टिप्पणीबिहीबार, कार्तिक २०, २०७१
नेवार सांस्कृतिक धाम
गएको म्हः पूजाका दिन यौटा यस्तो नेवार गाउँ घुम्ने मौका पर्यो, जहाँ मैले नचिताएको आनन्द र सौन्दर्यको आस्वादन गरें। करीब तीनघण्टा लगाएर त्यो सानो ‘नेवाः गां’ घुम्दा संस्कृति संरक्षणको प्रयत्नप्रति नतमस्तक भएँ। नयाँ वर्षकै दिन त्यहाँ पुगेकोमा आफैंलाई बधाई दिएँ।
त्यस दिन काठमाडौंका अन्य टोलहरू ‘न्हुदया भिन्तुना’ लेखिएका फ्लेक्स बोर्ड तथा कागज, प्लास्टिक र बत्तीको झिलिमिलीले सजाइएका थिए र मानिसहरू स्वायत्तताको नारा लेखिएको रिबन टाउकामा बाँधेर शुभकामना र्यालीको तयारी गरिरहेका थिए। नेवाः गांमा भने पसलमा किन्न पाइने आधुनिकताले केही पनि ओगटेको थिएन। त्यहाँको शालीन सजावट र सौन्दर्य अन्तको झिलिमिली र नाराबाजीभन्दा धेरै गहन देखिन्थ्यो। शैली र संरचनाका हिसाबले भक्तपुरको कुनै टोलसित धेरै मिल्ने त्यस टोललाई सफाइ र व्यवस्थापनमा भने इटलीको भेनिससित तुलना गर्न सकिन्थ्यो। त्यहाँका शौचालयमा बाहेक अन्त कतै पनि आधुनिक सामग्रीको प्रयोग भएको देखिनँ।
गाउँको बाहिरी भागमा नर्कट र बाँसले बारेका खेतबारी थिए। कलिलो कात्तिकको वातावरणमा पराल र धानको सुगन्ध थियो। धान उठाएका खेतहरूमा कतै तरकारी रोप्ने तयारी देखिन्थ्यो, कतै सागसब्जी र आलु लहलह थिए। बस्तीको भित्रीभागमा सत्तल, पाटी खुलाठाउँ हुँदै पच्चीस तीसवटा चारतले घरहरू थिए। बीचमा भीमसेनको मन्दिर, छेउमा गणेशथान, अलिपर कुमारीथान, केही चैत्य, ढुङ्गेधारा र इनार पनि थिए। सिङ्गो गाउँ एउटा जीवित संग्रहालय जस्तो भए पनि त्यहाँभित्र पनि एउटा अत्याधुनिक संग्रहालय थियो। त्यहाँ संकलन गरिएका सामग्री काठमाडौं उपत्यकाका धेरै व्यक्ति, गुठी र समुदायहरूले दान गरेको कुरा थाहा पाउँदा गर्व र सम्मानले छाती फुल्यो।
संग्रहालयको दायाँतिर हाँस तैरिंदै गरेको सानो पोखरीका छेउमा, फाल्चामा बसेर दुई जना हजुरबा हुक्का गुडगुडाउँदै थिए। प्रायः मानिस चाड र भोजको रौनकमा भए पनि केही घरका पिंढीमा रहेका सामग्री हेर्दा फुर्सदका बेला त्यहाँ महिलाहरू बसेर बाती कात्नेदेखि सुकुल बुन्नेसम्म अनेक काम गर्छन् भन्ने अनुमान गर्न गाह्रो थिएन। नेवाः गांका स्थानीयहरू सबै परम्परागत पोशाकमा थिए। अरू कुरा बिर्सेर संस्कृति संरक्षणमा लागेका यहाँका बासिन्दाको आय आर्जनका लागि प्रायः सबै घरमा कुनै न कुनै प्रकारका उद्योग र कोसेली पसल थिए। त्यहाँ यहीं उब्जेका अन्नपात, सागसब्जी र परम्परागत रोटी, मिठाइ, खानेकुरा किन्न पाइन्थ्यो। परालदेखि सुनसम्मका हस्तकलाका सामान बनाउने र बेच्ने ठाउँहरू थिए। पर्यटकलाई ध्यानमा राखेर तयार गरिएकाले होला सामान अलि महँगै थिए, तर ग्राहकहरू दङ्ग परेर किनिरहेका थिए।
भक्तपुरमा रवीन्द्र पुरीले बनाएको नमूनाघरको शैलीको घरको बुइँगलमा रहेको, पाटनको होनाचाको शैलीको भोजनालयमा पुगें र बारा, हाकुछ्वेला र अलिअलि ठों खाएँ। फर्किने बेलामा बेलुकाको म्हः पूजाका लागि भइरहेको तयारीको झ्ाल्को मिल्यो। कुनाको सानो बहाःमा पाकादेखि किशोरकिशोरी मिसिएको एउटा समूह परम्परागत बाजाहरूको अभ्यासमा मग्न थियो। अर्कातिर एक हूल मानिस सामूहिक भोजमा मस्त थिए। काठमा आँखा खोप्ने, धातुमा लय हाल्ने र ढुङ्गालाई देउता बनाउने शिल्पीहरूका घरहरू छिचोल्दै अघि बढ्दा बीचमा रहेको अजिमाको सानो मन्दिरमा दुनियाँदारी बिर्सेर भजन गाउँदै गरेका प्रौढहरू देखेर मन रमायो। नेवा गांले मलाई नेवार संस्कृतिको सबैभन्दा सघन केन्द्रमा पुगेको अनुभूति दियो। म कहिलेकाहीं भन्ने गर्थें– मलाई कसैले टाइम–मशीनमा हालेर कतै घुमाउँछ भने दुईसय वर्षअघिको काठमाडौंमा जान चाहन्छु। मेरो सपनाको साह्रै सानो अंश सही, पूरा भएको अनुभव भयो।
