थप समाचारआइतबार, कार्तिक २३, २०७१
मनकुमारीको पढ्ने रहर
बिहान–बेलुका मकै पोलेर परिवारको गुजारा चलाउँदै ९ कक्षामा पढिरहेकी मनकुमारी चेपाङको शिक्षाप्रतिको लगाव अनुकरणीय छ ।
बिहान चार बजे उठेर हरिया मकै खोज्दै साइकलमा १० किलोमीटर टाढा गैंडाकोटसम्म पुग्नु, दिउँसो स्कूल जानु अनि स्कूलबाट फर्केपछि सडकमा मकै पोलेर बेच्नु– मनकुमारी चेपाङको दैनिकी हो ।
९ कक्षाकी विद्यार्थी उनी कापी–किताब बोकेर छोराछोरीको उमेरकाहरूसँग नियमित विद्यालय जान्छिन् ।
स्कूल जाने उमेरमा उनले पढ्न पाइनन् । सानैमा विवाह भयो । छोराछोरी जन्मिएपछि उनीहरूको हेरचाह र गुजाराका लागि मेलापात गर्दै दिन बिते ।
बालबच्चा हुर्काउन–पढाउन सहज होला भनेर उनी पतिसँगै चितवनको पहाडी गाविस काउलेबाट धादिङको मझ्मिटार झ्रेर गिटी कुट्न थालिन् ।
उनी त्यहीबेला शुरु भएको प्रौढ कक्षामा ६ महीना पढेर ३३ वर्षको उमेरमा तीन कक्षामा भर्ना भइन् ।
चार कक्षाकी छोरीसँगै दूधे छोरो च्यापेर विद्यालय जान थालेकी मनकुमारीलाई मजदूरी गरेर पाँच छोराछोरीसहित ८ जनाको परिवार पाल्ने एक्लो श्रीमान् भएपछि ठूलो आर्थिक कठिनाइ भयो ।
त्यसपछि उनीहरूले चितवनको जुटपानी र फेरि भरतपुर सरे, तर; मनकुमारीले पढ्न छाडिनन् ।
मकै लिएर डेरामा आइपुग्दा कहिलेकाहीं घण्टी लागिसक्ने हुँदा उनी खाना नखाएरै पनि स्कूल पुग्छिन् । स्कूल छुटेपछि उनी मकै पोल्न जान्छिन् । उनका पति पनि मकै पोलेर बेच्छन् ।
आफूले पतिको कमाइमा केही थपथाप मात्र गरेको बताउने मनकुमारीकी एउटी छोरीको बिहे भइसक्यो । एउटी छोरी शक्तिखोरको छात्रावासमा बसेर पढ्छिन् ।
उनी अहिले दुई छोरा र एक छोरीसँगै चितवन उच्चमाविमा पढिरहेकी छन् ।
कतिपय मान्छे छोराछोरी हुर्कने बेलामा सर्ट, पाइन्ट, टाई लगाएर स्कूल जाँदा कुरा काट्छन्, तर उनलाई रीस उठ्दैन । पहिले नपाएको कुरा अहिले पाउँदा यति सहन कुनै अप्ठ्यारो नभएको उनी बताउँछिन् ।
“जसरी पनि एसएलसी उत्तीर्ण गर्ने धोको छ”, मनकुमारी भन्छिन्, “पढेर जागीर खान नसकुँला, तर सानोमा पढ्न नपाएका अरूलाई जहिले पढ्दा पनि हुने कुरा बुझउन सक्छु ।”
उनका पति सन्तबहादुर चाहिं पत्नीले पढेर जागीर खाने बताउँछन् ।
तर, जागीरे भन्दा उदाहरणीय हुनुलाई कता हो कता उपलब्धिपूर्ण भएको बताउने चितवन उच्चमाविकी प्राचार्य रामप्यारी शर्माले कक्षामा नियमित भएर मिहिनेत गर्ने मनकुमारी विद्यालयका सबै विद्यार्थीका लागि प्रेरणा भएको बताइन् ।
सविता श्रेष्ठ, चितवन
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
