टिप्पणीबिहीबार, मंसिर ४, २०७१

गर्भावस्थाको रक्तअल्पता

डा. सुमनराज ताम्राकार

हालैको एक अध्ययनले महिला स्वास्थ्य स्वयंसेविका सँगै विभिन्न स्वास्थ्य निकायबाट गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गर्न थालिएबाट रक्तअल्पताकै कारणले हुने मातृ मृत्युदरमा कमी आएको देखाए पनि आइरन (लौह तत्व) को कमी वा जुकाको संक्रमणबाट गर्भावस्थामा हुने रक्तअल्पताको समस्या कम भएको छैन। वयस्क मानिसको हाडभित्रको रक्तमासीमा रगत बन्ने प्रक्रियामा आइरन, कपर, कोबाल्ट, भिटामिन बी १२, फोलिक एसिड, भिटामिन सी र प्रोटिन चाहिन्छ। रातो रक्तकोषको विकासक्रममा आरएनए र डीएनए बन्न ‘भिटामिन बी १२’ को जरुरत पर्छ भने डीएनए बन्न फोलिक एसिड चाहिन्छ।

कुपोषण, गलत खालको खाने तौरतरीका, आन्द्राको सोस्ने प्रक्रियामा गडबडी, पसिनाबाट हुने आइरनको क्षति, पटक पटकको गर्भ, महीनावारीको बेला बढी रगत जाने समस्यामा उपचार अभाव, अंकुशे जुका र जीर्ण प्रकारका संक्रमणको कारणले नेपाल लगायतका विकासोन्मुख देशका निम्न आयस्तरका जनतालाई त्यसै पनि रक्तअल्पता हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, महिलाको शरीर (रगत) मा हेमोग्लोबिनको मात्रा ११ ग्राम (प्रतिशत) भन्दा कम भयो भने रक्तअल्पता भएको मानिन्छ।

गर्भकालमा त्यसै पनि रगत पातलिन्छ, जुन गर्भावस्थाको ३२ हप्तातिर बढी हुन्छ। गर्भावस्थाको कुनै पनि बेला हेमोग्लोबिनको मात्रा ९ ग्राम (प्रतिशत) भन्दा कम भयो भने रक्तअल्पताको कारण खुट्याउन परीक्षण नै गराउनुपर्छ। ७ ग्राम (प्रतिशत) भन्दा कमलाई त रक्तअल्पताको गम्भीर अवस्था मानिन्छ। यो किन पनि गम्भीर अवस्था हुन्छ भने, तेस्रो विश्वमा मातृ मृत्युको २० प्रतिशत कारक रक्तअल्पता नै हो।

गर्भवती महिलामा मुख्य रूपमा आइरन, फोलिक एसिड, ‘भिटामिन बी १२’ र प्रोटिन नपुगेर नै रक्तअल्पता हुन्छ। त्यस बाहेक एक्कासी गर्भ तुहिंदा, व्यथा नलाग्दै साल छुट्टिंदा र अंकुशे जुकाको संक्रमणबाट रगत खेर गएर पनि रक्तअल्पता हुन्छ। गर्भवती महिलामा वंशाणुगत रूपमा थालासेमिया जस्तो रक्त समस्या हुँदा, रेडियो विकिरण तथा औषधिका कारण रक्तमासी क्षय हुँदा र औलो, क्षयरोग संक्रमण तथा मिर्गौलाको ट्युमर हुँदा पनि रक्तअल्पता हुन सक्छ।

गर्भधारणअघि नै पनि रक्तअल्पता हुन सक्छ। त्यसमाथि, बढी आइरन चाहिने गर्भावस्थामा खाना कम खाने, खानै नपाउने, वाक्वाकी एवं उल्टी आउने समस्याले रगत बन्ने प्रक्रिया घटाएर समस्यालाई झ्न् जटिल बनाउँछ। गर्भमा जुम्ल्याहा बच्चा भएका, दुई वर्षभन्दा कम समयको अन्तरमा बच्चा पाउन लागेका र कम उमेरमा गर्भधारण गरेका महिला बढी रक्तअल्पताको जोखिममा हुन्छन्।

आलस्य हुने, खान अरुचि हुने, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, खुट्टा सुन्निने, आँखा पहेंलिने आदि आइरनको कमी वा रक्तअल्पताका लक्षण हुन्। रक्त परीक्षणको क्रममा रातो रक्तकणको आकार प्रकारबाट रक्तअल्पताको कारण खुट्याउन सकिन्छ। अन्य कारण खुट्याउन दिसा–पिसाबको जाँच पनि गर्नुपर्छ। गर्भावस्थाको रक्तअल्पताले बेहोश हुने, मुटु फेल हुने, महीना नपुग्दै व्यथा लाग्ने, अधिक रक्तस्राव जस्ता परिणाम निम्त्याउन सक्छ। यथेष्ट हेमोग्लोबिन नभएकी गर्भवतीले सुत्केरीमा खेर जाने रगतको खती थेग्न सक्दैनन्। रक्तअल्पता भएकी आमाको गर्भमै शिशुको पनि मृत्यु हुन सक्छ।

समयमै रक्तअल्पताको समस्या पत्ता लागे निको पार्न गाह्रो छैन। यसको लागि आइरन चक्की बाहेक कलेजो, मासु, अण्डा, सागपात, गेडागुडी, गहुँका परिकार खानुपर्छ। आइरन चक्की खानु एक घण्टा अगाडि चिया खानुहुँदैन। फलामको भाँडामा पकाएको खानेकुरामा धेरै आइरन हुन्छ। चौलानी पनि आइरनको राम्रो स्रोत हो। त्यसबाहेक गर्भावस्थाको ३२ र ३६ हप्तामा हेमोग्लोबिनको परीक्षण गर्नुपर्छ।

आइरन चक्की खान नसक्ने वा गर्भावस्थाको ८ देखि १० हप्तामै गम्भीर खालको रक्तअल्पता देखिएका महिलालाई सुईबाट आइरन दिनुपर्छ। सुत्केरीलगत्तै अधिक रक्तस्राव भएमा, ३६ हप्तापछि गम्भीर खालको रक्तअल्पता देखिएमा, आइरन चक्की वा सुईबाट दिइएको आइरनबाट सुधार नहुँदा वा संक्रमण पनि भएमा रगत नै दिनुपर्ने हुन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...