अन्तर्वार्ता/विचारमंगलबार, कार्तिक २५, २०७१

हामीले बोल्नै पर्छ, उनीहरुले सुन्नै पर्छ

केदार शर्मा

सडक दुर्घटनाको तथ्याङ्क डरलाग्दो किसिमले बढिरहेको छ। यी हरफ लेखिरहँदा मात्र देशका विभिन्न भागमा सडक दुर्घटनामा मृत्यु भएका २७ जनाभन्दा धेरै व्यक्तिको काजक्रिया चलिरहेको छ। अहिले दुर्घटनाको समाचारले सबैको मन बिथोलिरहेको छ। तर हामीमध्ये धेरै जना आफैं नै दुर्घटनाको समाचार बन्नबाट कैयन् पटक जोगिएका छौं।

२१ कात्तिक बिहान काठमाडौंबाट नेपालगञ्ज जान लागेको मानसरोवर मेट्रो डिलक्समा यात्रुलाई सम्बोधन गर्दै चालकका सहयोगी। तस्वीरः देबकी बिष्ट

२१ कात्तिक बिहान काठमाडौंबाट नेपालगञ्ज जान लागेको मानसरोवर मेट्रो डिलक्समा यात्रुलाई सम्बोधन गर्दै चालकका सहयोगी। तस्वीरः देबकी बिष्ट

‘हुने हुनामी केही गरे पनि टर्दैन’ भनेर चित्त बुझाउने बानीले दुर्घटनाबाट जोगाउने प्रयत्न र सम्भावना ओझेलमा पर्छन्। आफ्नो चिनजानका कैयन् नवयुवालाई अकालमा मार्ने अघिल्लो साताको मकवानपुरको बस दुर्घटना सम्झ्ँदा म काठमाडौंबाट विराटनगर जाने (इलामे बसलाई हान्ने) बसमा कोही पनि जुझारू यात्रु रहेनछ भन्ने निष्कर्षमा पुगेको।

चितवनको रामनगरदेखि बौलाहा तालले कुदाइएको बसका यात्रुले ड्राइभरलाई गाडी रोक भनेको र उसले नटेरेको कुरा प्रकाशमा आएको छ। तर उनीहरूमध्ये कसैले पनि हातहातमा भएको फोनबाट १०० मा डायल गरेनन्। प्रहरीलाई फोन गरेको भए प्रहरीले त्यो गाडीलाई समयमा रोक्ने थियो। हाम्रो प्रहरी तुलनात्मक रूपमा प्रभावकारी संस्था हो र त्यसलाई नागरिक सहभागिताबाट अझ् प्रभावकारी बनाउन सकिन्छ। प्रहरीलाई फोन गरेर आफूले नागरिक हक पाएका केही उदाहरण मसितै छन्।

प्रहरी गुहार्नुपर्छ

२०६० सालतिरको घटना हुनुपर्छ, मुलुकमा सङ्कटकाल थियो। एकदिन अपराह्न हामी आफ्ना छोराछोरीसित ललितपुरको पुल्चोकमा हिंड्दै थियौं। पुल्चोकको आकाशे साँघु छेउको पेटीमा सैनिक पोशाकमा दुई जना केटा उभिएका थिए। हामी त्यहाँबाट पार हुँदा एउटाले अभद्र किसिमले हाम्री छोरीलाई छोयो। हामीलाई त्यो स्वीकार्य भएन। अलिकति मास्तिर पुगेर मैले १०० मा फोन गरेर प्रहरीलाई रिपोर्ट गरें। मुलुकभर टाटेपाटे पोशाकसित आतङ्कित हुनुपर्ने अवस्था थियो। तर पनि सैनिक जवानको दुर्व्यवहारलाई ‘यस्तै हो’ भनेर सहन हामीले सकेनौं।

तीन मिनेट नबित्दै प्रहरीको भ्यान आयो र ती सैनिक जवानलाई लग्यो। हामीलाई कानूनी राज्यमा बाँचेको नागरिकको अनुभूति भयो।

२०६८ सालको हिउँदमा मेरी श्रीमती र छोरी इलामबाट काठमाडौं आउँदै थिए। इटहरीबाट बस पश्चिम लाग्नासाथ मलाई छोरीको एसएमएस आयो। “हामी फलानो बसमा छौं। इटहरीबाट बसमा एउटा जोडी चढेको छ र आमाको विचारमा यो केटीलाई बेच्न लगिंदैछ। यसलाई बचाउन सकिन्छ? हामीलाई फोन गरे हुन्छ तर यताबाट स्पष्ट बोल्न मिल्दैन।”