जातीय पहिचानको सम्मान
नेवाः गां भन्ने बित्तिकै पुगिने ठाउँमा त छैन, तर इच्छाशक्ति राख्ने हो भने टाढा पनि छैन। नेवार संस्कृतिको प्रतिष्ठा अभिवृद्धिका लागि यस लेखमार्फत राखिएको प्रस्तावलाई सरकार र सम्बन्धित एक्टिभिष्टहरूले अलिकति मात्र ध्यान दिए भने तपाईं पनि म जसरी नै घुम्न पाउनुहुन्छ। मैले नदेखेका अनेक कुरा समेत देख्न पाउनुहुन्छ। अलिकति त समय लाग्छ नै, उपत्यकाका नेवार बस्तीहरूको बीचमा, हवाइमार्गबाट शहर पस्ने ठाउँमा खेर गइरहेको, अरू नाम नभएर ‘तीनकुने’ भनिने ठाउँमा यो नेवाःगाउँ अर्थात् एउटा जीवित नेवारी संग्रहालय बन्न सक्छ।
सरकारले अधिग्रहण गरेको तीनकुनेको ३५ रोपनी जमीनमध्ये सडक बनाएपछि करीब ३१ रोपनी बचेको छ। संरक्षणविद् रवीन्द्र पुरी त्यहाँ २५ वटा परम्परागत घर र एउटा नमूना नेवार बस्तीका लागि आवश्यक परम्परागत तत्वहरू अटाउन सक्ने बताउँछन्। पुगेन, पारिपट्टि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भित्तो छ, प्राविधिक हिसाबले उपयुक्त हुने किसिमले त्यसलाई पनि सुन्दर बनाउनु नै पर्छ। नेवार संस्कृतिलाई प्रेम र सम्मान गर्नेहरूले अलिकति प्रयत्न गरेर तीनकुनेमा नेवाः गां बनाउने हो भने त्यो स्वदेशी–विदेशी सबैका लागि केही बेरमा घुम्न र हेर्न सकिने एउटा पर्यटकीय गन्तव्य हुन्छ।
त्यसो त केही नेवार बस्तीहरूले अझ पनि पहिलेका धेरै आर्थिक, सांस्कृतिक शैलीहरूसितै आफूलाई बचाइराखेका छन्। भक्तपुरले संरक्षणका क्षेत्रमा गरेको काम विदेशमा समेत प्रशंसित छ। तर त्यो बस्ती हो, जसको पुरानोपनलाई जतिसुकै संरक्षण गरे पनि बासिन्दाको आधुनिकताप्रतिको मोहलाई रोक्न सकिंदैन। नेवाः गांमा भने सांस्कृतिक तत्वहरूको मर्यादा नबिगारी आयमूलक बनाएर सांस्कृतिक रोजगारी पनि सिर्जना गर्न सकिन्छ।
विशाल नेवार संस्कृतिका सबै अङ्गहरूलाई ३० रोपनीमा अटाउन सम्भव छैन, तर अर्को किसिमले हेर्दा यो एउटा एकदमै सजिलोसित व्यवस्थापन गर्न सकिने क्षेत्रफल र उपलब्धमध्ये सबभन्दा राम्रो ठाउँ हो। सांस्कृतिक संसारका धरहराका रूपमा रहेका सत्यमोहन जोशी लगायतका अनेक व्यक्तिहरूबाट विचार, सुझाव र सद्भाव लिएर नेवाःगांको काम थालियो भने यो नेवार संस्कृतिका लागि मात्र होइन, नेपालको सांस्कृतिक र जातीय विविधताको पनि केन्द्र हुन सक्छ।
अबको संसारमा आधुनिकता, उदारता, अन्तर्जातीय विवाह जस्ता कुराबाट टाढा हुन कसैलाई पनि सम्भव छैन। यी यस्ता कुरा हुन्, जसले जीवनलाई सहज र परम्परालाई प्रतिकूल प्रभाव पार्छन्। त्यसैले हरेक सभ्यता, संस्कृतिमा जोगाउनै पर्ने तत्वहरू के–के छन् र तिनलाई कसरी जोगाउन सकिन्छ भन्नेमा गम्भीर छलफल गर्न, तिनको अभिलेख तयार गर्न र तिनलाई जोगाउन सङ्गठित र संस्थागत प्रयास आवश्यक छ।
थालनी काठमाडौंमा एउटा नेवाःगां स्थापना गरेर हुन सक्छ र त्यो अवधारणा मुलुकभर फैलिन सक्छ। नयाँ वर्षको शुभकामना दिन ढीलो भइसकेको छैन भन्ने आशा छ, न्हुदया भिन्तुना!
साप्ताहिक खबरपत्रिका हिमालबाट