टिप्पणीआइतबार, मंसिर १४, २०७१

मोदी अभिव्यक्तिका तरङ्ग

रघु पन्त

मोदी अभिव्यक्तिका तरङ्ग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न साल्टी होटल पुगेका नेपालका पूर्व प्रधानमन्त्री त्रय पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु । तस्वीरः आनन्दराम डंगोल

काठमाडौंमा आयोजित १८औं सार्क सम्मेलन सकिएर दक्षिण एशिया क्षेत्रका राष्ट्र/सरकार प्रमुखहरू आ–आफ्नो देश फर्किसके । सार्कको बेला शहर सिंगार्न सडकका दायाँ–बायाँ रातारात राखिएका गमलाका फूलहरू ओइलाइसके । तीस वर्ष पुगेको सार्क संगठनका उपलब्धि यो सम्मेलनसम्म आइपुग्दा चाहिं केही देखिएनन् ।

तर सम्मेलनको मञ्चमा एकअर्कालाई बेवास्ता गर्दै बसेका र एकापसमा हात मिलाउने सामान्य शिष्टाचार समेत पूरा नगरेका भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको भावभङ्गिमा र ठुस्केका अनुहारसँगै विदा हुने बेलामा हात मिलाइएको प्रसङ्ग सबैभन्दा बढी चर्चित भए । अब त यो कुरा पनि सञ्चारमाध्यमको लागि बासी भइसक्यो । तर भारतीय प्रधानमन्त्रीले नेपालको संविधान निर्माणबारे व्यक्त गरेका धारणाले उत्पन्न गरेको तरङ्ग र त्यसका परिणाम हेर्न बाँकी नै छ ।

सजग नेपाली नै हुने हो

नेपालको कमजोर कूटनीतिक निरन्तरता नसुध्रिएको र भारतको हस्तक्षेपकारी भूमिका पनि नफेरिएको सार्क सम्मेलनको शुरूदेखि नै देखियो । सम्मेलनमा आएका बेला लुम्बिनी, जनकपुर र मुक्तिनाथ जाने नरेन्द्र मोदीको पुरानै इच्छा थियो । उनको त्यो इच्छा सहज र स्वाभाविक रूपमा पूरा हुन दिएर त्यसलाई धार्मिक भ्रमणको रूपमा सम्पन्न गराउन सकिएको भए त्यसले दुवै देशलाई फाइदा पुग्थ्यो ।

तर भारतको बिहार र उत्तरप्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरूले चुनावका बेला बाँडे झैं जनकपुरमा तीन हजार साइकल भारतीय प्रधानमन्त्रीले बाँड्ने चर्चा शुरू गराएर जनकपुर भ्रमणलाई विवादास्पद बनाउने काम भारतीय पक्षबाटै भयो । जानकी मन्दिरको परिसरमा गर्ने भनिएको भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन बाह्रबिघा मैदानमा गर्नुपर्छ भनेर वक्तव्यबाजी गरेर एमाओवादी र मधेशी दलका नेताहरूले वातावरणलाई बिगारे र अन्ततः भ्रमण स्थगित हुनपुग्यो ।

राजधानी बाहिरको मोदीको भ्रमण स्थगित भएर थप विवाद हुन पाएन तर काठमाडौंमा नै दलका नेताहरूसँग भारतीय प्रधानमन्त्रीले व्यक्त गरेका विचारहरू भने विवादरहित हुन सकेनन् । नेपालको संविधान कसरी र कुन प्रक्रियाबाट बनाउने भनेर निर्णय गर्ने सार्वभौमसत्ता सम्पन्न नेपालको संविधानसभाले हो ।

संविधानसभाको मर्यादा, गरिमा, स्वतन्त्रता र निर्णय प्रक्रियामा कुनै प्रकारको नकारात्मक प्रभाव नपरोस् भन्नेमा प्रत्येक मित्रराष्ट्रले विचार गर्नैपर्छ र सबभन्दा बढी भारतीयहरूले ध्यान दिनुपर्छ । तर यसपल्ट भारतीय प्रधानमन्त्रीका अभिव्यक्तिहरूले मर्यादा र स्वतन्त्रताको लक्ष्मणरेखालाई नाघ्न खोजेको अनुभूति नेपाली जनमानसले गर्‍यो । पहिलो भ्रमणबाट नेपाली जनमानसमा आफ्नोबारे सकारात्मक भावना उत्पन्न गरेका भारतीय प्रधानमन्त्रीले सार्क सम्मेलनमा आउँदा त्यो भावनालाई अझ बलियो बनाउनुपथ्र्यो । तर त्यो मौकाबाट मोदी चुके । भारतीय दूतावासले पनि आफ्नो पुरानै ‘कूटनीतिक’ शैलीलाई निरन्तरता दिंदै लाइन लगाएर नेपाली नेताहरूलाई आफ्ना प्रधानमन्त्रीसँग भेटाएर नेपाली राजनीतिमा भारतको हस्तक्षेपकारी नीति जारी नै छ भन्ने सन्देश दिन खोज्यो ।