उनीहरूसित केही प्रश्न गर्नासाथ मैले १०० मा फोन गरें। आफ्नो नाम ठेगाना भनें र सम्पूर्ण कुरा बताएँ। त्यहाँबाट मलाई अर्को नम्बर दिइयो। मैले त्यहाँ फोन गरें। बर्दिबाससम्म जान भनेर चढेको त्यो जोडीको पुरुषले ‘भन्टाबारीमा ओर्लिनुपर्ने भयो, गाडी रोकिदिनुहोला’ भनेछ। प्रहरीले केही गर्नुअघि नै उनीहरू भारतीय सीमावर्ती बजारमा ओर्लिन रोकिन खोजेका थिए। बस रोकियो। त्यो मान्छे केटी लिएर ओर्लियो। ओर्लिनासाथ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो।

माथिका दुवै घटनामा मैले चिनजानका प्रहरी अधिकारीहरूलाई गुहारिनँ। त्यसो गर्दा पहुँच भएकै कारण काम भयो भन्ने पनि हुन्थ्यो होला। तर प्रक्रियाबाट काम हुन्छ भन्ने विश्वास मात्रले पनि नागरिकलाई बलियो बनाउँछ।

प्रहरी नगुहार्दा पनि हुन्छ

निकैबेरदेखि ड्राइभर विनै घ्यार्घ्यार् गरिरहेको बसको ड्राइभर सीटको ढोका खोलेर एउटा फुच्चे चढ्यो र गाडी चलाउन थाल्यो। म छक्क परें, नजिकै थिएँ, अलि चर्को स्वरमा बोलें, “ए भाइ, तिमी ड्राइभर

हो?” उसले खस्रो स्वरमा जवाफ दियो, “हो!”

“कति वर्ष पुग्यौ?”

उसले कुरा बुझ्यो तर जवाफ दिन चाहेन। उल्टै सोध्यो, “किन?”

“ड्राइभिङ लाइसेन्स छ?”

“लाइसेन्सले गाडी कुदाउँछ कि मान्छेले?” उसको धृष्टताले मेरो सहनशक्ति नाघ्यो। उसलाई गाडी चलाउनबाट रोक्नु अब मेरा लागि सुरक्षाको मात्र होइन, प्रतिष्ठाको विषय पनि भयो। मैले अरू यात्रीलाई सम्बोधन गरें, “तपाईंहरू किन बोल्नुहुन्न? जानाजान आफ्नो ज्यान जोखिममा हाल्ने?” अनि कराएँ, “गाडी रोक। हामी ओर्लिन्छौं। म ट्राफिकमा जान्छु”, र सीटबाट उठें। अनि ढोकाछेउमा उभिएको मान्छे बोल्यो, “ए बब्बु, आइज!”

बब्बु रिसाएर पछाडि आयो। ढोकामा उभिएको मान्छे गाडी कुदाउन गयो।

यो २०६३ सालको, झ्ापाको बिर्तामोडबाट भद्रपुर जाने बसको घटना हो। म र मेरा क्यामेराम्यान साथी ज्योतिकेशर सिंह नेपालका सबभन्दा सचेत मानिएका ठाउँहरूमध्येको एउटामा बसयात्रीको मौनता देखेर साँच्चै छक्क परेका थियौं।

कसैले पनि, कहीं पनि बोल्न छाड्नुहुँदैन। अभिव्यक्ति स्वतन्त्रता पढैयाहरूको मात्र हक होइन। पढैया र पहुँचवालहरूले पनि सर्वसाधारणका हैसियतबाट बोल्न थाल्ने हो भने सबैमा आत्मविश्वास बढ्छ।

सबैलाई थाहा छ, हामीकहाँ खलासीहरूले व्यावहारिक सीप सिक्ने बब्बुले जसरी नै हो र यसरी नै काम सिकाएकाले ड्राइभरहरू ‘गुरुजी’ भएका हुन्। धेरै गाडी खलासीले चलाएका बेला दुर्घटनामा पर्छन्। हालैको चुरिया, मकवानपुरको ट्रक दुर्घटनामा पनि गाडी खलासीले नै कुदाएको थियो।

लाइसेन्सधारी ड्राइभरहरूबाट भएको दुर्घटनाको दोष भने उनीहरूलाई मात्र बोकाएर पुग्दैन। अनेक तहका गल्ती, कमजोरी, लोभलालच र हेलचेक्र्याइँका कारण बढेका दुर्घटनाबाट वर्षेनि सयौंले अकालमा ज्यान गुमाउनु परिरहेको छ तर त्यस्ता ज्यानमारा घटनाका दोषीहरू भने कुनै कारबाहीमा नपरिकन उम्किने गरेका छन्। त्यसैले प्रत्येक दुर्घटनामा सुरक्षाका लागि आवश्यक नियम बनाउने र पालना गराउने जिम्मेवारी बोकेका सरकारी निकाय, अनुचित नाफाका लागि नियम भत्काउने व्यवसायी र पैसा तिरेर अपराधीलाई जोगाउनेहरूलाई औपचारिक रूपमा नै जिम्मेवार मानेर त्यसको अभिलेख राख्न आवश्यक छ।

