थप समाचारबिहीबार, कार्तिक २०, २०७१

जीपमा ढोरपाटन (दश तस्वीर)

हिमालखबर

-तुफान न्यौपाने, ढोरपाटन (बाग्लुङ)

जीपमा ढोरपाटनढोरपाटन आरक्षमा १६ असोजदेखि १० मंसीरसम्म चल्ने यो वर्षको हिउँदे शिकार याममा अमेरिका, रसिया, दक्षिण अफ्रिका, जर्मनी, लाटभिया र नर्वेका १४ शिकारीले १४ नाउर र ८ झारलको शिकार गर्दैछन्। उनीहरू नेपालका पाँच हन्टिङ एजेन्सी नेपाल वाइल्डलाइफ एड्भेन्चर प्रालि, हिमालयन सफारी प्रालि, ट्रयाक एण्ड ट्रेल्स प्रालि, ग्लोबल हन्टिङ सफारी र नेपाल वाइल्डलाइफ हन्टिङ सफारीको संयोजनमा ढोरपाटन शिकार आरक्ष पुग्नेछन्।

जीपमा ढोरपाटनआरक्षका ६ ब्लकमा नाउरको रु.३ लाख २५ हजार ५०० र झारलका लागि रु.४ लाख एक हजार बुझाएर शिकारको लाइसेन्स लिनुपर्छ। ढोरपाटनमा वर्षमा २६ नाउर र १३ झारलको कोटा निर्धारण गरिएको आरक्षमा शिकारीहरूले रतुवा र बँदेल बोनसमा मार्न पाउँछन्। शिकारी, उनीहरूका गाइड, अरू सहयोगी, भरिया र हन्टिङ एजेन्सीका कर्मचारी लगायतको उपस्थितिले आरक्षमा चहलपहल बढेको छ।

जीपमा ढोरपाटनढोरपाटन आरक्षमा यस्तो चहलपहल शिकारको अर्को याम चैत―वैशाखमा पनि हुन्छ। अन्य समयमा पर्यटकको उपस्थिति न्यून रहन्छ। २०५६/५७ यता वार्षिक बढीमा १०० जना गैर–शिकारी पर्यटक ढोरपाटन पुगेका छन्। गत वर्ष २४ र त्योभन्दा अघिल्लो वर्ष ६६ जना गैर–शिकारी पर्यटक ढोरपाटन पुगेको तथ्यांकले देखाउँछ। आरक्षका अधिकृत विश्वबाबु श्रेष्ठ भन्छन्, “यातायातको असुविधाले मात्र ढोरपाटन स्वदेशी–विदेशी पर्यटकको आकर्षणमा नपरेको हो।”

जीपमा ढोरपाटन

लुम्बिनी कनेक्सन

हेलिकप्टर चार्टर गर्ने शिकार पर्यटकको मात्र गन्तव्य बनेको ढोरपाटन पुग्न अब रूपन्देहीको सालझ्ाण्डीबाट सडक जोडिएको छ। २०६५/६६ बाट निर्माण थालिएको रु.४५ करोड लागतको १९१ किलोमिटर सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक ट्रयाक २०७१ जेठबाट खुलेको छ। यो सडक बनाउनुको उद्देश्य नै लुम्बिनी पुग्ने स्वदेशी–विदेशी पर्यटकलाई ढोरपाटन पुर्‍याउनु हो। “अब लुम्बिनी पुगेका पर्यटकलाई ढोरपाटनहुँदै पोखरा झर्न सजिलो हुनेछ”, यो सडक आयोजनाका प्रमुख मेघराज मरासिनी भन्छन्, “ढोरपाटनबाट बाग्लुङ बजारहुँदै पोखरा वा खरबाङबाट गुल्मीको रिडीहुँदै बुटवल झर्न सकिन्छ।”

जीपमा ढोरपाटनसालझण्डी–ढोरपाटन सडक अर्घाखाँची र गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल हुँदै गएको छ भने म्यादी र रुकुमबाट ढोरपाटन पुग्ने सडक बन्दैछन्। बाग्लुङ भएर जाँदा बुर्तिबाङ हुँदै जाने सडकले जोडिसकेको ढोरपाटन पुग्न म्याग्दीको दरबाङबाट जलजलाहुँदै तथा रुकुमको टकसेराबाट पनि सडक निर्माण भइरहेका छन्। यी सडकहरूले बुटबल, पाल्पा, गुल्मी, पोखरा, पर्वत र काठमाडौंबाट स्वदेशी पर्यटकलाई सजिलै ढोरपाटन पुर्‍याउँछन्। ढोरपाटन घुम्न पुगेका रूपन्देही, सैनामैनाका सागर शर्माले जीप चल्ने सडक बनिसकेकाले अब ढोरपाटन टाढा नरहेको बताउँदै भने, “ठाउँ–ठाउँमा सूचना केन्द्र र स्तरीय होटलहरूको व्यवस्था भए यो क्षेत्रमा पर्यटकको ओइरो लाग्नेछ।”

