टिप्पणीमंगलबार, मंसिर १६, २०७१

फेरि एड्सको कुरा

डा. सुमनराज ताम्राकार

फेरि एड्सको कुरा१५ मंसीर (१ डिसेम्बर) मा विश्व एड्स दिवस २०१४ मनाइएको छ । यस अवसरमा नेपालमा पनि एचआईभी/एड्सबारे धेरै चर्चाहरु भए । प्राणघातक रोग एड्सबाट बच्न र बचाउन भरसक धेरै चर्चा आवश्यक हुन्छ। किनभने, सन् १९९८ देखि नै विश्वभर एड्स दिवस मनाउन थालिए पनि यसबारेको शिक्षा अझै अपूरो लाग्छ।

यो सरुवा रोगबारे जनचेतना जगाउन र यस विरुद्धको कार्यक्रमका लागि आर्थिक सहायता जुटाउन एड्स दिवस अनिवार्य बनेको छ। विश्व एड्स दिवसले संसारभरका देश र मानिसलाई एचआईभी/एड्सको खतरा अझै घटेको छैन, यस विरुद्ध अझै धेरै होशियारी अपनाउनु र काम गर्नुछ भन्ने कुरा सम्झाउँछ। पहिलो एचआईभी संक्रमित भेटिएको तीन दशकमा नेपालमा एड्स रोगी संख्या २४ हजार पुगिसकेको छ। अझ् भयावह कुरा, यीमध्ये करीब ९ हजारले मात्र नियमित रूपमा एचआईभी विरुद्ध औषधि सेवन गरिरहेका छन्।

नेपालमा बढीजसो यौनकर्मीका पुरुष ग्राहक, नसाद्वारा लागूपदार्थ लिने, विदेशिएका कामदारबाट एचआईभी संक्रमण बढेको छ। बढीजसो (करीब ५९ प्रतिशत) संक्रमित आर्थिक उपार्जन गर्ने २५–३९ वर्ष उमेर समूहका छन्।

एड्सले हालसम्म विश्वभरका ३ करोड ९० लाख मानिसको ज्यान लिइसकेको छ भने अहिले करीब ३ करोड ५० लाख मानिस एचआईभी संक्रमित छन्। यसमध्ये २५ लाख जति त बालबालिका छन्। विश्वभर वर्षेनि २१ लाखलाई एचआईभी संक्रमण हुने गरेको छ। गत वर्ष मात्र १५ लाख एड्स रोगीको मृत्यु भयो।

एड्सका बढी बिरामी गरीब मुलुकमा हुनुले स्थितिको गम्भीरता झ्ल्काउँछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस पटकको एड्स दिवसको अवसरमा एन्टी रेट्रोभाइरल औषधिमा पहुँच वृद्धि र एचआईभी संक्रमणका बेला लाग्ने विभिन्न जटिल स्वास्थ्य समस्याको उचित व्यवस्थापनका लागि नयाँ निर्देशिका जारी गर्दैछ। एचआईभी/एड्सको रोकथाम तथा उपचारलाई मानवअधिकारको रूपमा स्थापित गराउन नयाँ पहल गरिंदैछ।

हुन पनि, अहिले विश्वका आधाभन्दा बढी एचआईभी संक्रमितहरूले एन्टी रेट्रोभाइरल औषधि पाइराखेका छैनन्। यसकारण पनि एड्स दिवस महत्वपूर्ण हुन गएको छ। यो दिवसले व्यक्ति, समुदाय तथा नेताहरूलाई एचआईभी/एड्स विरुद्ध सक्रियता बढाउन उत्प्रेरित गर्ने अपेक्षा गरिन्छ।

नियन्त्रण र उपचार

एचआईभी र एड्स फरक–फरक कुरा हुन्। एचआईभी (भाइरस) को आक्रमणले मानव शरीरको प्रतिरोधात्मक क्षमता घटाउँदै लगेर केही वर्षपछि विभिन्न लक्षण चिन्हहरू देखापर्ने अवस्थालाई एड्स रोग भनिन्छ। असुरक्षित यौन र धेरै जनालाई एउटै सुईको प्रयोग एचआईभी/एड्सको मुख्य कारक हो। संक्रमित आमाबाट गर्भमा रहेका शिशुमा पनि एचआईभी संक्रमण हुन्छ भन्ने कुरा रोकथामको लागि निकै महत्वको छ।

एड्स रोकथामका लागि महिला तथा पुरुष कण्डमको प्रयोग, लागूपदार्थ दुर्व्यसन नियन्त्रण र यौनरोग एवं एचआईभी परीक्षण तथा परामर्शकै कमी छ, अल्प विकसित देशहरूमा अझ् पनि। त्यसमाथि, संक्रमित व्यक्ति स्वस्थ एवं हट्टाकट्टा नै देखिन सक्छ। संक्रमित व्यक्तिलाई रगत नजाँचेसम्म आफू संक्रमित छु भन्ने थाहा हुँदैन। कतिपय व्यक्तिले आफू संक्रमित छु भन्ने थाहा पाए पनि त्यस अनुसार व्यवहार गर्दैनन्। नेपाल जस्तो कामदार आपूर्ति देशहरूमा यस्तै व्यक्तिका श्रीमतीहरू बढी एचआईभी संक्रमित हुने गरेका छन्। त्यस्ता महिलाका गर्भमा रहेका वा रहने शिशुमा स्वतः संक्रमण हुने नै भयो।

हाल उपलब्ध एन्टी रेट्रोभाइरल औषधिले एचआईभी (भाइरस) विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरे पनि यो नै पूर्ण उपचार होइन। व्यक्तिपिच्छे यी औषधिको असर फरक हुन सक्छ। जति ढिलो एचआईभी संक्रमणको पहिचान हुन्छ, यी औषधिको प्रभाव त्यति नै कम हुन्छ। नियमित एन्टी रेट्रोभाइरल औषधिले संक्रमित व्यक्तिको आयु बढाउनेमा भने कुनै शंका छैन।

कतिपय व्यक्ति आफूलाई एचआईभी संक्रमण भएको शंका लागे पनि रगत जँचाएर के नै फाइदा हुन्छ र भन्ने सोच्दै चिन्ताले भित्रभित्रै गल्दै बस्छन्। तर, त्योभन्दा समयमै परीक्षण गरेर औषधिमूलोतिर लाग्नु बुद्धिमानी हुन्छ। रगत परीक्षणको नतीजा गोप्य नै हुन्छ। एचआईभी/एड्सको गोप्यताले न आफूलाई बचाउँछ न त अरूलाई बाँच्न दिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>