खेलकुदबुधबार, कार्तिक २६, २०७१
बलर चम्किंदा नेपालको शानदार जीत
एसीसी यु–१९ प्रिमियर लिगअन्तर्गत नेपालले लगातार तेस्रो जीत हात पारेको छ । प्रतियोगिताअन्तर्गत २६ कात्तिकमा भएको आफ्नो तेस्रो खेलमा नेपालले मलेशियालाई ५३ रनले हरायो ।
११६ रनको सहज लक्ष्य पछ्याएको मलेशियालाई नेपाली बलरले ३०.४ ओभरमै धराशायी पारे । ६२ रन बनाउँदा मलेशियाली ब्याट्सम्यान अलआउट भए ।
नेपालका लागि सबै बलरले उत्कृष्ट बलिङ गरे । अर्जुन चापागाईँले ३.४ ओभर बलिङ गर्दा १४ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।
अर्जुनले पहिलो ओभरमै दुई विकेट लिएपछि मलेशियाली ब्याटिङलाइन धरमराएको थियो । नेपालको लोभलाग्दो बलिङ सामु मलेशियाले दबाबमा खेलेको थियो ।
नेपालका लागि सुशील कँडेलले २ विकेट लिए । ४ मेडन राखेका उनले आठ ओभरमा १३ रन खर्चिए । सौरभ खनालले २४ बलमा दुई विकेट झारे । एक मेडन राखेका उनले ५ रन मात्र दिए ।
तीन ओभर बलिङ गर्दा ३ मेडन नै राखेका दीपेन्द्रसिंह ऐरीले एक विकेट समेत लिए । प्रेम तामाङले ५ ओभरमा १ विकेट झार्दै ६ रन दिए । उनले २ मेडन बलिङ गरे ।
सुनिल धमलाले ६ ओभरमा १२ रन खर्चिएर एक विकेट लिए । उनको नाममा २ मेडन रहयो । नेपाली बलरले पाँच मलेशियाली ब्याट्सम्यानलाई शुन्यमै आउट गरे । मलेशियाका अनवर रहमानले ३३ रन बनाए । अरु सबैले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपालका लागि ३९ रन बनाउनुकासाथै कुशल कप्तानी गरेका राजु रिजाल ‘म्यान अफ दी म्याच’ भए ।
नेपालले २८ कात्तिकमा अफगानिस्तानको सामना गर्नेछ ।
————————————————————————————————————————————————
नेपालद्वारा मलेशियालाई ११६ रनको लक्ष्य
एसीसी यु–१९ प्रिमियर लिगमा नेपालले मलेशियालाई सामान्य लक्ष्य दिएको छ ।
एसीसी यु–१९ प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेशियाको सामना गरिरहेको छ । कबुतेमा चलिरहेको खेलमा नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनायो । लगातार दुई खेलमा शानदार जीत निकालेको नेपालले मलेशियाविरुद्ध भने सामान्य प्रदर्शन गरेको हो ।
नेपाली कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए । सुनिल रिजाल १९, प्रेम तामाङ १९, दीपेन्द्रसिंह ऐरी १२ र योगेन्द्रसिंह कार्कीले ११ रन जोडे ।
सन्दीप सुनार ५, सौरभ खनाल ३ र शंकर राना २ रन बनाएर आउट भए । आरिफ शेख, सुशील कँडेल र अर्जुन चापागाईँले खाता नै खोल्न पाएनन् ।
यसअघि २४ कात्तिकमा कुबेतलाई २६२ रनले जितेको नेपालले २३ कात्तिकमा साउदी अरेबियालाई १९५ रनले हराएको थियो ।
जारी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा छ । समान दुई जीत निकालेको अफगानिस्तान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ ।
प्रतियोगितामा नेपालसहित साउदी अरेयिबा, कुबेत, अफगानिस्तान, मलेशिया र यूएई सहभागी छन् ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले आईसीसी यु–१९ विश्वकपको विश्वस्तरको छनौट खेल्न पाउनेछन् । शीर्ष चार टोली भने एसीसी यु–१९ एशिया कपका लागि छनौट हुनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
