रिपोर्टशुक्रबार, मंसिर १९, २०७१
छाड्न सकिन्छ मदिरा सेवन
–मीना शर्मा

शिक्षण अस्पताल महाराजगञ्जको अल्कोहल उपचार केन्द्रमा बसेर मदिरा छोड्ने कोशिश गरिरहेका बिरामी।
तस्वीरः देबकी बिष्ट
दोलखाको सुस्मासिमावतीका रामप्रसाद शिवाकोटी (४१) ले स्वास्थ्यमा धेरै समस्या देखिएपछि मदिरा छाड्ने निधो गर्दै मात्रा घटाउन थाले। तर, त्यसपछि उनमा मान्छे नचिन्ने, रिसाउने, बर्बराउने र अर्धचेत बन्ने जस्ता समस्या देखिए। यी समस्या बढ्दै गएर बेहोस भएपछि उनलाई ११ कात्तिकमा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइयो। उनको उपचार गरिरहेका शिक्षण अस्पतालको अल्कोहल उपचार केन्द्रमा कार्यरत डा. सगुन पन्तका अनुसार चिकित्सकको सल्लाह–निगरानी बेगर मदिरा छाड्दा वा एक्कासि मात्रा घटाउँदा यस्तो समस्या देखिएको छ।
१३ वर्षको उमेरमा पहिलो पटक रक्सी सेवन गरेपछि विस्तारै यसको लतमा परेका र पाँच वर्षअघि आन्द्रामा घाउ हुँदा पनि बेवास्ता गरेका शिवाकोटीले कलेजोमा समेत समस्या देखिएपछि मदिरा छाड्ने निधो गरेका थिए। पछिल्लो समय उनलाई हरेक दुई घण्टामा रक्सी नभई नहुने र रक्सी नपिउँदा निद्रा नै नपर्ने समस्या देखिएको थियो। डा. पन्तका अनुसार अत्यधिक मदिरा सेवन गर्नेहरूमा २४ देखि ४८ घण्टाभित्र मदिरा नपिउँदा वा मात्रा कम हुँदा यस्ता लक्षण देखिन्छन्। यस्तो अवस्थामा पुगेका व्यक्तिलाई १४ दिनसम्म ‘विन्जोडाइजेपियन’ (शरीरमा रहेको अत्यधिक अल्कोहल निकाल्ने औषधि) प्रयोग गरी शरीरमा रहेको अल्कोहल निकालेपछि ७ देखि १० दिनसम्म परामर्श दिएर अन्य उपचार गर्नुपर्ने उनी बताउँछन्। चिकित्सकको निगरानी–परामर्शमा उपचार शुरू गरेपछि शिवाकोटीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ र उनी अल्कोहलबाट मुक्त हुनेमा आशावादी बनेका छन्।
एक निजी ब्याङ्कमा कार्यरत धुम्बाराही, काठमाडौंका बालकृष्ण श्रेष्ठ (५२) पनि ११ कात्तिकमै शिक्षण अस्पताल भर्ना भए। बिहानैदेखि मदिरा पिउनुपर्ने लत बसेका उनी मदिराको मात्रा कम गर्दा एक्कासि बेहोस भएर लडेका थिए। आँखा र कानमा चोट लागेर अस्पताल पुगेपछि मात्र उनलाई मदिराको अम्मलले छारेरोग लागिसकेको थाहा भयो। १५ वर्षको उमेरमा साथीभाइसँग मदिरा पिउन सिकेका र धेरै प्रयास गर्दा पनि अल्कोहलको साथ छाड्न नसकेका उनले चिकित्सकको निगरानीमा मात्र यसलाई छाड्नुपर्ने रहेछ भन्ने अस्पताल आएपछि मात्र थाहा पाए। अहिले अस्पतालमै बसेर मदिराबाट टाढिने प्रयास गरिरहेका उनी चिकित्सकको परामर्श र औषधिले निको हुने आशामा छन्।
रामप्रसाद र बालकृष्ण जस्तै १४ कात्तिकमा शिक्षण अस्पताल भर्ना गरिएका भक्तिपुर, सर्लाहीका सञ्जीव लामा (४३) लाई पनि टाउको दुख्ने, शरीर भारी हुने, खान मन नहुने र निद्रा नलाग्ने समस्या हुँदै बेहोस भएपछि अस्पताल पुर्याइएको थियो। अस्पताल भर्ना भएको चार दिनपछि होशमा आएका लामाको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको उपचारमा संलग्न डा. पन्त बताउँछन्।
