रमझमबिहीबार, मंसिर ११, २०७१
पेन्टिङमा पहिचान
त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा २०५८ सालको स्नातक ‘टपर’ अर्जुन गत एक दशकमा व्यावसायिक कलाकारको रुपमा मज्जैले जमेका छन्। स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङमा लागेका उनी अहिले आदिवासी/जनजातिको आवाजलाई क्यान्भासमा उतारिरहेका छन्। “मलाई नेपालका सीमान्तकृतहरूको सौन्दर्यशास्त्रले छोएको छ”, अर्जुन भन्छन्, “त्यसलाई मूलधारमा ल्याउन पेन्टिङलाई माध्यम बनाएको हुँ।”
त्यही कारण उनको पेन्टिङमा सांस्कृतिक अतिक्रमण तथा परम्परा र आधुनिकताको चेपुवामा परेको आकांक्षाहरूले आकार लिएका छन्। तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोले। त्यसपछि काठमाडौंको बौद्धमा ग्यालरी चलाए। गुजाराका लागि सकेसम्म धेरै पेन्टिङ बेच्ने बाध्यताको समय थियो, त्यो। अहिले भने उनी, सन्देश दिन पेन्टिङ गर्छन्, त्यो पनि किरात ललितकला समाजका महासचिव, किरात–राई लेखक संघका अध्यक्ष र किरात राई प्रज्ञा–परिषद्का परिषद् सदस्यको जिम्मेवारी तथा भोटाहिटीस्थित ललितकला क्याम्पसमा प्राध्यापन गरेर उब्रेको समयमा।
आदिवासी/जनजातिको सौन्दर्यशास्त्र नेपाली मौलिकताभित्रको एउटा विशाल मौलिक कम्पोनेन्ट भएको अर्जुन बताउँछन्। उनका अनुसार, यसले पहिला जनजातीय मौलिकता र त्यसपछि राष्ट्रको मौलिक पहिचान दिन्छ। त्यही कारण, आदिवासी/जनजातिको पहिचान आजको राष्ट्रिय मूलधारको मुद्दा बनेको उनी बताउँछन्। दुई वटा कविता संग्रह (सूर्य निरन्तर डढिरहेछ र गोयाङको सुगन्ध) का सर्जक समेत रहेका अर्जुनका पेन्टिङ अहिले जापान, बेलायत, अमेरिका र चीनमा पनि बिक्री भइरहेका छन्। चित्रहरू बनाएलगत्तै बिक्री भइहाल्ने कारणले यत्रो वर्षमा एउटा पनि एकल प्रदर्शनी गर्न नपाएको उनी बताउँछन्।
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
