ब्लगबिहीबार, कार्तिक २०, २०७१

छानोबाट संरक्षण

मिलन बगाले

जस्तापाताको छानो स्लेटमा फेरिंदै गोरखाको लाप्राक गाउँ। इन्टरनेट तस्वीर

जस्तापाताको छानो स्लेटमा फेरिंदै गोरखाको लाप्राक गाउँ। इन्टरनेट तस्वीर

जस्तापाताको छानोले पर्यटकीय गाउँ लाप्राकलाई कुरुप पारेको भन्दै गाउँलेको भेलाले अब उप्रान्त स्लेट नै चलाउने निर्णय गरेको खबर आएको छ। जस्तापाता फालेर छानोमा स्लेट हाल्न फ्रान्सस्थित संस्था ‘लाप्राकको साथी’ ले सघाउने भएछ। स्थानीय खानीबाट स्लेट झिक्ने र ओसार्ने काम स्थानीयवासीको, छाउन लाग्ने खर्च ‘लाप्राकको साथी’को, क्याबात्!

सिंगो गाविसको ९ वटै वडा अटाएको करीब ५०० घरधुरीको लाप्राकको स्वरुप लोभलाग्दो र संरक्षण लायक छ। पर्यटन विकाससँगै लाप्राक धनी पनि बन्दैछ। यो गाउँले आधुनिकताको नाममा निम्तिएको कुरुपताबाट बेलैमा बच्ने पहल थालेको खबर वास्तुकलाका धनी अरू गाउँका लागि पनि प्रेरणादायी छ। रैथाने वास्तुकला जोगाउनुपर्छ भन्ने चेत सबै नेपाली गाउँ–शहरमा पलाउनुपर्छ। वास्तुकलासँगै मौलिक सम्पदा–संस्कृति मासेर टीन र ढलान टल्काएका गाउँ–शहर हेर्न कोही पर्यटक आउनेवाला छैन।

स्थानीय वास्तुकला

शासकले बनाएका दरबार, मन्दिर, किल्ला र अन्य भीमकाय संरचना मात्र नभई सर्वसाधारणका घर, धन्सार, गोठ, पाटी–पौवा र टौवा पनि देशको सांस्कृतिक सम्पदा हुन्। इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकको वास्तुकला विभागद्वारा प्रकाशित सन् २००७ को वास्तु म्यागेजिनमा आर्किटेक्ट काई वाइजेले लेखेका छन्– ‘गाउँ–ठाउँमा सहजै पाइने सामग्री प्रयोग गरी स्थानीय आवश्यकता पूर्ति गर्ने निर्माण पद्धति नै मौलिक वास्तुकला (भर्नाकुलर आर्किटेक्चर) हो।’

सोही म्यागेजिनमा वास्तुकलाका प्राध्यापक डा. सुदर्शनराज तिवारी लेख्छन्– ‘यो इतिहासको कुनै खास कालखण्ड या समयको छाप नलागेको, निरन्तर परिवर्तन र परिमार्जन भैरहने (डाइनामिक) सांस्कृतिक सम्पदा हो। जातीय संस्कृति, निर्माण सामग्रीको उपलब्धता र हावापानी अनुसार स्थानीय वास्तुकलाको विकास ठाउँ अनुसार फरक हुन्छ। काठमाडौं उपत्यकामा काष्ठकला र माटोकलाको विकास तथा भवन निर्माणमा तिनको प्रयोगको कारण दुवै सामग्रीको प्रचूर उपलब्धता र स्थानीयको युगौंदेखिको निरन्तर साधना हो। सबै ठाउँको वास्तुकलाको विकासमा सामग्रीको उपलब्धता र स्थानीयको साधनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।’

नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भौगोलिक खण्डमा बाँडिए झैं स्थानीय वास्तुकलालाई पनि हिमाल, पहाड र तराईको वास्तुकला भनेर छुट्याउन सकिन्छ। मधेशको वास्तुकला गर्मी छलेर शीतल बनाउने उपायमा आधारित छ। त्यताको निर्माणमा स्थानीय शैली र सामग्री प्रयोग भएको छ। पहाडमा ढुंगा, स्लेटबाट कलात्मक घरहरू बनेका छन्। चौतर्फी न्यानो पार्न बीचमा अँगेनु राखिएका हिमाली घरहरूमा स–साना झयाल हुन्छन्। खासै पानी नपर्ने हुँदा हिमाली क्षेत्रका मुण्डा घरका माटाका छानोहरूमा हार मिलाएर दाउरा राखिएको देखिन्छ।

वास्तुकला र पर्यटन

स्थानीय वास्तुशैली किन जोगाउने? ढुंगा–माटा र खरकै घरमा किन सधैं बसिराख्ने? पैसा हुनेले ढलान घर बनाएर आनन्दले बस्दा के फरक पर्छ? सजिलो घरमा शहरका मान्छेले मात्रै बस्ने? वास्तुकला संरक्षणको क्षेत्रमा काम गर्नेहरूले बारम्बार जवाफ दिनुपर्ने प्रश्नहरू यस्तै हुन्छन्। स्थानीय वास्तुकला वातावरण सुहाउँदो हुन्छ। सिमेन्टीको ढलान घरभित्र न्यानो वा चिसो बनाउन बिजुली या आयातीत इन्धन चाहिन्छ। अरब मुलुकहरूले घर–कार्यालयदेखि स्कूल, रंगशाला र घोडाको तबेलासम्ममा एसी जोडेर चिसो पारेका छन्। नर्वे, स्वीडेन लगायतका देशले घर–कार्यालयदेखि स्कूल, रंगशाला र घोडाको तबेलासम्ममा बिजुली वा ग्याँस हीटर जोडेर न्यानो पारेका छन्। तर, ऊर्जा खपत गरेर आनन्दले बस्ने हैसियत हाम्रो छैन। हाम्रो लागि प्रकृति अनुकूल नभई धरै छैन।

हाम्रो पर्यटन पनि मूलतः संस्कृतिमा आधारित छ। खोला–झ्रना, पहाड–हिमाल बाहेक खानपिन, नाचगान, रहन–सहन र मौलिक कला संस्कृतिले पर्यटक तानेको छ। पर्यटकहरू घान्द्रुक, घलेगाउँ, सिरुवारी, जोमसोम, जुम्ला, मनाङ वा हेलम्बुमा ढलान घरमा बस्न मरिहत्ते गरेर आएका पनि हुँदैनन्। उनीहरूलाई आकर्षित गर्न स्थानीय शैलीको घरलाई सुविधासम्पन्न बनाउने हो। कोठा उज्यालो र हावा खेल्ने होस्, भान्सा धुवाँरहित र शौचालय पस्नयोग्य होस्। स्थानीय वास्तुकलालाई गज्जबले जोगाएरै यति गर्न सकिन्छ। घान्द्रुक, घलेगाउँ, बारपाक, सिरुवारी, हेलम्बु लगायतका पुराना वस्तीहरू यसै गरेर होमस्टेमा नामी भएका हुन्।

यो मेसोमा मौलिक वास्तुकलासँग जोडिएको स्लेट चलाउने लाप्राकको पहलले अरूको पनि मनमा बत्ती बालोस् र छानोबाट शुरू भएको संरक्षण अभियान जगसम्मै पुगोस्। पुर्खाले आर्जेको वास्तुकला जोगाउनेहरूको जय होस्!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>