ब्लगमंगलबार, कार्तिक २५, २०७१
राजनेताको भविष्यवाणी
‘संविधान लचिलो हुनुपर्छ। जसले बदलिरहने परिस्थितिमा उपस्थित हुने प्रशासकीय नियम कानूनका समस्यालाई सुल्झाउँदै भविष्यमा नयाँ नयाँ चुनौतीलाई वैधानिक किसिमले मुकाबिला गर्न सकोस्। त्यसो हुनाले दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्न सक्ने व्यवस्था साधारणतः सबै संविधानमा रहन्छ। देशको प्रगतिमा संविधान तगारो बन्न नजाओस् भन्ने हेतुले र संवैधानिक उपायले नै संविधानमा उपयुक्त सुधार होस् भन्नका लागि यस्तो संशोधनको व्यवस्था रहने गरेको हो।’
बीपी कोइरालाले ३४ वर्षअघि ७ असार २०३७ मा संविधान सुझाव आयोगलाई संविधान निर्माणका सवालमा यस्तो सुझाव दिएका थिए। यो सुझाव आज पनि उत्तिकै सान्दर्भिक छ। बीपीको शतवार्षिकीको अवसरमा प्रकाशित बीपीको लेख संग्रह समयको सन्देश मा यस्ता अनेक प्रसंग छन्, जसबाट एउटा राजनेताका रुपमा बीपीका समग्र विचार एउटै किताबबाट ग्रहण गर्न सकिन्छ। संग्रहमा परेका ७० थान लेखबाट बीपीलाई सुदूर भविष्यको आकलन गर्न सक्ने एउटा द्रष्टाको रुपमा सजिलै बुझ्न सकिन्छ।
राजतन्त्रलाई सँगै लिएर अघि बढ्नुपर्ने मान्यताबारे बीपीले एक ठाउँमा लेखेका छन्– ‘हुकुमी राजतन्त्र नेपालका लागि अनुपयुक्त छ। सैद्धान्तिक दृष्टिकोणले यो मलाई एकदमै अस्वीकार्य छ।’ राजा महेन्द्रले जननिर्वाचित बीपी कोइरालाको सरकारलाई १ पुस २०१७ को सैनिक ‘कु’बाट बर्खास्त गरेपछि राजतन्त्रबारे कोइरालाको यस्तो धारणा आएको थियो। नेपाली प्रजातन्त्रका लागि राजतन्त्र टड्कारो खतराको रुपमा उभिएपछि बीपी र नेपाली कांग्रेसको ध्यान प्रजातन्त्र जोगाउनेमा नै केन्द्रित भएको थियो। बीपीको स्पष्ट मान्यता थियो– ‘राष्ट्र उत्थानको पहिलो शर्त जनतालाई अधिकारसम्पन्न बनाउनु हो।’
कसैका सामु झुकेर कुरा नगर्ने कोइरालाको स्वभाव हक्की थियो। क्यान्सरग्रस्त भएका बेला राजा वीरेन्द्रले दरबारमा बोलाएर स्वास्थ्य अवस्थाबारे सोध्दा उनले ‘देशको स्वास्थ्य झन् खराब भएको’ बताएका थिए। राजाले ‘तिम्रो स्वास्थ्यको कुरा गर्न बोलाएको, राजनीतिक कुरा तिमी स्वस्थ भएपछि गरौंला’ भन्दा बीपीले भनेका छन्, “देशको राजनीतिक समस्या मुख्य कुरा हो। मेरो व्यक्तिगत स्वास्थ्यका कारणले त्यो गम्भीर समस्यालाई पर सार्नु उचित हुँदैन।” त्यसमा राजा भन्छन्, “तिमीलाई याद छ– नेपालको महाराजाधिराजसँग कुरा गर्दैछौ।” बीपी पनि के कम, उनी भन्छन्, “सरकार, मलाई त्यसको पूरा अनुभूति छ, म श्री ५ सँग कुरा गर्दैछु। सरकारलाई पनि यो अनुभव हुनुपर्छ कि सरकार नेपालको एक राजनीतिज्ञसँग कुरा गरिबक्सँदैछ।”
पंचायतको त्यो दबदबामा राजासँग यसरी आफ्ना भनाइ राख्ने हिम्मत बीपीपछिका कमै नेताले गरे।
भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका बीपीको बुझाइमा दिल्लीले उनलाई चिन्नै सकेन। उनले उल्लेख गरेका छन्– ‘दिल्लीले न नेपाललाई चिन्न सक्यो न त मलाई नै चिन्दछ।’ उनले नेपालमा मित्रहरू भए पनि निजी मित्र भारतमा भएको उल्लेख गरेका छन्। उनी पुनः दिल्लीतिर फर्केर लेख्छन्– ‘भारतवासी मलाई निकै माया गर्छन् तर हाम्रो गुनासो दिल्लीसँग छ।’ उनले दुई छिमेकी मुलुक भारत र चीनसँग समदूरीको मित्रवत् सम्बन्धमा जोड दिएका छन्।
बीपीको बाल्यकाल पिता कृष्णप्रसादका साथ भारत प्रवासमा दुःखपूर्वक बित्यो। उनी १४ वर्षको हुँदा राजनीतिमा लागे। बनारसको हरिश्चन्द्र हाईस्कूलमा ९ कक्षामा पढ्दा भारतीय स्वतन्त्रता संग्रामको पक्षमा कक्षा बहिष्कार गर्ने पहिलो विद्यार्थी थिए, उनी। आन्दोलनका क्रममा उनी समाजवादी नेता जयप्रकाशनारायण र डा. राममनोहर लोहियाको सम्पर्कमा पुगे। भारतीय राजनेताहरुको सरसंगतले चाँडै नै उनको वैचारिक दृष्टिकोण फराकिलो भयो। तीन वर्षमा अंग्रेजको जेलबाट निस्कँदा बीपीले नेपालमा राणाको जेलमा पिताजीको मृत्यु भएको खबर पाए। त्यो घटनापछि बीपीले नेपालमा राणा शासन विरुद्ध संगठन गर्न थालेका थिए।
बीपीले नेपाली राष्ट्रिय कांग्रेसको स्थापनादेखि आफ्नो जीवनको अन्तिम समयसम्मको कालखण्डमा गरेका वस्तुस्थितिको विश्लेषणलाई संग्रहमा समेट्न सम्पादक जीवनचन्द्र कोइरालाले पर्याप्त मिहिनेत गरेका छन्। बीपी कोइराला, नेपाली कांग्रेस तथा समग्र नेपाली राजनीति बुझ्न चाहने र शोधार्थीका लागि यो संग्रह निकै उपयोगी छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट