रमझमसोमबार, कार्तिक २४, २०७१
हेर्नैपर्ने फिल्म ‘टलकजंग भर्सेस टुल्के’
विश्व प्रसिद्ध चिनियाँ लेखक लु शुनको ‘आह क्यूको साँचो कथा’ लाई आधार बनाएर नेपालीमा ‘टलकजंग भर्सेस टुल्के’ नाटक मञ्चन भएको थियो । ‘आह क्यूको साँचो कथा’ १९२१ डिसेम्बरमा लेखिएको थियो । चीनमा गणतन्त्र स्थापनाको दशौं वार्षिकोत्सव चलिरहेको बेला थियो, त्यो । आलोचनात्मक यथार्थवादी चेतनाले ओतप्रोत लु शुनको कथाले तत्कालीन चीनको यथार्थलाई व्यंग्यात्मक रुपले प्रस्तुत गरेको छ ।
बाबुको रोग निको पार्न डाक्टर–वैद्यहरूले गरेको प्रयोग र उपचार विधिबाट लु शुन सानैमा दिक्क भएका थिए । बाबुको उपचारका लागि घरका सर–सामान बेच्दाबेच्दा कंगालको हालतमा पुगेका उनले गरीब चिनियाँहरू बिरामी हुँदा उपचार नपाएर शोषणमा पर्दै मरिरहेको देखेका थिए । त्यही तोडमा उनी चिकित्साशास्त्र पढ्न जापान पुगे ।
जापानमा विद्यार्थी रहेका बेला एक दिन लु शुनले एउटा स्लाइड फिल्मका केही दृश्यहरू हेरे, जसमा एकजना चिनियाँ युवकलाई जापान विरुद्ध रुसको पक्षमा जासूसी गरेको झूट्टो आरोपमा पाता फर्काएर पिट्दै थिए । थुप्रै मोटाघाटा चिनियाँ युवकहरू जापानीहरूको त्यो अत्याचार चूपचाप हेरिरहेका थिए । त्यो निर्दोष चिनियाँ युवकलाई जापानीहरूले पिट्दै गोली ठोकेर मारेको दृश्यले लु शुनको मनस्थिति नै परिवर्तन गरिदियो । उनले डाक्टरी पढ्न छोडेर लेखक बन्ने निधो गरे ।
लु शुनले आफ्नो पहिलो कथासंग्रहको भूमिकामा लेखेका छन्– ‘पिछडिएका र निर्बल राष्ट्रका मानिसहरूको शरीर जतिसुकै बलियो र स्वस्थ किन नहोस् तिनको उपयोग दण्ड दिनका लागि अथवा दण्ड दिएको रमिता हेर्नको लागि मात्र गरिंदो रहेछ । यस्ता मानिसहरू रोगले आक्रान्त भएर मरे पनि त्यो दुःखदायी घटना हुँदैन । सबभन्दा महत्वपूर्ण कुरा त मानिसहरूको भावनामा परिवर्तन ल्याउनु रहेछ । यसका लागि सबैभन्दा उपयोगी साहित्य हुन्छ भन्ने मलाई लाग्यो ।’
‘आह क्यूको साँचो कथा’ मा राजतन्त्र अन्त्य भएपछिको संक्रमणकालीन सामन्ती समाज र त्यसभित्रका विविध चरित्रहरूको तीक्ष्ण व्यंग्यात्मक चित्रण छ । नौ अध्यायको उपन्यास भन्न मिल्ने यो विश्वप्रसिद्ध कथा तत्कालीन चिनियाँ समाज हेर्ने ऐना हो ।
मौलिक नेपाली सिनेमा
आह क्यू र टलकजंग टुल्केको चरित्रमा समानता देखिए पनि टुल्केले आफ्नो मौलिकता जोगाएको छ । ‘आह क्यूको साँचो कथा’ पढेकाहरूलाई पनि टलकजंगको चरित्र मौलिक लाग्छ । टलकजंग टुल्के नेपाली समाज र जीवनको आम विशेषता बोकेको पात्रको रुपमा उभिन्छ । ऊ हाम्रै टोल–छिमेकको एउटा हेपिएको, हारेको मान्छेको प्रतिनिधिका रुपमा सिनेमाको नायक बनेको छ ।
