रिपोर्टबिहीबार, कार्तिक २०, २०७१
उप–राष्ट्रपतिको दौडधूपः हायलकायल प्रहरी
– रामेश्वर बोहरा
गत ८ असोजमा चीन भ्रमणमा हिंडेका उप–राष्ट्रपति झाको ‘सवारी’ का कारण राजधानीको यातायात प्रणाली अस्तव्यस्त बन्यो। अति विशिष्ट व्यक्तिको औपचारिक विदेश भ्रमणका क्रममा सडक खाली गराएर सवारी चलाउने ‘चलन’ अनुसार त्यस दिन प्रहरीले एक घण्टा अघिदेखि नै उप–राष्ट्रपति विमानस्थल जाने रुटका सडक खाली गराएको थियो। कार्यालय समयको त्यो सवारीले सर्वसाधारणलाई ठूलो मर्कामा पार्यो। उप–राष्ट्रपति झालाई विदाइ गर्न गएका कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको ओहोरदोहोरमा समेत सडकमा त्यही रवैया देखियो। एक घण्टाभन्दा लामो समय एकै ठाउँमा रोकिनु परेपछि विरोध गर्ने कतिपय सवारी चालकका चाबी थुत्ने काम समेत प्रहरीले गर्यो। सरकारको मापदण्ड र निर्देशन पालनाको क्रममा त्यसो गरिएको प्रहरी अधिकृतहरूको भनाइ छ।
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण र औपचारिक यात्राका बेला पनि प्रहरीले अन्य यातायातका साधनलाई रोक लगाएर सडक सुनसान पार्छ। त्यसो गर्दा सर्वसाधारणलाई हुने दुःखलाई मनन् गरेर राष्ट्रपति डा. रामवरण यादवले अत्यावश्यक अवस्थामा बाहेक आफ्नो सवारी नचलाउन निर्देशन दिएका छन्। उनी स–साना औपचारिक कार्यक्रमहरू आफ्नो कार्यालयमै आयोजना गर्न लगाउँछन्। जरुरी अवस्थामा बाहेक प्रधानमन्त्री सुशील कोइरालाको पनि सवारी सडकमा निस्कँदैन। उप–राष्ट्रपति झाले भने यसको ख्याल गरेको देखिंदैन। औपचारिक कार्यक्रम त औपचारिक भइहाल्यो, उनी स–साना अनौपचारिक जमघटका लागि पनि दौडधूप गरिरहेका हुन्छन्। यसबाट सर्वसाधारणले व्यहोर्नुपर्ने सास्ती त छँदैछ, ‘सवारी’ सञ्चालन गर्ने प्रहरी पनि हैरान छ।
गएको साउनमा राष्ट्रपति डा. यादव र प्रधानमन्त्री कोइरालाको एक एक वटा मात्र ‘सवारी’ भयो। उप–राष्ट्रपति झाको भने त्यही अवधिमा ९ वटा सवारी चलाइएको प्रहरी नियन्त्रण कक्षको विवरणले देखाउँछ। भदौमा पनि राष्ट्रपतिका ६, प्रधानमन्त्रीका एक र उप–राष्ट्रपतिका ८ वटा सवारी चलाइएको विवरण छ। त्यसैगरी, असोजमा राष्ट्रपतिका ३, प्रधानमन्त्रीका ४ र उप–राष्ट्रपतिका १० वटा सवारी चलाइएको देखिन्छ। राजधानीमा तीन महीनामा राष्ट्रपतिका १०, प्रधानमन्त्रीका ६ र उप–राष्ट्रपतिका २७ वटा सवारी चलाइएको छ।
यो आँकडामा कार्यालय–निवास र कार्यालय समयमा काठमाडौंभित्रैका औपचारिक कार्यक्रममा ओहोरदोहोर गर्दाका विवरण समावेश छैन। कामको प्रकृतिले नै धेरै दौडधूप गर्नुपर्ने मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री र धेरै निमन्त्रणा पाउने राष्ट्रप्रमुखले भन्दा धेरै दौडधूप उप–राष्ट्रपतिले गरेको यसले देखाउँछ। तर, उनको दौडधूप पदीय जिम्मेवारीका काम र कार्यक्रमहरूमा नभई व्यक्तिगत आकांक्षाका गतिविधिले बढाएको प्रहरी अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार, उप–राष्ट्रपति झा पूजा र ब्रतबन्धदेखि मन्दिर र विद्यालयसम्मका कार्यक्रमहरूमा निस्किरहन्छन्। “हामीले यहाँ जानुस्, त्यहाँ नजानुस् भन्न पनि नमिल्ने”, एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “जान्छु भनेपछि अकस्मात् चलाउनुपर्ने सवारीबाट हत्तु छौं।”

