रमझममंगलबार, आश्विन २३, २०६९
साहित्यिक स्वादको कमी
किताबः प्रलय प्रारम्भ (उपन्यास)
लेखकः देवप्रकाश त्रिपाठी
प्रकाशकः हिमालय बुक स्टल
मूल्यः रु.२५० पृष्ठः १८४
जलवायु परिवर्तनको असरले पृथ्वीमा प्रलय भएको र अन्ततः एक जोडी आमा र छोरा मात्र बचेका कथावस्तुमा रचिएको छ, उपन्यास। प्रलयअघि जलवायु परिवर्तनका असरहरूमा केन्द्रित उपन्यासको कथा मानव जीवनलाई निरन्तरता दिने विषयमा तिनै आमा–छोराबीच चलेको अन्तर्द्वन्द्वमा घुमेको छ। आमा र छोरा अलग–अलग रूपमा आफूहरूले नै शारीरिक सम्पर्क राखेर सृष्टिलाई अगाडि बढाउने कुरा सोच्छन्, तर आफैं नैतिकता र मूल्यमान्यताको तर्कना झिकेर अघि बढ्न सक्दैनन्। अन्ततः एउटा निर्वस्त्र मान्छे वा वनमान्छे देखेपछि त्यसैबाट मानव सृष्टि अघि बढ्ने निश्चितताका साथ उपन्यास टुङ्गिन्छ ।
काल्पनिक विज्ञान कथा भन्न सकिने उपन्यासमा साहित्यिक मिठास, रोचकता र भावनाको भने खडेरी छ। जलवायु परिवर्तनको निरस व्याख्या, त्यसका असरहरूको नाटकीय विकासक्रम र प्रलयपछि आमा–छोराबीच चल्ने प्रवचन शैलीको इतिहास, सभ्यता, दर्शन, मानव जीवन, राजनीति, धर्म आदिको चर्चाले उपन्यासमा साहित्यिक मिठास नआएको हो। यद्यपि दर्शन, जीवन जस्ता विषयको चर्चा चाहिं बलियो छ ।