समाचारसोमबार, आश्विन २२, २०६९
एमाओवादीद्वारा संविधानसभा पुनःस्थापनाको प्रस्ताव
२२ असोज अपरान्ह कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दहालले संविधान सभा पुन:स्थापनाको प्रस्ताव गरेको कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए । “आफैं निर्वाचनको घोषणा गर्छन, फेरि ब्युँताउने (संविधान सभा ब्युँताउने) कुरा गर्छन,” देउवाले भने, “पुनःस्थापना भनेपछि म खुशी हुने भैहालें, सबैसंग छलफल हुन अझै बाँकी छ ।”
छलफलमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पुनःस्थापनाका बारेमा कुरा भएको तर, संविधानका सम्पूर्ण अन्तरबस्तुमा सहमति नहुँदै पुनःस्थापना नहुने बताए । उनले भने,“संविधानको मस्यौदा तयार नगरिकन पुनःस्थापनामा गइदैन त्यसैले अहिले यसै हो भन्ने अवस्था छैन ।” यसबारेमा पार्टीभित्र र अन्य पार्टीहरुसँग पनि बृहत छलफल गर्नुपर्ने पौडेलको भनाई थियो ।
छलफलमा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए । “हामी लचिलो भएर प्रस्तुत भएका छौं तर अहिले कुनै निष्कर्षमा पुग्न सकिएन,” छलफलपछि उपाध्यक्ष श्रेष्ठले भने,“अन्य दलहरुलाई पनि विश्वासमा लिएर छिटै सहमति गरी प्रक्रिया अघि बढाउनु पर्छ ।”
२२ असोजमै कोइरालाको निवासमा बसेको कांग्रेस पदाधिकारी र नेताहरुको बैठकले विगतका सहमति कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै एमाओवादीलाई तत्काल विश्वास गर्न नसकिने निष्कर्ष निकालेको थियो ।
१४ असोजमा राष्ट्रपति रामवरण यादवसँग असोजभित्रै सहमतिमा पुग्ने प्रतिबद्धता जनाएका अध्यक्ष दाहाल केही दिनयता नेपाली कांग्रेससँग पुनःस्थापनाका बारेमा निरन्तर बहसमा छन् । नेकपा एमालेले औपचारिक रुपमै पुन:स्थापना मान्य नहुने घोषणा गरिसकेको छ भने कांग्रेस सभापति कोइराला पनि निर्वाचनकै पक्षमा देखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
