अर्थ/बजारआइतबार, मंसिर १४, २०७१

आर्थिक संघको ‘भिजन’

हिमालखबर

रमेश कुमार

समापनपछि सार्क राष्ट्र/सरकार प्रमुखहरु । तस्वीरः बिक्रम राई

समापनपछि सार्क राष्ट्र/सरकार प्रमुखहरु । तस्वीरः बिक्रम राई

१०–११ मंसीरमा काठमाडौंमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनले व्यापार, लगानी, वित्त, ऊर्जा, सुरक्षा, पूर्वाधार, सञ्चार र संस्कृतिमा गहन साझेदारी गर्ने प्रतिबद्धतासहितको ३६ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले क्षेत्रीय आर्थिक विस्तार र समृद्धिको औजार मानिएको दक्षिण एशियाली आर्थिक युनियन (एसएईयू) को पुरानो प्रतिबद्धतालाई फेरि प्राथमिकतामा राखेको छ ।

दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झैता (साफ्टा) को कार्यान्वयन तथा व्यापार सहजीकरणमा जोड दिन सम्मेलनले गरेको प्रतिबद्धता सकारात्मक भएको विज्ञहरू बताउँछन् । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले नयाँ–नयाँ समझदारीभन्दा पुराना समझदारीलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सकारात्मक हुने बताउँछन् । “दक्षिण एशियामा फेरिएको राजनीतिक नेतृत्वको सन्दर्भमा सार्कका प्रतिबद्धताहरू कार्यान्वयनको आशा पलाएको छ”, डा. वाग्ले भन्छन् ।

अर्थशास्त्री डा. शंकर शर्मा आउने दशकलाई पुराना प्रतिबद्धता कार्यान्वयनको दशकको रूपमा विकसित गर्न सम्मेलन प्रस्थानबिन्दु भएको बताउँछन् । डा. शर्माको भनाइमा, अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीले प्रतिबद्धता कार्यान्वयनको दशकका रूपमा विकास गर्ने घोषणा गर्नु र पुराना समझदारी कार्यान्वयनका लागि सदस्य राष्ट्रहरूको प्रतिबद्धता देखिनु यो सम्मेलनको उपलब्धि हो ।

सहजता–असहजता

क्षेत्रीय विकासमा सहकार्य गर्न आर्थिक युनियन (संघ) लाई योजनाबद्ध रूपमा अघि लैजाने भनिए पनि भू–राजनीतिक र आर्थिक कारणहरूले यसलाई तत्काल सम्भव नबनाउने विज्ञहरूको मत छ । योजना आयोगका सदस्य डा. वाग्ले आर्थिक संघको दीर्घकालीन भिजनले सार्कलाई पथप्रदर्शन गर्ने बताउँछन् । यसको पहिलो चरणमा स्वतन्त्र व्यापार क्षेत्रको कार्यान्वयन हुनसक्दा पनि क्षेत्रीय व्यापारले फड्को मार्ने उनको आकलन छ ।

आर्थिक संघको पहिलो चरणमा स्वतन्त्र व्यापार क्षेत्र, दोस्रो चरणमा साझा भन्सार अर्थात् भन्सार संघ, तेस्रो चरणमा साझा बजार एवं पूँजी र श्रमको स्वतन्त्रतासहितको संघ तथा चौथो चरणमा आर्थिक, वित्तीय र सामाजिक साझा नीति हुन्छ । यी चरणहरू पार भएपछि मात्र आर्थिक संघ बन्छ । सार्क सदस्य राष्ट्रबीच सन् २००६ देखि नै पहिलो चरणको स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गतको साफ्टा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

