको पनि सम्पूर्ण स्वास्थ्य अवस्थाका साथै प्राथमिकता निर्धारण गरेर डेटाबेस तयार पार्नुपर्छ।

आफैंमा अति खर्चिलो मुटु प्रत्यारोपणबाट बिरामीको आयु निश्चित अवधिसम्म मात्रै लम्ब्याउन सकिने डा. भगवान कोइराला बताउँछन्।

“मुटु प्रत्यारोपणले मान्छेको ज्यान बचाउने जस्तो महत्वपूर्ण काम गरे पनि यसबाट देशको ठूलो जनसंख्या लाभान्वित हुँदैन”, डा. कोइराला भन्छन्, “प्रत्यारोपणपछि पनि निरन्तर फलोअप जाँच, सुरक्षाका उपाय अवलम्बन, महँगो औषधि सेवन र त्यस्तै प्रकारको आहार चाहिने हुँदा नेपालीका लागि यो सुविधा निकै टाढा देखिन्छ।”

डा. धितालका अनुसार, एकपटक मात्र प्रयोग गर्न मिल्ने ‘हर्ट इन अ बक्स’ को मूल्य ३५ हजार अमेरिकी डलर (करीब रु.३४ लाख) पर्छ।

त्यसमाथि अर्को अस्पतालबाट विमानमा मुटु ल्याउँदाको खर्च, प्रत्यारोपण, त्यसपछि जीवनभर खानुपर्ने औषधि र फलोअप खर्च थपिंदा करोडौं पुग्छ।

प्राथमिक उपचार नपाएर जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य र मुटु सम्बन्धी अन्य थुप्रै रोगहरूको उपचार गर्न नसकिरहेको मुलुकमा मुटु प्रत्यारोपण सुविधा निकै कठिन हुने डा. धिताल बताउँछन्।

अष्ट्रेलियामा भने मुटु प्रत्यारोपणका लागि सरकारले नै अनुदान दिने उनले बताए।

सेन्ट भिन्सेन्ट्स अस्पतालको फोक्सो तथा मुटु प्रत्यारोपण युनिट प्रमुख डा. पिटर म्याकडोनाल्ड (बायाँ), डा. कुमुद धिताल (दायाँ) र मुटु प्रत्यारोपण गरिएकी ग्रीबिलास (दायाँबाट दोस्रो)।

सेन्ट भिन्सेन्ट्स अस्पतालको फोक्सो तथा मुटु प्रत्यारोपण युनिट प्रमुख डा. पिटर म्याकडोनाल्ड (बायाँ), डा. कुमुद धिताल (दायाँ) र मुटु प्रत्यारोपण गरिएकी ग्रीबिलास (दायाँबाट दोस्रो)।

डा. भगवान कोइराला मुटु प्रत्यारोपण नेपालीको आम्दानी र क्रयशक्तिको अनुपातमा महँगो भए पनि नेपालमा यो शुरू गर्ने हो भने यूरोप–अमेरिकामा भन्दा सस्तो हुने बताउँछन्।

त्यसका लागि सरकारले अनुदान दिनसक्ने बताउने डा. कोइरालाका अनुसार, अंग प्रत्यारोपण सम्बन्धी स्पष्ट कानून बनेको चार–पाँच वर्षमा नेपालमा मुटु प्रत्यारोपण गर्न सकिने बताउँछन्। डा. रामेश कोइराला पनि नेपालमा मुटु प्रत्यारोपण सम्भव देख्छन्।

एकपटक प्रविधिको विकास भइसकेपछि मुटु प्रत्यारोपण गाह्रो विषय नहुने बताउँदै उनी भन्छन्, “हामीले मुटु प्रत्यारोपणभन्दा जटिल शल्यक्रिया अहिले नै गरिरहेका छौं।”

नेपालमा ‘ब्रेन डेथ’ को मापदण्ड निर्धारण गरेर त्यस्ता व्यक्तिको मुटु अरूमा प्रत्यारोपण टाढा त छ नै, स्पष्ट कानूनी व्यवस्था नहुँदा मिर्गौला, कलेजो, फोक्सो, प्यांक्रियाज जस्ता अन्यत्र सामान्य भइसकेका अंग प्रत्यारोपण समेत हुनसकेको छैन।

सबै पूर्वाधार तयार भइसकेको मिर्गौला प्रत्यारोपणमा कानूनी अड्चन हुँदा बाँच्न सक्ने रोगीहरू पनि मरिरहेका चिकित्सकहरू बताउँछन्।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका निर्देशक डा. पुकार श्रेष्ठ भन्छन्, “कुरा गर्दा सबैजना सहमत हुन्छन् तर, कानून कहिल्यै बन्दैन।”
डा. श्रेष्ठका अनुसार ‘ब्रेन डेथ’ भएका व्यक्तिका ८ वटासम्म स्वस्थ अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

मिर्गौला, फोक्सो जस्ता अंगहरू त मरिसकेको व्यक्तिबाट पनि लिन सकिन्छ। त्यसबाट धेरै जनाले नयाँ जीवन पाउँछन्।

विश्वभरमा हुने अंग प्रत्यारोपणमध्ये करीब ८० प्रतिशत ‘ब्रेन डेड’ भएकाहरूबाटै लिइन्छ। तर, नेपालमा नयाँ कानूनको मस्यौदा चार वर्षदेखि स्वास्थ्य मन्त्रालयमै थन्किएर बसेको छ।

मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी ऐन–२०५५ ले नजिकका नातेदारले मात्रै अंगदान दिन पाउने व्यवस्था गरेको छ। नजिकका आफन्त वा आफन्तको अंग ‘म्याच’ नहुने व्यक्तिहरू धेरै पैसा खर्चेर भारत जान्छन्।

भारतमा नातेदारबाहेकका अंगदाता पनि भरपर्दा छन् र आर्थिक लेनदेन भएको छैन भन्ने प्रमाणित भए अंगदान गर्न पाउने व्यवस्था छ।

 

‘मेरै हाकीम बनाउन तयार छु’

(डा भगवान कोइरालाको टिप्पणी)

‘नेपाललाई व्यावहारिक सहयोग गर्न चाहन्छु’

(डा. धितालसँगको अन्तर्वार्ता)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...