रमझमबुधबार, मंसिर १७, २०७१
अष्ट्रेलियामा ‘छक्का’ नेपालमा पैसा
-ल्युक पेन्डर
माइकल क्लार्क, डेभिड वार्नर र माइकल हस्सी जस्ता अष्ट्रेलियाली क्रिकेट हस्तीहरूले नेपाली बालबालिकाको शिक्षामा सहयोग गर्ने नयाँ जुक्ति निकालेका छन्।
चर्चित क्रिकेट खेलाडीहरू संलग्न अष्ट्रेलियाको क्रिकेट क्लब ‘सिड्नी थण्डर’ का यी क्रिकेटरहरू नेपालका बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउने अभियानमा छन्। उनीहरू खेलका क्रममा हानेको प्रत्येक छक्कामा मनकारीहरूबाट रकम उठाएर नेपालका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने अभियानमा सहभागी भएका हुन्।
गत सेसनको खेलमा ‘सिड्नी थण्डर्स’ का सबै सदस्यहरूले उठाएको रकमले काठमाडौंको वाफलस्थित हार्टल्याण्ड स्कूलमा तीन वटा नयाँ कक्षाकोठा निर्माण भइरहेको छ। ‘परिवर्तनका लागि ब्याटिङ’ को योजना ल्याउने भने सिड्नी थण्डरका पूर्व विकेटकिपर रेयान कार्टर्स हुन्। उनले भने, “बिग ब्यास सिरिजमा हानिएको प्रत्येक छक्काबाट रकम उठाएर शिक्षाका लागि सहयोग गरौं भन्ने विचार आयो, जसले विश्वमै सकारात्मक परिवर्तन ल्याउन सकोस्।
ब्याट्सम्यानले हानेको प्रत्येक छक्कासँगै रकम दान गर्ने योजनालाई अष्ट्रेलियाली जनताले पनि उदार मनले सहयोग गरेका छन्।” यो अभियानले बिग ब्यास सिरिजका बेला सिड्नी थण्डरका ब्याट्सम्यानले हिर्काएको प्रत्येक छक्कामा सहयोग गर्न जनतासँग अपील गर्छ।
नेपालमा कक्षाकोठा निर्माणका लागि आवश्यक ३० हजार डलर जुटाउन सिड्नी थण्डरका सबै खेलाडीहरूले व्यक्तिगत रुपमा पनि सहयोग गरेका थिए। “शिक्षा नै त्यस्तो उपहार हो जो कहिल्यै नष्ट हुँदैन, त्यसैले हाम्रो टोली सहयोगका लागि तयार भयो”, कार्टर्स भन्छन्, “हार्टल्याण्ड स्कूल छनोट गर्नुको कारण चाहिं त्यहाँ ‘सेन्टर फर लर्निङ’ को काम र गरीब बालबालिकालाई राम्रो शिक्षा दिइने गरेकाले हो।”
हार्टल्याण्ड स्कूलले बालबालिकालाई न्यायोचित र उपयुक्त शिक्षा दिने गरेको छ, जुन सुविधा अरु विद्यालयहरूमा विरलै पाइन्छ।
सन् १९९९ मा स्थापना भएको स्कूलका संस्थापक प्रिन्सिपल करणसिंह गोयल भन्छन्, “अभिभावकहरूलाई बालबालिकालाई शारीरिक सजाय नदिन र सकारात्मक प्रोत्साहन दिन सिकाए मात्रै पनि त्यो बालबालिकालाई शिक्षा दिएसरह हुन्छ।”
हार्टल्याण्डमा पढाउने शिक्षक र शिक्षिकालाई प्रशिक्षण दिन विश्वका विभिन्न भागका स्वयम्सेवीहरू आउने गर्छन्। विद्यालयले ९०० रुपैयाँ मासिक शुल्क लिएर बालबालिकालाई पढाइरहेको छ भने अति गरीबलाई निःशुल्क र घर नभएकाहरूलाई विद्यालयमै आवासको व्यवस्था पनि मिलाएको छ। कक्षामा सधैं प्रथम भइरहने १३ वर्षका अनिश गौतम भन्छन्, “यहाँ आएपछि मैले पहिलो पटक माया र स्याहार पाएँ, सरहरूले निकै माया गर्नुहुन्छ।”
अन्य २० बालबालिकासँगै होस्टेलमा बस्ने गौतमलाई तीन वर्षअघि सडकबाट उद्दार गरेर विद्यालयमा ल्याइएको थियो। फूटबल खेल्न मन पराउने उनी रियल म्याड्रिड र क्रिस्टियानो रोनाल्डोका फ्यान पनि हुन्। उनको लक्ष्य भने होटल व्यवस्थापक बन्ने छ।

अष्ट्रेलियन क्रिकेटर रेयान कार्टर्सको ‘ब्याटिङ फर चेन्ज’ अभियानले काठमाडौंको वाफलस्थित हार्टल्याण्ड स्कूल विस्तारका लागि ३० हजार डलर सहयोग गरेको छ।
हर्टल्याण्ड स्कूलले अब माथिल्लो तहसम्म कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीलाई रोजगार सुनिश्चित गर्न व्यावसायिक तालीम दिने योजना पनि बनाएको छ। “विद्यार्थीहरू पढाइसकेपछि रोजगारका लागि नविदेशिउन्, उनीहरू आफ्नै समुदायमा फर्केर विकासका लागि काम गरुन् भन्ने चाहन्छौं”, प्रिन्सिपल गोयल भन्छन्।
मे २०१५ मा नेपाल आउने योजना बनाएका रेयान कार्टर्सले भने, “क्रिजमा भएका बेला कहिलेकाहीं सोच्ने गर्छु प्रत्येक छक्काले बालबालिकालाई नयाँ दिशा दिइरहेको छ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