साउथ एशियन वाच अन ट्रेड, इकोनोमिक्स इन्भाइरोन्मेन्ट (सावती) का अर्थशास्त्री डा. पोषराज पाण्डे स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा केही कार्यान्वयनमा आइसकेको र भन्सार दर घटाउने, संवदेनशील वस्तुको सूची छोट्याउने तथा व्यापार अवरोधहरू हटाउने प्रतिबद्धता सम्मेलनले गरेकाले केही समयभित्रै साफ्टाको पूर्ण कार्यान्वयन हुनसक्ने सम्भावना देख्छन् । दोस्रो चरणमा ७–८ वर्षभित्रै साझा भन्सारको अवधारणाको ‘रिजनल ट्रान्जिट एग्रिमेन्ट’ हुन गाह्रो नपर्ने उनको विश्लेषण छ । “अर्को ७–८ वर्षभित्र पूँजी र श्रमको क्षेत्रीय स्वतन्त्रता हुने समझदारी गर्न सकिन्छ”, डा. पाण्डे भन्छन्, “साझ मुद्राको प्रस्ताव तत्काल कार्यान्वयनमा आउन सम्भव नभए पनि वैदेशिक मुद्राको संयुक्त रिजर्भ राख्ने बेला चाहिं आएको छ ।”

सही दिशा

सार्कले तत्काल ईयु जस्तै काम गर्न नसके पनि यो सही दिशातर्फ नै भएको अर्थविद्हरूको भनाइ छ । उनीहरूका अनुसार, यस पटकको सम्मेलनमा सार्क विकास कोषभित्र आर्थिक र पूर्वाधारको विषय पनि प्राथमिकतामा पर्नु उपलब्धि हो । घोषणापत्रले सडक, रेल्वे, विद्युत्, जल, सञ्चार र हवाई कनेक्टिभिटीका पूर्वाधारलाई प्राथमिकता दिंदै विकास कोषअन्तर्गत राखेको छ ।

सम्मेलनले सार्क फ्रेमवर्क एग्रिमेन्ट अन रिजनल इनर्जी को–अपरेसन (इलेक्ट्रिसिटी) मा सम्झौता गरेको छ भने सार्क मोटर भेहिकल्स र सार्क क्षेत्रीय रेल्वे सम्झौता टुंग्याउन तीन महीनाभित्र सदस्य राष्ट्रका यातायात मन्त्रीको बैठक राख्ने निर्णय गरेको छ । यस्ता सम्झौताले कनेक्टिभिटीको अवरोध हटाएर ‘रिजनल ट्रान्जिट एग्रिमेन्ट’ को बाटो खोल्ने डा. पाण्डेको मत छ ।

मस्यौदा बन्न थालेको लामो समयपछि हस्ताक्षर भएको इलेक्ट्रिसिटी सम्झौताबाट विद्युत् उत्पादन, प्रसारण र व्यापार सहजीकरणको साझा प्रतिबद्धता आएको ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी बताउँछन् । विद्युत् बजार सिर्जना गर्ने हुनाले नेपाल र भूटानले बढी लाभ लिनसक्ने यो सम्झैताले सार्क क्षेत्रीयस्तरको प्रसारण लाइन र ग्रिड निर्माणको दिशामा समेत बाटो खोल्छ । “यो छाता सम्झौताले क्षेत्रीय विद्युत् व्यापार तथा बजार विस्तारमा ठूलो भूमिका खेल्छ”, सहसचिव अधिकारी भन्छन् ।

सार्क सदस्य राष्ट्रबीचको दूरसञ्चार शुल्क घटाउने, कृषिमा आधुनिकीकरण, खाद्य र बीउबिजन ब्याङ्कको सम्झौता कार्यान्वयनमा पनि सम्मेलनले जोड दिइएको छ । त्यस्तै, आतंकवाद र अन्तरदेशीय अपराधविरुद्ध लड्ने, शिक्षा, पर्यटन, संस्कृति, गरीबी निवारणमा साझा प्रयास गर्ने, बुद्धिस्ट सर्किट बनाउने, सार्कका आप्रवासी कामदारको हित सुरक्षा गर्ने विषय पनि घोषणापत्रमा छन् । साझा प्रतिबद्धता कार्यान्वयन गर्न सचिवालयको भूमिका बढाउने एवं कार्यक्रम समितिलाई चार्टर्ड बडी बनाएर वर्षको दुई पटक बैठक राख्ने सहमति पनि गरेका छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>