खेलकुदशुक्रबार, कार्तिक २८, २०७१
लम्बे दौडमा मीरा
-स्टेफन हुइट
गाउँघरको भोगाइले नै आफूलाई तालीम दिएको ठान्ने मीरा राई (२३) विश्वस्तरका ‘ट्रेल रनिङ सुपरस्टार’ हुने तरखरमा छिन्।
कारण साधारण छ– नेपाली हिमालयबाट कदम बढाएकी मीराले देशमा भन्दा अघि विदेशमा नाम चम्काएकी छन्। मीरा ‘अल्ट्रा म्याराथन’ को संसारमा निकै अगाडि पुगिसकेको जानकारी काठमाडौंलाई पनि कमै छ।
अझ आश्चर्यको कुरा के छ भने, पहिलो पटक यसै वर्ष अल्ट्रा म्याराथनमा सहभागी भएकी मीराले तीन वटा अन्तर्राष्ट्रिय ‘ट्रेल रेस’ (पहाडी गोरेटोमा लामो दौड) जितिसकेकी छन्।
उनी गत मार्च महीनाको कठोर सिरेटोमा सूतीको टी–सर्ट र ट्राउजर लगाएर एक बोत्तल पानीको भरमा सगरमाथा फेदीको ५० किलोमीटर लामो ‘हिमालयन आउटडोर रेस’ मा सहभागी हुने एक मात्र नेपाली महिला धावक थिइन्।
उनले त्यो ‘रेस’ त जितिनन्, तर रिबन भने छोएरै छाडिन्। त्यही ‘रेस’मा मीराभित्र रहेको ‘एथलेट’ पहिचान गरेको ‘ट्रेल रनिङ नेपाल’ उनलाई तालीमका साथै अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिताको अवसर जुटाइदिन अग्रसर भयो।
“मीराको रुचि अनुसारको दौड प्रतियोगिताहरूमा सहभागिताको प्रबन्ध र त्यसका लागि आवश्यक रकमको जोहो गर्नु हाम्रा लागि चुनौतीको कुरा थियो”, ट्रेल रनिङ नेपालका रिचर्ड बुल भन्छन्, “र पनि, उनका लागि तालीमसँगै बाँकी प्रबन्धहरू गर्न सक्यौं।”
मीराले ‘हिमालयन आउटडोर रेस’ पछि गएको वर्षामा आयोजित ‘मुस्ताङ ट्रेल रेस’ सहजै जितिन्।
सानै उमेरमा विद्यालय छाडेकी उनी जन्मेहुर्केको गाउँको परिवेशले थाहै नपाई आफूलाई ‘ट्रेल रेस’ को लागि तयार पारेको बताउँछिन्।
बालबच्चालाई विद्यालय शिक्षा पूरा गराउन नसक्ने आर्थिक अवस्था भएको घरमा जन्मेकी उनी सानैदेखि दौंतरीहरूसँग सुनसरीको चतराबाट २८ केजीसम्मको भारी खेप्थिन्।
मीराका अनुसार, त्यो खालको दैनिकी उनका लागि ‘ट्रेल रेस’ को पूर्वतयारी सावित भयो। “धेरैलाई मेरो बाल्यकाल र किशोरकाल कठोर जस्तो लाग्छ, तर मलाई त त्यो राम्रो तालीम थियो जस्तो लाग्छ”, उनी हाँस्छिन्।
नभन्दै, उनले गत सेप्टेम्बरमा इटालीको ‘सेल्लारोण्डा ट्रेल रेस’ (५७ किमी) र ‘ट्रेल डेगी एरोइ’ (८३ किमी) जितिन्, त्यो पनि जम्मा दुई हप्ताको फरकमा।
“खानेकुराको जोहोमा उकाली–ओराली धाउनु सामान्य ठानिने दुर्गम गाउँमा म हुर्किएँ”, हँसिली मीराले हिमाल सँग भनिन्, “त्यसैले, ट्रेल रनिङ मेरा लागि गाउँघरमा भए जस्तै हो।”
यूरोपमा रहँदा उनले विश्वकै कठिन र सर्वाधिक साहसिक मानिने ‘नर्थ फेस अल्ट्रा–ट्रेल डु मो ब्लाँ’ मा सहभागी अन्तर्राष्ट्रिय पेशेवर धावकहरूको कौशल नियाल्ने मौका पाइन्। तीमध्ये पनि अमेरिकाकी रोरी बोसियोको दौड हेरेर आफूले गर्नुपर्ने सुधारका पक्षमा विचार गर्न पाएको उनले बताइन्।
मीरा गत महीना हङकङमा आयोजित ‘एमएसआईजी एचके ५० रेस’ मा पनि सबैको आकर्षणको केन्द्र बनिन्। पाँच घण्टा ३० मिनेट ३२ सेकेन्डमा रेस पूरा गरेकी उनी महिलातर्फ प्रथम र समूहमा पाँचौं भइन्।
उनी यो डिसेम्बरमा पनि ‘एमएसआईजी लान्टाउ ५०’ मा सहभागी हुन हङकङ जाँदैछिन्। उनी दौडमा मात्रै सीमित छैनन्, करातेको पनि राम्रो खेलाडी हुँदैछिन्।
वाल क्लाइम्बिङमा त उनले सिकेको ६ महीनामै प्रतियोगिताहरू जित्न थालेकी थिइन्। काठमाडौंको ‘एस्ट्रेक क्लाइम्बिङ वाल’ का संचालक निरज कार्की भन्छन्, “मीरा कुनै पनि खेलमा सजिलै जम्न सक्ने जन्मजात प्रतिभा भएकी खेलाडी हुन्।”
आफ्नो भूमिकालाई ‘रोल मोडल’ बनाउन चाहने मीरा आफूलाई सपना देख्न प्रेरित गर्ने आमाबाबुप्रति आभारी छिन्।
“हाम्रो समाजमा केटीहरूलाई चूप लाग्न र सन्तुष्ट रहन सिकाइन्छ,” उनी भन्छिन्, “तर उनीहरूले आफ्नो भाग्य आफ्नै हातले निर्धारण गर्नुपर्छ, जो मेरा बाबुआमाले सिकाउनुभयो।”
आफू जस्तै अरु महिलाहरूलाई सहयोग गर्ने चाहना राखेकी मीरा अझै राम्रो गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिलाको प्रतिष्ठा बढाउन चाहन्छिन्।
छोटो समयमै विश्वस्तरका प्रतियोगिताहरूमा उपलब्धि हासिल गरिसकेकी मीरा भन्छिन्, “मेरो परिवारका कोही नपुगेका ठाउँहरूमा पुगेकी छु, त्यसैले म खुशी र उत्साहित हुनैपर्छ।”