खेलकुदशनिबार, कार्तिक २९, २०७१
गल्फ गुरु बाबु छोरा
धरानमा ब्रिटिश क्याम्प हुँदा रिठ्ठे (५६) गोरा गल्फरहरूको बल टिप्ने क्यारी ब्वाई थिए। त्यसरी गल्फ सिकेर व्यावसायिक गल्फर बनेका धरान–१९ का उनी सन् १९८९ मा गोकर्ण गल्फ कोर्सको प्रशिक्षकको रूपमा काठमाडौं भित्रिए अनि त्यसको एक वर्षमा यूरोप।
अहिले जर्मनीको गालेन्सस्थित एफोर्ट क्लबमा प्रशिक्षक रहेका उनी जर्मनहरूलाई गल्फ सिकाइरहेका छन्।
बुबाको पछिपछि व्यावसायिक खेलाडी बनेका सविन (३४) पनि जर्मनीकै डेसड्रनस्थित थ्रेस्टेन एल्फ गल्फ क्लबमा प्रशिक्षक छन्।
२००१ मा जर्मनी आएका सविनले शुरूका आठ वर्ष थे्रष्टेन एल्फ फ्लोरेन्स डेसड्रनमा बाबुसँगै काम गरेका थिए।
अबको सात वर्षमा अवकाश लिने योजनामा रहेका रिठ्ठेले गल्फ सिकाएका अनगिन्ती जर्मन अहिले व्यावसायिक खेलाडी र प्रशिक्षक छन्।
उनले ‘मातृभूमिप्रति विश्वासघात नहोस्’ भनेर नेपाली नागरिकता त्यागेका छैनन्।
नेपाली पासपोर्ट बोकेर हिंड्दा देशको डोरीमा बाँधिएको अनुभूति गर्ने उनी ६५ वर्षको उमेरमा पेन्सन पकाएर नेपाल फर्किन र गल्फमै सक्रिय हुन चाहन्छन्।
२४ वर्षमा जर्मनीका चार वटा गल्फ क्लबमा प्रशिक्षक रहिसकेका रिठ्ठे भन्छन्, “दैनिक ६ घण्टा गल्फ कोर्समा बित्छ, धरानदेखि यहाँसम्मको यात्रा सम्झँदा सपना जस्तो लाग्छ।”
सविन पनि बुबा झै रिटायर्ड भएपछि नेपाल फर्केर देशमै केही गर्न चाहन्छन्।
अहिले पनि उनी बेला–बेला नेपाल जाँदा धरानमा बालबालिकाका लागि गल्फ क्याम्प चलाउँछन्।
सन् २००६ को हिमालयन ब्याङ्क कप च्याम्पियनशीप र २००९ को सूर्य नेपाल इस्टर्न ओपनमा प्रथम भएका उनी नेपालका पाँच वटा राष्ट्रिय प्रतियोगिताका दोस्रा हुन्।
आगामी जनवरीमा भारतको बैङ्गलोरमा हुने अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी हुने तयारीमा रहेका सविन भन्छन्, “त्यसमा छनोट भएपछि ठूला प्रतियोगिताहरूको बाटो खुल्छ।”
डम्बरकृष्ण श्रेष्ठ, जर्मनीमा