रिपोर्टबिहीबार, मंसिर ४, २०७१

सडक दुर्घटना: दोषीहरुको कृपा !

हिमालखबर

– सन्त गाहा मगर

सरस्वतीनगर–२, डोटीका सौगात ओझाले काखमा रमाइरहेकी छोरी र gggसँगै बसेकी आमालाई क्षणभरमै गुमाए। २० असोजमा कैलालीको उर्मास्थित ससुराली जाँदै गर्दा डोटीको छतिवन–५ मा भएको बस दुर्घटनामा उनकी ६२ वर्षीय आमा र आठ वर्षकी छोरीको ज्यान गयो।

सौगात र उनकी श्रीमती भागीरथीको टाउकोमा लागेको चोट अझै निको भएको छैन। ३० जना मारिएको त्यो बीभत्स दुर्घटनामा ओझा दम्पतीकी अर्की छोरी अनिता र भान्जी कृष्णासहित ५९ जना घाइते भएका थिए।

पछिल्लो एक दशकको तथ्यांक हेर्दा यस्ता सवारी दुर्घटनामा दैनिक ६ जनाको ज्यान जाने गरेको देखिन्छ। अंगभंग हुनेको संख्या त्यसको दोब्बर छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत १० वर्षमा सवारी दुर्घटनाबाट २० हजारभन्दा बढी नेपालीले ज्यान गुमाइसकेका छन्।

नियन्त्रणको प्रयास चाहिं कस्तो छ भने, डोटीमा बस दुर्घटनापछि प्रधानमन्त्री सुशील कोइरालाबाट आएको वक्तव्य, वक्तव्य सिवाय केही नभएको कुरा छानबीन गर्न बनेको समितिको संरचनाले छर्लङ्ग पार्‍यो, जसमा पीडित यात्रुका पक्षमा बोल्ने स्वतन्त्र विज्ञहरू राखिएन।

डोटीमा बस दुर्घटनाको छानबीन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको समितिमा सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधि मात्र थिए। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्दप्रसाद भट्टराई जो सबभन्दा बढी जिम्मेवार छ उसैलाई राखेर बनाइएको छानबीन समितिले पीडितको भलो नगर्ने बताउँछन्। “हरेक वर्ष अकालमा ज्यान गुमाउनेहरूको संख्या बढ्नुको मुख्य कारण यही हो”, भट्टराई भन्छन्, “पीडकै–पीडक राखेर बनेको समितिले समाधान होइन थप पीडा बढाउँछ।”

पानीमाथि ओभानो

ट्राफिक इन्जिनियर आशिष गजुरेलका अनुसार, सडकको गुणस्तर, सवारी साधनको अवस्था, अनुगमनकारी निकायको भूमिका र चालकको सीप तथा धारणा सडक दुर्घटनाका प्रमुख जिम्मेवार पक्ष हुन्। यी चारमध्ये एक पक्षले आफ्नो दायित्व पूरा नगर्दा पनि दुर्घटना हुन्छ। तर, नेपालमा दुर्घटनापछि पनि यिनै पक्ष सम्बद्धहरूलाई सरकारी खर्चका साथ प्रतिवेदन बनाउन दिने गरिएको छ। यस्तो अवसर पाउँदा उनीहरू समस्याको वस्तुपरक समाधान खोज्ने होइन, आफू जिम्मेवारीबाट पन्छिंदै अरूमाथि दोष थोपर्न उद्यत हुने गरेका छन्।

ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केशव अधिकारी ८९ प्रतिशत सवारी दुर्घटना चालकको कारण हुने बताउँछन्। उनका अनुसार, बाँकी दुर्घटना पैदल यात्रु, मौसम, जनावर आदि र सडक तथा सवारी साधनको अवस्थाको कारण हुन्छ।

सडक दुर्घटना रोकथाम र न्यूनीकरणको जिम्मेवारी पाएको ट्राफिक प्रहरी यसमा आफ्नो भूमिका भने कहिल्यै स्वीकार्दैन, डीआईजी केशव अधिकारीले पनि स्वीकारेनन्। २० कात्तिकमा सर्लाहीको नवलपुरस्थित ट्राफिक प्रहरीले क्षमता भन्दा बढी भार बोकेको भनेर जरिवाना तिराएर (भार कम नगराई) छाडेको ट्रक मकवानपुरको चुरियामाई पुगेर पल्टिँदा ६ जनाको ज्यान गएको थियो।

यातायात व्यवस्थापन सम्बन्धी नीतिनियम बन्दा ट्राफिक प्रहरीकै दृष्टिकोण बढी प्रभावी हुन्छ। नेपाल स्वतन्त्र मजदूर संगठनका अध्यक्ष राजीव घिमिरे सञ्चारमाध्यमले पनि ट्राफिक प्रहरीको एकतर्फी भनाइलाई नै आधिकारिक धारणाको रूपमा प्रकाशित/प्रसारित गर्दा सडक दुर्घटनाको वास्तविक कारणलाई ओझेलमा पारेको बताउँछन्। “सवारी चालकहरू पनि ट्राफिक प्रहरी जति नै पढेलेखेका र प्रभावशाली हुन्थे भने प्रत्येक दुर्घटनामा चालकलाई दोषी देखाउने काम कम हुन्थ्यो होला”, घिमिरे भन्छन्, “मरिसकेको पाइलटमाथि विमान दुर्घटनाको दोष थोपरेर बाँकी सबै पानी माथि ओभानो बनेजस्तै चलन छ, सडक दुर्घटनामा पनि।”