यो सिनेमामा आम नेपाली जनजीवनको व्यथा र छटपटीको मिहिन चित्रण छ । यो सिनेमाले माओवादी सशस्त्र द्वन्द्वले नेपालको गाउँले जीवनमा ल्याएको छटपटी, कलह र अनेकौं कथा उप–कथालाई व्यापक पृष्ठभूमिमा समेटेको छ र देखाएको छ– राजनीतिको गल्तीले जनजीवनलाई कसरी दुःखमा होमिदिन्छ भनेर । माओवादी सशस्त्र द्वन्द्वको सन्दर्भमा देखा परेका विविध पात्रहरू जीवन्त र स्वाभाविक लाग्छन् । यसले माओवादी राजनीतिक आन्दोलनभित्रको अन्तरविरोध, आर्थिक स्वार्थ, अवसरवाद र विडम्बनाको पनि सजीव चित्रण गरेको छ ।
गण्डकी अञ्चलको ग्रामीण जनजीवनको पृष्ठभूमिमा समाजमा हेपिएको एउटा काम गरिखाने तन्नेरीलाई केन्द्रमा राखेर उसका वरिपरि उत्पन्न घटनाहरूले कसरी उसलाई च्याप्दै लैजान्छ भन्ने देखाउनुका साथसाथै समकालीन समाज र कपटपूर्ण राजनीतिले साधारण मानिसहरूको जीवनमा बलात् ल्याइदिएको दुःख एवं पीडाबारे सिनेमाले बोलेको छ ।
‘टलकजंग भर्सेस टुल्के’ राजनीतिक सिनेमा हैन, तर गलत राजनीतिले त्याग–बलिदान पनि खेर फाल्ने, समर्पित कार्यकर्ताहरू समेत मारिने र निर्दोष मान्छेहरूले अनाहकमा बेस्सरी दुःख पाउने तथ्य प्रष्टसँग देखाएको छ । यो सिनेमा न माओवादी सशस्त्र द्वन्द्वमा आधारित हो न त कथा माओवादीसँग सम्बन्धित हो । र पनि, यसमा माओवादी द्वन्द्व प्रतिबिम्बित छ ।
यो सिनेमा पारिवारिक नाम टलकजंग भए पनि शोषण र अन्यायमा परेको, छलकपट नजान्ने र गरीब भएको हुनाले ‘टुल्के’ बन्न पुगेको एउटा तन्नेरीको व्यथा, प्रेम र विद्रोहको कथा हो । टुल्के गाउँमा हुन थालेका नयाँ–नयाँ परिघटनाहरूमा सामेल हुन र आफ्नो इज्जतको पुनस्र्थापना चाहन्छ । ऊ समाजमा आफ्नो स्थान खोज्छ । टलकजंग बन्न प्रयत्नरत टुल्के आफूले प्रेम गरेकी केटीलाई हुरुक्क भएर माया गर्छ, आफूलाई होच्याउनेहरूसँग जोरी खोजी–खोजी लड्छ । गाउँमा माओवादी देखा परेपछि ऊ तिनमा सामेल भएर बदला लिन चाहन्छ । त्यसक्रममा अनपेक्षित घटनाहरू भएपछि ऊ शहरतिर भाग्छ र फेरि गाउँ फर्कन्छ । तर, उसलाई माओवादी द्वन्द्वले पछ्याउन छोड्दैन । गाउँ र शहर दुवै ठाउँमा ऊ यसको चपेटामा पर्छ ।
‘टलकजंग भर्सेस टुल्के’ले राजनीतिले सामान्य मान्छेका जीवनमा ल्याइदिएका उथलपुथल र दुःख–पीडाको कथालाई सिनेमाको सरल भाषामा भन्छ । यो सिनेमा माओवादी सशस्त्र द्वन्द्वप्रति न आग्रही छ न त पूर्वाग्रही । यसले माओवादी द्वन्द्वले गाउँमा ल्याएको अन्तरविरोध, छटपटी र विग्रहलाई तटस्थ आँखाले हेर्छ र त्यही रुपमा भन्छ ।
