रमझमबिहीबार, मंसिर ४, २०७१

‘आऊ उडौं’ (पाँच तस्वीर)

हिमालखबर

टेड अट्किन्स

‘रोयल एअर फोर्स’ मा हुँदा हाम्रा लागि प्यारासूटले ‘सुरक्षा उपकरण’ को काम गर्थ्यो। विमानमा गडबडी आयो भने प्यारासूट नै बाँच्ने अन्तिम उपाय हुन्थ्यो। अचेल त राम्रैसँग उडिरहेको विमानबाट पनि मानिसहरु हामफाल्न थालेका छन्– रमाइलोका लागि।

जीवित रहन पनि मानिसले केही जोखिम त लिनै पर्छ, तर बढी जीवन्त अनुभव गर्नका लागि बढी जोखिम मोल्नुपर्छ। जोखिम विना उपलब्धि हुँदैन भन्ने यो भनाइ स्काईडाइभिङ गर्दा मात्रै होइन जीवनका हरेक क्षेत्रमा लागू हुन्छ।

स्काईडाइभिङ गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र टेण्डम मास्टर टम नुनानसँगै। तस्वीरहरुः पाउल हेनरी डी बाएरे

स्काईडाइभिङ गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र टेण्डम मास्टर टम नुनानसँगै। तस्वीरहरुः पाउल हेनरी डी बाएरे

जीवनमा थुप्रै जोखिमपूर्ण काम गरेको मलाई सगरमाथाको चुचुरोमा उभिंदाको जस्तो जीवन्त अरु कुनै क्षण होला जस्तो लागेको थिएन। तर, अहिले लाग्छ– हिमालमाथि ८ हजार ५०० मीटरको उँचाइमा पुगेको हेलिकप्टरबाट विस्तारै चिप्लँदै गर्दाको जस्तो अरु कुनै क्षण हुँदैन। भय, उद्वेग र सबै इन्द्रियहरु सक्रिय भएको त्यो क्षण म सधैं अनुभूत गरिरहन चाहन्छु।

‘आऊ उडौं’

यो महँगो र अति रोमाञ्चक अनुभूति नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि गरे, गत साता व्यावसायिक स्काईडाइभर र टेन्डम मास्टर रहेका मेरा साथी टम नुनानसँगै हेलिकप्टरबाट हामफालेर।

रोमाञ्चक व्यावसायिक योजना

पोखरा र सोलुखुम्बुमा परीक्षण गरिएको स्काईडाइभिङ नेपालका लागि निकै संभावना बोकेको रोमाञ्चक व्यवसाय हो। प्यारासूटको आविष्कारपछि प्यारासूटिङले रोमाञ्चक खेलको रुप लिएको हो। पहिले निकै ठूलो हुने गरेको यो सूट अहिले निकै सानो भएको छ। प्यारासूटिङ सामान्य भइसकेपछि अझ रमाइलोका लागि मानिसहरु विमानबाट ‘फ्री फल’ गर्न थाले, जसमा हामफालेको केही बेरपछि मात्रै प्यारासूट खुल्छ। त्यो पनि पर्याप्त नरहेपछि मानिसहरुले विङसूट बाट हामफाल्न थालेका छन्।

पोखराको आकाशमाथि स्काईडाइभिङ ।

पोखराको आकाशमाथि स्काईडाइभिङ ।

एक दिन यसलाई पनि पर्याप्त नमानिएला, तर अहिलेलाई यो नै वास्तविक उडान हो। लामो उडानका लागि धेरै उँचाइमा पुग्नुपर्छ। र, उँचाइमा उड्नका लागि संसारमा नेपालभन्दा उपयुक्त देश अर्को छैन। संसारमा सगरमाथा एउटा मात्रै भएकोले यो देवशिखरको छेउछेवै उड्न तपाईं नेपालमै हुनुपर्छ।

सोलुखुम्बुमा स्काईडाइभिङ ।

सोलुखुम्बुमा स्काईडाइभिङ ।

सगरमाथामा स्काईडाइभिङको संभावना देखेर यस्तो ‘एक्सटि्रम एडभेन्चर’ का लागि पर्यटकलाई नेपाल ल्याउने पहलकदमी एक्सप्लोर हिमालयका सुमन पाण्डेले गरेका छन्। स्काईडाइभिङको स्वाद लिन महानिर्देशक गौतम आफैं पुग्नुले नागरिक उड्डयन प्राधिकरणले पनि नेपालमा यो नयाँ खेलको सम्भावना आकलन गरेको सहजै बुझिन्छ।

‘आऊ उडौं’ यो साता पर्यटकको एउटा अर्को समूह नेपालमा आफ्नो उपलब्धिप्रति रोमाञ्चित हुँदै घर फर्कनेछ। नेपालमा खुशी भएर फर्केका पर्यटकहरुले त्यो खुशीका कारणहरु अवश्य पनि अरुलाई सुनाउने छन्। त्यसरी नेपाली पर्यटनको प्रचार हुनेछ। त्यसैले, पर्यटकहरुलाई खुशी पारेर नेपालको छवि उकास्न लगाऔं र त्योसँगै आम्दानी गरौं। कस्तो सजिलो व्यावसायिक योजना!

(अक्सिजन सम्बन्धी उपकरण बनाउने कम्पनी सञ्चालक टेड अट्किन्स बेलायतको रोयल एअरफोर्सका पूर्व इन्जिनियर हुन्।)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>