अत्यधिक मदिरा सेवनले मधुमेह, उच्च रक्तचाप र कलेजोमा समस्या देखिएपछि पाँच वर्षअघि नै चिकित्सकले मदिरा छाड्न सल्लाह दिएका र मधुमेहको औषधि शुरू गरे पनि मदिरा छाड्न नसकेका लामाले पछिल्लो समय स्वास्थ्य समस्या झ्न् बढेपछि मदिरा छाड्ने कोशिश गरेका थिए। लामा भन्छन्, “डाक्टरको निगरानी र सल्लाहमा बसेको भए मदिराले मलाई खाने थिएन, अब चाहिं बाँच्छु कि भन्ने आशा जागेको छ।”
रोग बन्दै मदिरा
अत्यधिक मदिराको लतमा परेकाहरूले एक्कासि मदिरा छाड्दा वा मात्रा घटाउँदा हातखुट्टा काम्ने, बर्बराउने, बेहोस हुने र छारेरोगका लक्षणहरू देखिने चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोजप्रसाद वझ्ा मदिराको लत लागेका व्यक्तिले अकस्मात् मदिरा छाड्दा झ्न् जटिल स्वास्थ्य समस्या आउने भएकाले चिकित्सकको सल्लाह–परामर्शमा मात्र मदिरा छाड्नुपर्ने बताउँछन्।
मदिरा मानसिक रोगको कारक बन्दै गए पनि धेरैलाई यसको उपचार गर्नुपर्छ भन्ने थाहा हुँदैन। शुरूमा केही रमाइलो र उत्तेजना दिने मदिराले विस्तारै मस्तिष्कमा असर गर्छ। अत्यधिक मदिरा सेवन गरेर अचेत हुनेहरूलाई हृदयघात, विभिन्न प्रकारका क्यान्सर, कलेजो बिग्रिने तथा डिप्रेसन लगायतका खतरनाक मानसिक समस्या पनि आइलाग्छन्। वैशाख २०७० देखि १७ कात्तिक २०७१ सम्म अत्यधिक मदिरा सेवनको समस्याले बेहोस भएका १३३ व्यक्ति शिक्षण अस्पताल महाराजगञ्जको अल्कोहल उपचार केन्द्रमा भर्ना हुनुले पनि यो समस्या कति डरलाग्दो बन्दैछ भन्ने देखाउँछ।
मानसिक तथा नसा रोग विशेषज्ञ डा. केदार मरहट्ठा मदिराको लतमा फसेकालाई यसबाट छुटकारा पाउन चिकित्सकको निगरानी अपरिहार्य रहेको बताउँछन्। शरीरमा बढेको अल्कोहलको मात्रा घटाउन प्रतिरोधी औषधि प्रयोग गर्नुपर्ने भएकाले अस्पताल भर्ना गर्नैपर्ने उनको भनाइ छ। अत्यधिक मदिराको लतमा फसेकाहरू मदिरा छाडेपछि पनि पुनः त्यही अवस्थामा फर्कने खतरा हुने भएकाले औषधिसँगै परामर्श पनि आवश्यक हुन्छ। चिकित्सा मनोविद् राजन केसी अल्कोहलको लतमा फसेकाहरूले आफू बिरामी भएको स्वीकार नगर्ने र अस्पताल पुगे पनि उपचार गरेर फर्केपछि पुनः पहिलेकै अवस्थामा फर्कन सक्ने भएकाले परामर्श आवश्यक पर्ने बताउँछन्।
विश्व स्वास्थ्य संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या भन्दै विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुको प्रमुख कारण यसलाई नै मानेको छ। विकसित देशमा मदिरा सेवन तेस्रो कारण मात्र मानिन्छ। मदिरामा फसेकालाई त्यसबाट बाहिर निकाल्न प्रयासरत गैरसरकारी संस्था रिचमण्ड फेलोसिप नेपालका कार्यक्रम व्यवस्थापक विष्णु शर्मा
मदिरा–फेसनले युवापुस्तालाई सबैभन्दा बढी बिगारेको र परामर्शसँगै चिकित्सकको निगरानीमा गरिने उपचारले यसबाट छुटकारा दिलाउने बताउँछन्। रिचमण्डले काठमाडौंको चोभार र चितवनमा रहेका पुनर्स्थापना केन्द्रमार्फत वर्षेनि २०० पुरुष र १०० जना महिलालाई अल्कोहलबाट मुक्त गर्ने प्रयास गर्दै आएको छ।
(मदिरा छोड्न उपचार गराइरहेका व्यक्तिहरूको नाम परिवर्तन गरिएको छ।)
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