धेरै उपलब्धि, थोरै कमजोरी
‘टलकजंग भर्सेस टुल्के’ नेपाली सिनेमाको एउटा उपलब्धि र वर्तमान नेपाली सिनेमा निर्माणमा एउटा सार्थक हस्तक्षेप हो । हलिउड र बलिउडको नक्कल होइन, आफ्नै समाज र जीवनको कथा तथा पात्रहरूको निर्माण–चित्रण भएको यो सिनेमा प्रवाहमय छ, सलल बग्छ । टलकजंग टुल्केको चरित्र निर्माण एकदम स्वाभाविक र जीवन्त छ । छक्का–पञ्जा नजान्ने, दायाँ–बायाँ नसोच्ने, सकारात्मक परिवर्तन खोज्ने, जीवनमा न्याय–सम्मान र प्रेम–मित्रता चाहने अनि अन्यायसँग लड्न तम्सने आम नेपाली चरित्रको प्रतिनिधित्व गर्छ– टलकजंग टुल्केले । विडम्बना, परिवर्तनका लागि गरिएको भनिने द्वन्द्वको शिकार पनि ऊ नै बन्छ र पटक–पटक पराजित हुन्छ । राज्यको अन्याय र माओवादीहरूको निरर्थक द्वन्द्वको राम्रो चित्रण छ सिनेमामा ।
एउटा राम्रो सिनेमा बन्न धेरै कुराको मेल हुनुपर्छ । तर, सिनेमाको निर्णायक पक्ष चाहिं विषयवस्तु हो । सिनेमाको विषयवस्तु र त्यसले दिने सन्देश सिनेमाको सर्वाधिक महत्वपूर्ण पक्ष हो । गतिलो निर्देशकसँगै कस्सिएको, प्रवाह बोकेको पटकथा, विषय अनुरुपको संवाद, स्वाभाविक र बहुआयामिक अभिनय राम्रो सिनेमाको मुख्य आधार हो । खगेन्द्र लामिछानेको पटकथा र संवादले ‘टलकजंग भर्सेस टुल्के’ लाई प्रवाह दिएको छ । लामिछानेले टलकजंग टुल्केको चरित्र अनुरुप अभिनय पनि जीवन्त गरेका छन् । दयाहाङ राई, ऋचा शर्मा, रवीन्द्र बानियाँ लगायतका कलाकारको अभिनय बेजोड छ । नाटक खेल्दै आएका कलाकारहरूले गतिलो गरी प्रतिभा देखाएका छन् ।
दोस्रो सिनेमासम्म आइपुग्दा निश्चल बस्नेतले आफ्नो निर्देशकीय क्षमता प्रमाणित गरेका छन् । उनको पहिलो फिल्म ‘लूट’ प्रस्तुतिको दृष्टिले नयाँ थियो । ‘टलकजंग भर्सेस टुल्के’ विषयवस्तु र प्रस्तुति दुवै दृष्टिकोणले आम नेपाली सिनेमा भन्दा भिन्न छ । यसले नेपाली सिनेमा लेखन, प्रस्तुति र निर्माणको क्षेत्रमा मौलिक शैली निर्धारण गरेको छ । यो निर्देशकको उपलब्धि हो । नेपाली सिनेमा जगतले निश्चल बस्नेतको उपयोग गर्नु जरुरी छ भने बस्नेतले पनि अध्ययन र अनुभवको घेरालाई व्यापक बनाउँदै लैजानुपर्छ ।
‘टलकजंग भर्सेस टुल्के’ कुनै कमजोरी नभएको नेपाली सिनेमा भने होइन । जस्तो, गुण्डा नाइके दयाहाङ राई र टुल्के सहितको नृत्य र गीत यो सिनेमामा आवश्यक थिएन । ‘लूट’ मा ‘उध्रेको चोली’ बोलको गीत एक हदसम्म ठीकै लाग्थ्यो, व्यावसायिकताका नाममा त्यही फर्मूला यसमा लगाउँदा सिनेमाको गति अवरुद्ध भएको छ । यो दृश्य हटाए पनि हुन्छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट