टिप्पणीशुक्रबार, मंसिर १९, २०७१
‘लुम्बिनी शान्ति शहर’ योजना संशयको घेरामा

कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को सहयोगमा प्राध्यापक क्वाक युंग हुनले बनाएको लुम्बिनी शान्ति शहरको गुरुयोजना।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर विकासका लागि भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रह र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को सहयोगमा प्राध्यापक क्वाक युंग हुनले बनाएको गुरुयोजना अहिले चर्चामा छ। लुम्बिनी विकासप्रेमी र स्थानीयहरूलाई निकै उत्साहित बनाएको यो गुरुयोजनाको अन्तरवस्तुमा भने छलफल भएकै छैन। सन् १९७८ मा प्रा. केन्जो टांगेले बनाएको गुरुयोजना अनुरूपको वर्तमान लुम्बिनी संरचना बाहिरको बृहत्तर क्षेत्रमा विश्व शान्ति शहर बनाउने प्रा. क्वाकको गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत हुन मात्र बाँकी छ।
प्राचीनकालमा महत्वपूर्ण बौद्ध तीर्थस्थलको रूपमा विकास भएको लुम्बिनी सन् १८९६ मा पत्ता लागेपछि यसले पुरातत्वविद्हरूसँगै समस्त बौद्ध जगतको ध्यान खिच्यो। तर त्यहाँ पुग्न बाटो नहुँदा भारतीय भूमि भएर जानुपर्थ्यो। स्वदेशी हुन् वा विदेशी, भारतहुँदै त्यहाँ पुग्नुपर्ने भएकोले हुन सक्छ, लुम्बिनी भारतमा पर्ने भ्रम पनि सिर्जना भयो। सन् १९६७ मा काठमाडौंबाट हेलिकप्टरमा लुम्बिनी पुगेका संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तले त्यहाँको स्थिति देखेर आँसु खसाएका थिए। प्रा. केन्जो टांगेको गुरुयोजना महासचिव ऊ थान्तको त्यही भ्रमणको उपज थियो।
टांगेको गुरुयोजना अनुरूपको निर्माणमा ढिलासुस्तीबाट निराश बौद्धहरूलाई जिस्क्याउने काम मात्र हुँदै आएकोमा अहिले नयाँ गुरुयोजना चर्चामा छ। प्रा. क्वाकले अघिल्लो गुरुयोजनालाई केही प्रभाव नपार्ने गरी बाहिरी भागमा विकास गर्ने भनेर निराशहरूको असन्तुष्टिलाई पनि केही हदसम्म मत्थर पारेको देखिन्छ।
कसरी बन्छ शहर?
शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा पारी कमल आकारमा शान्ति शहर बनाउने भनिएको छ। बुद्ध धर्ममा संसार भनेको हिलो हो र यही हिलोरूपी संसारमा पवित्र कमल फुल्छ। बुद्धका उपदेशहरू संग्रहित एउटा ग्रन्थको नाम नै ‘सद्धर्मपुण्डरीक सूत्र’ राखिएको छ। यस हिसाबले लुम्बिनीमा कमल आकारको विश्व शान्ति शहर बनाउने परिकल्पना आफैंमा सुन्दर छ। गुरुयोजनाले त्यस क्षेत्रमा ठूल्ठूला संरचना निर्माण र बसोबास विस्तारलाई निषेध गरेको छ। गुरुयोजनाले औद्योगिक क्रियाकलापको सट्टा कृषि र ‘होमस्टे’ पर्यटनलाई जोड दिएको छ। स्वच्छ–शान्त वातावरणको लागि हरियाली बढाउनु नै पर्नेछ।
आफ्नो क्षेत्रको विकाससँग सम्बन्धित कुरामा जनता उत्साहित नहुने कुरै भएन। प्रा. क्वाकले लुम्बिनी विकास कोष, पुरातत्व विभाग र संस्कृति मन्त्रालयका पदाधिकारीहरूलाई कोरिया भ्रमण गराई गुरुयोजनामा व्यवधान नआउने वातावरण पनि मिलाएका थिए। यद्यपि, लुम्बिनी विश्व शान्ति शहर जस्तो महत्वाकांक्षी गुरुयोजनाले मूर्तरुप लिने कुरामाथि उठेको प्रश्न अझै उत्तरविहीन नै छ।
गुरुयोजना अनुसार सन् २०२० सम्म पहिलो चरण, सन् २०२६ सम्म दोस्रो र सन् २०३० सम्म अन्तिम चरणको निर्माण कार्य सकिनुपर्छ। प्रा. क्वाक संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव वान की मुनका बालसखा भएकोले यो गुरुयोजनाको कार्यान्वयन सहज हुने एकथरी आशावादीहरू बताउँछन्, तर लुम्बिनीको विकासमा काम गर्नेहरूको कटु अनुभवले अर्कै कुरा भन्छ। उनीहरूको अनुभवमा– पहिलो कुरा त, नेपालसँग यस्तो कामको इच्छाशक्ति नै छैन। लुम्बिनीको विकासमा राष्ट्रसंघ नै लाग्नु सुखद् पक्ष हो, तर नेपालसँग यस्तो अवसरको उपयोग गर्ने जाँगर नै नभएपछि कसको के लाग्छ?
लुम्बिनी विकासको लागि पहिले राष्ट्रसंघले बनाएको समिति निष्त्रि्कय भएको हेक्कासम्म रहन पनि छाडिसक्यो। लुम्बिनीको लागि जति पनि खर्च गर्न संसारै तयार हुँदा पनि नेपालले सहायता व्यवस्थित गरेन वा गर्न चाहेन। प्रा. क्वाकको गुरुयोजनाको तुलनामा प्रा. टांगेको गुरुयोजना सानो हो, र पनि त्यसमा अन्तर्राष्ट्रिय सहयोगको उपयोग गर्न नेपाल असमर्थ रह्यो। शान्ति शहरको नक्शा निश्चय नै मनमोहक छ। स्थानीय जनताको आर्थिक विकासमा जोड दिएको उक्त नक्शाले सरोकारवाला लगायत बौद्ध समुदायको प्रशंसा पाउनु विल्कुलै स्वाभाविक छ। गुरुयोजनामा भनिएको छ– ‘कमलको आकारमा हुने शान्ति शहरमा पूर्णतः बौद्ध वातावरण हुनेछ। यहाँ माछा, मासु तथा जाँडरक्सीलाई पूर्णतः बन्देज लगाइने छ।’
यस्तो बस्तीको विकास हुनु आफैंमा राम्रो हो। तर यसका लागि त्यस क्षेत्रमा बसोबास गर्ने सबैले बौद्ध जीवन पद्धति अपनाउनु पर्छ वा त्यस्तो नचाहनेलाई अन्यत्र स्थानान्तरण गर्नुपर्छ। यी दुवै उपाय सम्भव छैन। यस्तो उपाय अपनाउन खोजियो भने सदियौंबाट कायम रहेको बौद्ध–गैरबौद्धबीच सद्भाव खल्बलिएर झ्गडाको बीजारोपण हुनेछ। लुम्बिनीमा बौद्ध शहर बनाउन अरू धर्मावलम्बीले कुलपरम्परा त्याग्नुपर्छ भन्ने कुरा आफैंमा गलत पनि हो। यस्ता यथार्थहरूले लुम्बिनी विश्व शान्ति शहरको अवधारणालाई अँध्यारो पारेको छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
