ब्लगसोमबार, कार्तिक २४, २०७१

काठमाडौंको कच्ची विकास

मिलन बगाले

तस्वीरः देबकी बिष्ट

तस्वीरः देबकी बिष्ट

छठसँगै यो वर्षका ठूला चाडबाड सकिए । नागरिकहरू चाडबाड मनाएर धान थन्क्याउने लगायतका नियमित दिनचर्यामा फर्केको बेला नेपाल सरकार काठमाडौंलाई धुमधाम सिंगार्ने चटारोमा छ । धुस्रेफुस्रे सडकहरूमा पीच गर्ने काम रफ्तारमा छ । थोत्रा बिजुलीका पोल उखेलेर चिटिक्कका नयाँ पोल गाडिंदैछ । कतै रूख रोपिंदैछ त कतै बगैंचा बनाइँदैछ ।

माइतीघरको अष्टमण्डल टिलिक्क बनेको छ । राष्ट्रिय सभागृहको मर्मत र रंगरोगन सकिनै लागेको देखिन्छ । शहरका प्रमुख चोकहरूको सफाइमा तदारुकता देखिएको छ । यतिले नपुगेर महानगरपालिकाले सडक सफा गर्न रु.१ करोडको ब्रुमर मेशीन किन्न लागेको समाचार गोरखापत्रमा छापिएको छ । भीभीआईपीका मोटर गुड्ने सडकछेउका घर र पर्खाल सिंगार्ने उर्दी काम नलागेको कतिपय निजी घरहरूलाई सरकार आफैंले रंगरोगन गरिदिनेदेखि पानीले सडक पखाल्नेसम्मका समाचार आएका छन् ।

भनिरहन पर्दैन, १८औं सार्क सम्मेलन नहुने भएको भए काठमाडौंले आफूलाई सिंगार्ने टन्टा गरिरहने थिएन । सार्क सम्मेलन तयारीका लागि सरकारले रु.१० अर्ब खर्चिने भएको छ । त्यसो त सरसफाइ, सुरक्षा, नबिग्रेका संरचना, बत्ती, पानी जस्ता सुविधा सधैं चाहिने कुरा हो । बाटो सफा गर्न, रूख रोप्न, धूलो बढार्न, लत्रिएका तार मिलाउन, भाँचिएका पोल फेर्न देशले सार्क सम्मेलन नपर्खिनुपर्ने हो । नेपाल सरकार भने भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, भूटान, बंगलादेश र श्रीलंकाका सरकार तथा राष्ट्रप्रमुखहरूलाई हामी फोहोरी छैनौं भनेर देखाउन मात्र यो काम गरिरहेको छ भन्ने परेको छ । तर, अहिले सुधारिएको काठमाडौंले सार्क सम्मेलनपछिको केही महीनामै २०३७ सालमा ‘सुधारिएको पंचायत’को सम्झना गराउने निश्चितै छ ।

सम्मेलन सकिएको पर्सिपल्ट पीच बाटो पिलो झैंं फुटेर छरिनेछन् । धूलो तान्ने मोटर र बढार्ने कर्मचारीहरू गायब हुनेछन् । नर्सरीबाट उखेलेर ल्याइएका रूख–बिरुवा स्याहार नपाएर नासिनेछन् । पाहुनाको लागि भरपर्दो सुरक्षा, होटलको गतिलो व्यवस्था र सम्मेलनस्थलको मर्मत–सरसफाइ गर्दा पुग्नेमा दुई दिन नटिक्ने विकासमा अर्बौं रुपैयाँ खर्च गरेर पञ्चायतकालमा राजाको सवारी हुँदा चिलाउनेको बोटमा जुनारका दाना बाँध्ने, सुन्तलाका बोट उखेलेर सवारी मार्ग हराभरा पारिदिने, रातारात काउली उमार्ने, अनेक निकासा पुकासा दिएर विकासको मूल फुटाउने मनोग्रन्थीबाट पीडित भएको प्रमाण पेश गरिएको छ ।

पहिलोपटक २०४४ सालमा काठमाडौंमा तेस्रो सार्क सम्मेलन हुँदाका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले त्यो समयलाई यसरी सम्झ्ेका छन्, “अन्तर्राष्ट्रिय विमानस्थलको ३० वर्ष पुरानो टर्मिनल अत्यन्त दयनीय थियो । धावनमार्ग वरिपरि घाँस नकाटेको एक दशक भइसकेको थियो । अति लाजलाग्दो विशिष्ट कक्ष थियो । सडक साँघुरा थिए । बत्ती थिएन । जगेडा बुलेट प्रुफ मर्सिडिजको अभावमा झ्ण्डै सार्क सम्मेलन नै गर्न नसक्ने स्थिति आएको थियो ।” २७ वर्षपछि पनि करीब त्यही अवस्था देखियो । बुलेट प्रुफ गाडीको जोहोमा सरकारको टाउको बेस्कन दुखेको छ । विमानस्थल, सडक, बत्ती सबै चिज भद्रगोल छन् । सबैतिर टालटुलको हतार छ ।

नागरिक सचेत भैदिए निर्माण गर्ने, सफा गर्ने, मर्मत गर्ने निकाय बाह्रै महीना चालु हुन बाध्य हुन्छन् । नागरिक सचेत नभएपछि, राज्यले बनाएको चिजको जतन–जगेडा नभएपछि सरकारले मात्र के गरोस् ? सरकारले बनाएको अष्टमण्डल वा रत्नपार्क नागरिकको पनि हो । सडक, अस्पताल, स्कूल, क्याम्पस, सार्वजनिक शौचालय सबै आफ्नै नागरिकका सम्पत्ति हुन् भन्ने कुरा आत्मसात् गर्न नसकेसम्म यी सबै संरचना दूषित, भग्न, अव्यवस्थित र अस्तव्यस्त नै रहन्छन् । नागरिकले यो कुरा बुझ्दििए अनि सरकारले पनि नियमित काम गरिदिए गाल टार्न नक्कली तामझम गर्नु पर्दैनथ्यो ।

काठमाडौंको कच्ची विकास यो नै अन्तिम बनोस् । तामझाम भन्दा माथि उठेर दीगो विकासमा श्रम, समय र पूँजी खर्चनेको जय होस् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>