मोदीको यो भ्रमण द्विपक्षीय थिएन । सार्क सम्मेलनको अवसरमा सदस्य राष्ट्रका सरकार प्रमुखका रूपमा भएको यो भ्रमणलाई क्षेत्रीय विषय र बहुपक्षीय हितमा मात्रै केन्द्रित गर्नुपर्थ्यो । यो बेलामा नेपालको आन्तरिक राजनीतिक विषयमा भारतले चासो दिएको देखिनु भारतकै लागि पनि राम्रो भएन । नेपाल सरकारले पनि यहाँका सबैजसो दलका नेताहरूसँग भेट्ने भारतीय प्रधानमन्त्रीको कार्यक्रम नगर्न सुझाव दिनुपथ्र्यो । भारतीय दूतावासले यस्तो कार्यक्रम मिलाउन चाहेको भए पनि यो उपयुक्त अवसर होइन भन्न सक्नुपर्थ्यो ।

भारतका प्रधानमन्त्री वा नेताहरू आउँदा प्रत्येकजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम र नेपालको राजनीतिमा यसो गर उसो गर, यसो गर्नु हुन्छ/हुँदैन भनेर दिने गरेको सल्लाह आवश्यक छैन भनेर नेपाली नेताहरूले प्रष्ट रूपमा भारतीयहरूलाई भन्न सक्नुपर्छ । भारतका प्रधानमन्त्री, विदेशमन्त्री वा अरू नै कोही नाम चलेका नेता आए पनि नेपालको आन्तरिक राजनीतिक मामलामा चासो राखेर सल्लाह दिने गरेको पाइन्छ । यस्तो तरीका कुनै पनि स्वतन्त्र राष्ट्र र त्यहाँका स्वाभिमानी नेताहरूलाई अस्वीकार्य हुनुपर्ने हो, तर भइरहेको छैन ।

यस्तो विषयमा सजग भएर आफ्नो स्वाभिमान, अडान र गरिमालाई जोगाउने पहिलो दायित्व नेपालका राजनीतिक दलहरूकै हो । त्यसमा पनि नेकपा एमाले, नेपाली कांग्रेस र एनेकपा माओवादीले नै यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने हो, तर सत्तास्वार्थ र पदलोलुपताले गर्दा यी दलका शीर्ष नेताहरू समेत राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा मौन रहँदै आएका छन् । नेपाली राजनीतिको यो अत्यन्त दुःखद् र अँध्यारो पक्ष हो ।

आफूलाई मधेशवादी भन्ने तराईका दलका नेताहरू यसपल्ट पनि भारतीय प्रधानमन्त्रीका सामु आफूलाई नेपालका नेताका रूपमा प्रस्तुत गर्नबाट चुके । दुःखका साथ भन्नुपर्छ अहिले समग्र तराईलाई प्रतिनिधित्व गर्न सक्ने कुनै ‘मधेशी’ नेता नै छैनन् । कुनै पनि स्वाभिमानी तराईको नेता, जो समग्र नेपाल र नेपालीको हितलाई प्रतिनिधित्व गर्छ त्यसलाई आफ्नो नेता मान्न सिङ्गो नेपाल तयार छ । नेपाल र नेपालीको एकता र राष्ट्रिय हितलाई महत्व दिएकै कारण आज डा.रामवरण यादवलाई राष्ट्रपतिको रूपमा आम नेपालीले सम्मान, माया र विश्वास गरेका छन् ।

