ब्लगबिहीबार, कार्तिक २७, २०७१
यमपुरी सिन्डिकेट
गृहस्थका अनेकन् लन्ठा झेल्न नसकी खरानी घस्ने कतिपयले हाम्लाई ‘हरेक नकारात्मक परिघटनाको सकारात्मक पहलु हुन्छ’ भनेर जिउने नुस्खा सिकाउँदै आएका छन्। नभन्दै, जे पनि मज्जाले पचाउन सक्ने जब्बर पाचन प्रणालीका कुवेर हामी नेपालीका लागि दिनहुँका ठूल्ठूला सडक दुर्घटना माखो बराबर हुने गरेका छन्।
हुन पनि, बनिबनाउ सिस्टम बिथोल्न खोज्नु सर्वथा अनुचित हो र आफू जानिफकार रहेको काममा थप पारंगत हुँदै जानु उन्नतिको गुरुमन्त्र हो। हाम्रो यातायात व्यवस्थाको विशिष्ट पक्षको रूपमा रहेको दुर्घटनालाई अझ् उन्नत स्वरुपमा बढोत्तरी गर्दै लानुपर्छ। ड्राइभरले आँखा सन्काउँदा, खलाँसी केटो ड्राइभर बनिपल्टँदा, ट्राफिकले ठाउँ–कुठाउँ डिभाइडर ठड्याउँदा, सडक विभागले रोड भत्काउँदा, ढल खानेपानी संस्थानले सडकमाझ् खड्डा बनाउँदा भइरहेका दुर्घटनाहरूको दायरा फराकिलो पार्दा हाम्रो नाम गिनिज बुकमा दर्ज हुन सक्छ।
यस विपरीत सदनमा माननीयहरूले गाँड फुलाएको देख्दा अजंगकै अनहोनी आइलाग्या हो कि भन्ने भान पनि पर्ने गरेको छ। जबकि, पछिल्लो पाँच वर्षको तथ्यांक उल्टाउँदा सडक दुर्घटना संख्या, मृतक, गम्भीर एवम् सामान्य घाइते उन्नाइस–बीसले मात्र ढिकीच्याउँ खेलिरहेको छ। उन्नाइस–बीसको ढिकीच्याउँको अर्थ के हो भने यो धन्दाको गति मन्द नै छ। अनि माननीय–ताननीयहरू किन यत्रो तिकडममा?
मिडियाहरू पनि मौसम हेरी हुन्डरी चलाउन कम माहिर छैनन्। उनीहरूले एकताका तरकारीमा विषादी भन्ने ‘हुदहुद’ ल्याएर धेरैलाई फुको भात हसुर्न हौस्याए। तिनै मिडिया अहिले सडक दुर्घटनाको ‘नीलोफर’ बोकेर दौड्या छन्। अनि, संविधान निर्माणको ‘चित कि पट’ मा मस्तराम हुनुपर्ने माननीयहरू मिडियाको स्यालहुइयाँमा कुदेका छन्, मानौं उनीहरू जनताको असली चिन्तामणि हुन्। उनीहरूलाई लाग्दो हो, पोहोर–परारै यसरी कुकाएको भए यसपालि सडक दुर्घटना हुने नै थिएन। हरे शिव!
माननीयहरू यसरी कुकाउन नछाडेपछि बरा गृहमन्त्री ‘कानूनमा उल्लेख नभएको दुर्घटना गर्न पाइन्न’ भनेर सफाइ दिंदादिंदै दुब्लाइसके। राप्रपा, नेपालले टिपेको सातो अझै फर्काइ नसकेका गृहमन्त्री कडा सुरक्षा घेरामा रहेकाले टाढाबाटै कराएँ, “सरुवा, बढुवा र पदस्थापन त ब्रिफकेस बमोजिम हुन्छ भने दुर्घटना के खाएर कानून बमोजिम हुन्थ्यो मन्त्रीज्यू?”
“के भन्यौ भन्दा खेरी?” गृहमन्त्रीले प्रश्न बुझेनछन्, नबुझी नै गाडी कुदिहाल्यो। उनले काम देखाएको कुरा भने दुर्घटना न्यूनीकरणका लागि ऐन संशोधनका साथै मदिराजन्य पदार्थलाई राजमार्गबाट आधा घन्टाको दूरी वर ढिम्किन नदिने सिफारिश भएको समाचारबाट थाहा भयो। धन्न सरकारले बाङ्गा खुट्टा लाउनेलाई चालक सीटमा निषेध गरेनछ। त्यसमाथि सरकारले यातायात व्यवसायीको सिन्डिकेट तोड्ने जोक दोहोर्यायो।
दिनहुँ दुर्घटना भए’नि सबै पानीमाथि ओभानो अन्तरे भएका छन्। आफूसँग ‘तुर्र’ सिठ्ठी फुकेर कुलमा पाँच सय दाम झ्ार्ने मात्र अख्तियारी रहेको ट्राफिक महानुभावहरूको दुखडा छ। गौंडा ढुकेर गुरुजीहरूसँग खुसुक्क मिलाएको हात बगलीमा घुसार्ने कर्म छाडेर ‘तुर्र’ मात्र पनि राम्रोसँग गरिदिए धेरैको ज्यान जोगिने थियो भन्नेहरूको रोदन आफ्नो ठाममा छँदैछ। चालक अनुमति–पत्रमा सहमतीय सेवा दिने यातायात व्यवस्था विभागलाई केही भन्न मिलेन। पुरातात्विक प्रतीत हुने गाडीमा बेस्कन खादिएर गुन्द्रुक यात्राको लागि तत्पर हुने यात्रुहरू सर्वसाधारण भइहाले, तिनको चोटमा नूनचूक गर्नु महापाप हो। उता बिसौनी पिच्छे बोतलबाजी गरेर गाडी ठोक्काउने गुरुजी बिचरा आफैं ह्याङमा छन्, उनलाई के भन्नु!
यसरी सम्बन्धित सबै साखुल्ले हुने यो यमपुरी सिन्डिकेट उफानमा रहुन्जेलसम्म दुर्घटनाका दोषी आफ्नो ज्यान जोगाउन नसक्ने दिवंगत आत्माहरू नै ठहरिने होलान्। रामनाम जपी यात्रा आरम्भ गरौं। गन्तव्यमा पुगिएछ भने हस्तिनापुरको राज, नत्र यमपुरी सिन्डिकेट जिन्दावाद!
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