दुर्घटनामा चालकको प्रत्यक्ष संलग्नता हुन्छ नै। चालककै कारणले दुर्घटना भएका पनि छन्। १५ कात्तिकमा हेटौंडा–नारायणगढ खण्डमा दुई यात्रुवाहक बस ठोक्किनुमा चालक नै मुख्य दोषी देखियो। काठमाडौंबाट विराटनगर गइरहेको शुभश्री यातायातका बस चालक रोशन तामाङले मालिकको रीसले ठोक्काएको प्रहरीको निष्कर्ष छ। २७ असोजमा काठमाडौंको बबरमहलमा तीन जनाको ज्यान लिएको दुर्घटनाका चालकले मदिरा सेवन गरेर अत्यधिक गतिमा बस हाँकेका थिए।

मनोविश्लेषक शिशिर सुब्बा थकान, तनाव, भोकभोकै वा नसालु पदार्थ सेवन गरेको अवस्थामा चालक आफैं असन्तुलित हुने बताउँछन्। चालक नै असन्तुलित भएपछि मापदण्ड नपुगेको सडकमा थोत्रा सवारी साधनको दुर्घटना अवश्यंभावी बन्छ। स्टेयरिङ समात्नुअघि चालकको मनोविज्ञान कस्तो छ भन्ने बुझने संयन्त्र आवश्यक भइसकेको बताउँदै सुब्बा भन्छन्, “कसैसँग झ्गडा परेका, मादक पदार्थ सेवन गरेका वा कामले थकित चालकलाई गाडी हाँक्न दिएपछि दुर्घटना हुँदा होइन, नहुँदा चाहिं अचम्म मान्नुपर्छ।”

अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग ट्रायल नै नदिई लाइसेन्स पाइने, स्वास्थ्य परीक्षण नगराई लाइसेन्स नवीकरण हुने वा जतिसुकै मान्छे मरे पनि सजाय भोग्नु नपर्ने भएर नेपालको सडकमा अराजकता आएको बताउँछन्। उनी दुर्घटना गराउँछु भनेरै सवारी हाँक्नेहरूलाई अपराध कर्म अन्तर्गत कारबाही गरिनुपर्ने बताउँछन्। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सर्वस्वहरणसहित जन्मकैदको प्रावधान पनि छ, (हे. बक्स) तर ज्यानै लिने गरी दुर्घटना गराउने चालकलाई यातायात व्यवसायीहरूको संगठनले केही हजार तिरेर सजिलै उन्मुक्ति दिने गरेका छन्।

नासाका महासचिव भट्टराई भन्छन्, “तिनै यातायात व्यवसायी हुन्, जो चालकलाई गाडीको क्षमता भन्दा बढी यात्रु राख्न लगाउँछन्, गाडी मर्मत गर्दैनन्, जतिसुकै लामो यात्रामा पनि दुई जना चालक राख्दैनन्, पैसाका लागि जतिसुकै खतरनाक बाटोमा पनि गाडी चलाउन लगाउँछन् र दुर्घटना भएपछि छानबीन समितिमा बसेर दुनियाँलाई उपदेश दिन्छन्।”

सुव्यवस्थित यातायातको लागि सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आवश्यक निर्देशन दिने, सार्वजनिक यातायात सञ्चालनको लागि सडक निर्धारण गर्ने र त्यस सम्बन्धी सूचना सर्वसाधारणमा प्रवाह गर्ने सर्वशक्तिमान निकाय यातायात व्यवस्था विभाग हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११८ ले विभागलाई ‘सार्वजनिक सुरक्षा तथा सर्वसाधारणको भलाइको निमित्त कुनै सार्वजनिक स्थानमा कुनै सवारी चलाउनमा प्रतिबन्ध लगाउन सक्ने’ अधिकार पनि दिएको छ। विभागले यही अधिकार प्रयोग गरेको भए डोटीमा दुर्घटना हुने थिएन।

कच्ची मात्रै होइन, पीच सडकको पनि चौडाइ, उकालोको झुकाव, बार, घुम्ती, सडक पेटी, साइकल लेन, संकेत, भिजिबिलिटी नहुनुलाई पनि दुर्घटनाको प्रमुख कारण मान्ने ट्राफिक इन्जिनियर आशिष गजुरेल नेपालका अधिकांश सडक घुम्तीमा जम्काभेट भएपछि मात्रै अर्को गाडी देखिने अवस्थामा रहेको बताउँछन्। तर, यस्तो सडकलाई दुर्घटनाको कारण मान्दैनन्, सडक विभागका अधिकारीहरू। उनीहरू पनि दुर्घटनापछि छानबीन समितिमा बसेर अन्य निकायलाई दोषी देखाउनमै उद्यत हुन्छन्।

ट्राफिक इन्जिनियर गजुरेल दुर्घटना न्यूनीकरणका लागि सबभन्दा पहिला देशभरको सडकको म्यापिङ गरेर दोस्रोमा मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी लगायतका नियमनकारी निकायले पानीमाथि ओभानो हुने दुष्प्रयास छाडेर एकीकृत रूपमा काम गर्नुपर्ने बताउँछन्। “यसका लागि स्वतन्त्र बोर्ड आवश्यक पर्छ भने त्यो पनि बनाउनुपर्छ”, गजुरेल भन्छन्।

साथमा टेकेन्द्र देउवा, डोटी.

ज्यान मरेमा हुने सजाय

१. कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे/बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुनेछ। कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ।

२. कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे/बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।

३. कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे/बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

४. चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ। तर सर्वस्वसहित जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन।

५. कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागी वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...