‘हाम्रो आन्तरिक मामलामा नबोल, हाम्रा समस्या आफैं समाधान गर्छौं’ भन्ने हिम्मत नेपालका नेताहरूले गर्नै पर्छ । देशलाई चाहिएको सहयोग परे मागौंला तर हाम्रो आन्तरिक मामलामा अनावश्यक चासो दिने र दलहरूभित्र समेत खेल्ने प्रयत्न नगर भनेर सबै दलका नेताहरूले भन्न सक्नै पर्छ । हस्तक्षेप निम्त्याउने खालका काम आफू र आफ्नो दलको तर्फबाट नहोस् भनेर चनाखो हुनै पर्छ ।

संविधान निर्माण र मोदी अभिव्यक्ति

भारतीय प्रधानमन्त्रीले नेपालको संविधान निर्माणका सम्बन्धमा दिएका अभिव्यक्तिहरूको पक्ष–विपक्षमा नेपाली दलहरू विभाजित हुन सक्छन् । नरेन्द्र मोदीका भनाइहरूले एमाओवादी र ‘मधेशवादी’ दलका नेताहरूलाई तत्कालका लागि केही उत्साहित बनाए पनि संविधान बनाउने नेपाली जनताद्वारा निर्वाचित संविधानसभाले नै हो भन्ने सबैले बुझ्नुपर्छ । पाहुनाका रूपमा आएका भारतीय प्रधानमन्त्रीका भनाइलाई एक मित्रको पवित्र कामनाका रूपमा नेपालले लिए पनि हाम्रा जटिलता र मतभिन्नताका गाँठा फुकाउने जिम्मेवारी हाम्रै हो ।

कुनै पनि विदेशीले मत विभाजन गर भनेर भन्दैन । सबै मिलेर बनाऊ, एकता होस्, मिलेर गर भनेर नै भन्छन् । यो एउटा स्वाभाविक र औपचारिक भनाइ हो । त्यसैले मोदी अभिव्यक्तिलाई मित्रराष्ट्रको शुभेच्छाको रूपमा लिन सकिन्छ, लिनुपर्छ । भारतीय प्रधानमन्त्रीले ‘सहमतिमै गर’ भनेर भने, त्यसकारण दुईतिहाइले पाइँदैन भनेर कोही नेता र दलहरू भन्दै हिंड्छन् भने तिनलाई विदेशीको दास मात्र भन्न सकिन्छ ।

अहिले संविधानसभामा भइरहेको प्रयत्न सकेसम्म संविधान सहमतिमै बनाउने दिशातर्फ उन्मुख छ । दलहरू आ–आफ्ना अडानलाई केही लचिलो बनाएर भए पनि सहमतिमै संविधान बनाउने प्रयत्न गर्दैछन् । त्यही सहमति खोज्दाखोज्दै पहिलो संविधानसभा एमाओवादी जालझेल र षडयन्त्रमा परेर विघटन भयो । त्यसबेला भइसकेको सहमतिलाई समेत नमानेर संविधानसभालाई असफल बनाउने एमाओवादी र मधेशी दलहरू अहिले आफूहरू विना पनि दुईतिहाइले संविधान बनाउने सम्भावना देखिएपछि आत्तिएर सहमति–सहमति भन्दै कराउन, हठ गर्न र विदेशी गुहार्न थालेका छन् ।

दलहरूले संविधान सकेसम्म सहमतिकै आधारमा बनाउनुपर्छ, तर सहमति जुटेन भने अड्किएर बस्न मिल्दैन । मोदीले भने भन्दैमा आफ्ना अडानहरू छोड्न मिल्दैन । मधेशी दलका नेताहरूले मोदीसमक्ष व्यक्त गरेका कतिपय भनाइहरूले स्वाभिमानी नेपालीको शिर निहुरिएको छ । विदेशको प्रधानमन्त्रीसमक्ष आफूलाई उतैको भक्त देखाएर खान्की लिन पल्केकाहरूले नेपाली जनताको त कुरै छोडिदिऊँ तराईका जनताको समेत प्रतिनिधित्व गर्न सक्दैनन् । संविधानसभा त्यस्ता हठ र घुर्की सामु लत्रनु हुँदैन ।

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई शुभकामना ठान्नुपर्छ । शुभकामना कहिले व्यवहारमा देखिन्छ कहिले वचनमै मात्र सीमित भइदिन्छ । सहमतिमै संविधान बनाउने प्रयत्न संविधानसभाले जारी राख्नुपर्छ, भएन भने असहमतिका बीच प्रक्रियाबाटै भए पनि छिटोभन्दा छिटो संविधान बनाउनै पर्छ । यो बाहेक अर्को विकल्प छैन ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>