जीपमा ढोरपाटनढोरपाटनका आकर्षण

चौर र फाँटहरूले भरिएको विशाल ढोरपाटन उपत्यकालाई गुराँसे वन र हिमालहरूले थप सुन्दर बनाएको छ। तीन हजार मीटर उँचाइको यो उपत्यका पहाडी र हिमाली क्षेत्रको संगमस्थल पनि हो। उत्तरगंगा नदीले चिरेको ढोरपाटनबाट पूर्वमा धौलागिरि र उत्तरमा पुथा, गुर्जा लगायतका हिमालहरू छन्। यहाँको २२ धारा र ढोरबाराही मन्दिर धार्मिक महत्वका पर्यटकीय स्थल हुन्।

बाइस धारा

बाइस धारा

जंगल सफारीका लागि धेरै उपयुक्त गन्तव्यको रूपमा रहेको ढोरपाटनलाई आधार मानेर रुकुम, धौलागिरिको आधार शिविर र डोल्पाको शे फोक्सुन्डो तालको ट्रेकिङ रुट विस्तारको राम्रो सम्भावना छ। भूगोलविद् डा. हर्क गुरूङले पदयात्राका क्रममा उहिल्यै यो सम्भावना पहिल्याइदिएका छन्। ‘मैले देखेको नेपाल’ मा डा. गुरुङले लेखेका छन्– “फागुने भन्ज्याङबाट दक्षिणी पाखाहुँदै ओरालो लागेपछि हामी सल्लाघारी प्रवेश गर्‍यौं र अन्त्यमा ढोरपाटन मैदानको पश्चिमी भाग देखियो, फनफनी घुम्दै गरेको उत्तरगंगा नदी देखिने होचो डाँडा नाघेर ढोरपाटन मैदानमा अवस्थित स्याल्पे नामक सानो भोटिया बस्तीमा पुग्यौं।”

तिब्बती शरणार्थी छिरिङ ल्हामो।

तिब्बती शरणार्थी छिरिङ ल्हामो।

बाक्लो हिउँ पर्ने भएकाले यहाँका बासिन्दा हिउँदका केही महीना बेंसी झर्दा सुनसान भए पनि अरू बेला ढोरपाटन क्षेत्र गुल्जार रहन्छ। दलित र मगर यहाँका प्रमुख बासिन्दा हुन्। अन्यत्र नरहेको नौथर समुदाय पनि यहाँ छ। यहाँ सन् १९५९ मा स्थापित तिब्बती शरणार्थीको क्याम्प पनि छ। ४६ परिवारका करीब साढे दुई सय संख्याका उनीहरूले तिब्बती भेषभूषा, रहनसहन र संस्कृतिको सानो संसार कायम राखेका छन्।

नाउरको सिङ देखाउँदै शिकार आरक्षका गेम स्काउट विकासकुमार भण्डारी

नाउरको सिङ देखाउँदै शिकार आरक्षका गेम स्काउट विकासकुमार भण्डारी

देशको एकमात्र शिकार आरक्ष हुनुको विशेषता बोकेको ढोरपाटन क्षेत्रमा दुर्लभ जडीबुटी तथा वनस्पतिका साथै ३२ प्रजातिका स्तनधारी र ३१७ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। भौगोलिक सौन्दर्यको हिसाबले स्वर्ग मानिने यो ढोरपाटनले उच्च शुल्क बुझाएर शिकार खेल्ने धनाढ्य सौखिनहरूका लागि मात्र नभई समाज–संस्कृति र जैविक विविधता अध्येताहरूका लागि पनि उत्तिकै महत्व राख्छ।

———————————————————————————————————————————————-

जीपमा ढोरपाटन बाटो, खर्च–बर्च र तयारी

बाग्लुङ बजार वा बुटबलबाट जीपमा डेढ दिनमा ढोरपाटन पुगिन्छ। म्याग्दीको बेनी, दरबाङहुँदै जलजलाको पैदल बाटो समात्ने हो भने चाहिं दुई दिन लाग्छ। यसैगरी, दाङबाट रुकुम पुगेर मैकोट हुँदै जाँदा कम्तीमा तीन दिनको पदयात्रा हुन्छ। ढोरपाटन पुगेपछि आरक्षका पूरै क्षेत्र घुम्ने हो भने कम्तीमा चार दिन लाग्छ।

उँचाइमा अवस्थित उपत्यका भएकाले साथमा बाक्ला कपडा हुनैपर्छ। लेकाली यात्रामा ‘ड्राइ फूड’ र औषधि पनि चाहिन्छ नै। ढोरपाटनमै पुग्दा केही होटल भए पनि बाटोमै बास बस्नुपरेको अवस्थामा त्यस्तो सुविधा नपाइने भएकाले क्याम्प बनाएर बस्ने गरी जाँदा सजिलो हुन्छ। पाटनका होटलहरूमा कोठाको पैसा लाग्दैन, साधारण खानालाई रु.१२० तिर्दा पुग्छ।

बुटवल वा बाग्लुङ बजारबाट सार्वजनिक यातायातमा बुर्तिबाङसम्म पुग्न प्रतिव्यक्ति रु.७०० लाग्छ भने बुर्तिबाङबाट ढोरपाटनका लागि रु.५००। बुर्तिबाङका मध्यमस्तरका होटलहरूले खानाको रु.१५० र कोठाको रु.५०० लिन्छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>