ब्राजिलको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा पुगेका उपराष्ट्रपति परमानन्द झा। तस्वीरः विक्रम राई
सुरक्षा संवेदनशीलताका कारण अति विशिष्ट व्यक्ति (भीभीआईपी) हरूको हिंडडुलमा प्रहरीले तोकिएको मापदण्ड पूरा गर्नैपर्छ। पदीय मर्यादा र राज्यले त्यसलाई दिएको सम्मानमा सम्झौता गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन्। भीभीआईपीहरूको औपचारिक सवारीमा त प्रोटोकललाई समेत ध्यान दिएर प्रहरीको केन्द्रीय संयन्त्र नै संलग्न हुन्छ। सम्बन्धित जिल्ला प्रहरीको संयन्त्र सक्रिय हुने अनौपचारिक र आकस्मिक सवारी समेत सुरक्षाका हिसाबले संवेदनशील हुने हुँदा सुरक्षा व्यवस्थापनमा उत्तिकै तयारी गर्नुपर्छ।
ब्रतबन्ध, पूजा लगायतका पारिवारिक जमघटमा सरिक हुन जाँदा पनि भीभीआईपी हिंड्ने बाटोमा २५–३० मीटरको दूरीमा प्रहरी राखिन्छ। भीडभाड हुने चोकहरूमा कम्तीमा १०–१२ जना प्रहरी तैनाथ गरिन्छन् भने ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरी खटाउनुपर्छ। भीभीआईपी पुग्ने कार्यक्रम स्थलमा पनि ठूलो संख्यामा प्रहरी खट्नुपर्छ। सवारीका क्रममा अगुवा, पछुवा र साइरनसहितका कारगेड हुन्छ। “५–६ किलोमीटरको सवारी दूरीमा पनि कम्तीमा ३०० प्रहरी प्रत्यक्ष संलग्न हुनुपर्छ”, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमकुमार कार्की भन्छन्, “अप्रत्यक्ष रूपमा खट्ने प्रहरी जनशक्ति पनि धेरै हुन्छन्।”
आफैं सोच्नुपर्ने कुरा

उपराष्ट्रपति परमानन्द झा ८ असोज २०७१ मा चीन भ्रमण जाने क्रममा अन्य सवारी रोकेर सडक खाली गराउँदै प्रहरी । तस्वीरः श्रीधर पौडेल
नेपाल प्रहरीमा अहिले पनि जनशक्ति अपुग छ। यो अवस्थामा अकस्मात् तय हुने उप–राष्ट्रपतिको व्यक्तिगत ‘सवारी’ व्यवस्थापन मिलाउँदा हैरानी झ्न् बढेको अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार, अकस्मात् सवारी चलाउनुपर्दा अर्कै जिम्मेवारीमा खटिएका प्रहरीहरूलाई तानेर परिचालन गर्नुपर्ने हुन्छ। “यसले प्रहरीका महत्वपूर्ण जिम्मेवारीमा असर पारेको छ, तर यो पनि मुख्य ड्युटी नै भएकाले गर्दिनँ भन्न पनि मिलेन”, उपत्यकामा कार्यरत एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “भीभीआईपीहरूले नै यो कुरा बुझिदिए राम्रो हुन्थ्यो।”
राजधानीका भित्री सडकहरू ‘कारगेड’ का निम्ति गतिला नभएकोले भीभीआईपीहरूको सवारी मूल सडकबाटै चलाउनुपर्ने हुन्छ। त्यसबाट सर्वसाधारणको आक्रोशको निशाना पनि प्रहरी नै बन्छन्। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल भीभीआईपीहरूलाई राज्यले दिने सम्मान–सुरक्षा ‘सेरेमोनियल’ नभएर मूलतः सम्बन्धित पद–व्यक्तिको सुरक्षासँग सम्बन्धित भएकाले त्यसलाई व्यवस्थित गर्ने स्पष्ट मापदण्ड हुनुपर्ने र त्यसलाई विचार गरेर भीभीआईपीहरूले स्वयंको सीमा निर्धारण गर्नुपर्ने बताउँछन्।
ढकालका अनुसार, भीभीआईपी जहाँ पनि जान थाल्ने हो भने ‘सेक्युरिटी’ ले सबै ठाउँमा त्यही किसिमको सुरक्षा व्यवस्थापन गर्न सक्दैन र सुरक्षा खतरा पैदा हुन्छ। “एउटामा ध्यान दिंदा अर्को महत्वपूर्ण कुरामा सम्झौता गर्नुपर्ने हुन्छ”, पूर्व एआईजी ढकाल भन्छन्, “राज्यले मापदण्ड बनाउने त छँदैछ, भीभीआईपीले पनि कहाँ जाने, कहाँ नजाने भन्ने मापदण्ड बनाउनैपर्छ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