दुर्भाग्य, खतरनाक सार्वजनिक यात्राको जोखिम नउठाई कहीं पनि जान सकिंदैन। जहाँ– डोजर भाडामा लिने क्षमतालाई सडकको रेखाङ्कन गर्ने योग्यता मानिन्छ, एउटा गाडी भाडामा लगाउने बित्तिकै यातायात व्यवसायी हुन्छ, गाडीमा जति पनि यात्री कोच्न पाइन्छ, गुरुजीका गुरुकुलले ड्राइभर उत्पादन गर्छ, ड्राइभिङ लाइसेन्स किन्न पाइन्छ, ज्यानमारा र अपराधपूर्ण हेलचेक्र्याइँबाट मान्छेलाई जोगाउनकै लागि कोष खडा गर्ने चलन छ– त्यहाँ सडक दुर्घटना नभएर के हुन्छ?

त्यसो त बसहरू पहिलेका तुलनामा सजिला भएका छन्। लामो दूरीका बसमा पहिले भुईंमा समेत यात्रु कोच्ने चलन थियो, हिजोआज चाडबाडका बेला पनि त्यस्तो अतिचार देखिंदैन। कतिपय बस कम्पनीहरूले यात्रीलाई पानी र केही खाजा समेत दिएर सत्कार गर्छन्। हिजोआज दोहोरो टिकटको समस्या पनि उतिसाह्रो पर्दैन। हामी आधुनिक भइरहेका छौं। हामी सजिला बसमा चढेर सरकारका कमजोरी र संविधान बन्न नसक्नुका कारण केलाउन सक्छौं भने त्यही बसभित्र आफ्नो वा अर्काको सुरक्षामा भइरहेको जोखिम आँकेर हातमा भएको मोबाइल फोनको प्रयोग गर्न पनि सक्नुपर्छ।

यात्रुसित बोल

यातायात व्यवसायीहरूले पनि आफूलाई सिन्डिकेट व्यवसायीको हैसियतबाट माथि उकास्ने हो भने यो एउटा राम्रो मौका हो। हवाइजहाजको यात्रा गर्दा जहिले पनि ‘क्याबिन क्रु’को यात्रीसितको संवादबाट शुरू हुन्छ। त्यहाँ यात्रुलाई क्याप्टेनको नाम, जहाजको गति, उड्ने अधिकतम उचाइ लगायतका जानकारी दिन अनिवार्य हुन्छ। हाम्रो जस्तो स्थल यातायातमा निर्भर देशमा बसमा त्यस्तै संवाद गर्नुपर्ने नियम बनाउन जरूरी छ।

बस चल्नुअघि ड्राइभर ‘क्याबिन’ बाट यात्रुकक्षमा निस्किने, सकभर म्यूजिक सिस्टममा जोडिएको माइकबाट वा यसै बोलेर यात्रीलाई आफ्नो परिचय दिने र यात्राका बारेमा, अधिकतम गतिका बारेमा तथा शौचालय, खाना खाजाका लागि रोक्ने ठाउँहरूको जानकारी दिनुपर्ने अनिवार्य व्यवस्था गर्न जरूरी छ। लामो दूरीका बसमा ड्राइभर फेरिएको जानकारी यात्रीले पाउनै पर्छ र नयाँ ड्राइभरले पनि यात्रीसित संवाद गर्नैपर्छ। ड्राइभरले आफूले गाडी चलाउँदा मादक पदार्थ सेवन नगर्ने र यात्रुका कुनै गुनासो भए सुन्ने प्रतिबद्धता पनि प्रत्येक पटक बोलेर नै गर्नुपर्ने नियम बस लगायतका साना गाडीहरूमा पनि लगाउनुपर्छ।

नेपालगञ्ज–काठमाडौं–नेपालगञ्ज रुटमा दिवा तथा रात्रिसेवा शुरू गरेको भेरी अञ्चल यातायात व्यवसायी संघको ‘मानसरोवर मेट्रो डिलक्स’ले यात्रुसितको संवाद शुरू गरेको पनि छ। बसका ड्राइभर र खलासीले बसपार्कबाट बस छुट्नुअघि, बाटोबाटोमा र गन्तव्यमा पुग्नुअघि र पुगेपछि यात्रुसँग संवाद गर्छन्। अप्ठ्यारा घुम्ती आउँदा, खाना खाँदा, शौचालय गर्नुपर्दा, ओर्लने बेला सामान झ्ार्दा ड्राइभर वा खलासीले माइक्रोफोन समातेर सबै यात्रुलाई सूचित गर्छन्, कुनै गुनासो वा सल्लाह भए वेबसाइट लगइन गरेर टिपाउन आग्रह पनि गर्छन्। नेपालको सडक यातायातमा बिल्कुलै नौलो लाग्ने यो अभ्यासले देशव्यापी आकार पाएमा यात्रु–चालक–व्यवसायी सम्बन्ध सुधार्दै ड्राइभरलाई यात्रुको सुरक्षामा अझ् बढी जिम्मेवार बनाउने निश्चित छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>