खेलकुदबुधबार, आश्विन २४, २०६९
नेपाल एसीसी ट्रफी एलिट क्रिकेटको फाइनलमा
रामेश्वर बोहरा
नेपाल एसीसी ट्रफीको फाइनलमा पुगेको यो तेस्रोपटक हो । तर, नेपालले अहिलेसम्म उपविजेतामै चित्त बुझाउनु परेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको २४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाले नौ विकेट नोक्सानीमा २२० रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
अमृत भट्टराइले ११ रनको स्थितिमा मलेसियाको पहिलो विकेट लिएपनि आफ्नो चौंथो ओभर बलिङ गर्ने क्रममा भट्टराई घाइते भएर मैदान बाहिर निस्केपछि नेपालको बलिङ कमजोर देखिएको थियो । तर दोस्रो विकेटका लागि भएको ६० रनको साझेदारी तोड्दै भुवन कार्कीले फैजल हसनलाई बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो । नेपालका पृथु बाँस्कोटाले ३, शक्ति गौचनले दुइ तथा अमृत भट्टराई, पारस खड्का, बसन्त रेग्मी र भुवन कार्कीले एक एक विकेट बाँडे । मलेसियाका सुहान कुमारले ४३, सफिक सरिफले ४२ तथा फैजल हसनले ३३ रन बनाए ।
यसअघि नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८९ रन जोडे । ९६ बलमा १० चौका र १ छक्का प्रहार गरेका पारस प्रतियोगितामा आफ्नो दोस्रो शतक बनाउनबाट ११ रनले चुके । २१ रनमा दुइ विकेट गुमाएको नेपाली इनिङलाई कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए । पारस र ज्ञानेन्द्रले तेस्रो विकेटका लागि १ सय १२ रनको ठोस साझेदारी गरे । रनआउट भएका मल्लले ३४ रन जोडे । त्यसैगरी पृथु बास्कोटाले ३४ र प्रदीप ऐरीले ११ रन जोडे । मलेसियाका नाज्रिल रहमानले ४ विकेट लिए ।
आयोजक युएई नेपालको उपाधि जित्ने आशामा तगारो बन्न सक्ने बलियो प्रतिद्धन्द्धी हो । यद्यपि, समूह चरणको खेलमा युएईलाई पराजित गरिसकेको नेपाली टिम फाइनलमा ऊसँग खेल्दा पहिलेभन्दा उच्च मनोबलमा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
