रमझमशुक्रबार, मंसिर १९, २०७१
बेलायतमा लाहुरे ब्याण्ड
किरणकुमार सुब्बा, ध्रुव लिम्बू, उत्तम गुरुङ, खगेन्द्र लिम्बू र विनय राई सबै भूपू ब्रिटिश–गोर्खा हुन्। जीवनको डेढ दशक बन्दूकसँग अभ्यस्त उनीहरू सेवा निवृत्त भएपछि भने कमैले बनाउने परिचयमा छन्। उनीहरूको ‘द भेट्रान ब्याण्ड’ अहिले लोकप्रियताको उकालोमा छ।
ब्याण्डमा किरणले गायनसँगै गितार र ध्रुवले गायनसँगै रिदम गितार बजाउँछन्। उत्तमले गायनमा साथ दिन्छन् भने लिड गिटारमा खगेन्द्र र वेस गिटारमा विनय जमिरहेका हुन्छन्। ड्रमरको परिपूर्ति लाहुरे परिवारकै ‘भाञ्जा’ प्रकाश लिम्बूबाट भएको छ। सन् २००९ मै स्थापना भए पनि २०११ बाट सक्रिय रहेको यो ब्याण्ड खास गरेर नेपालीहरूको चाडपर्व र जमघटहरूमा बढी जम्ने गरेको छ। पछिल्लो पटक २९ कात्तिकमा सहारा क्लब, बेलायतको लागि आर्थिक सहयोग संकलन कार्यक्रममा प्रस्तुत भएको थियो, ब्याण्ड।
नेपालबाट सांगीतिक कार्यक्रम लिएर बेलायत आउने कलाकारहरूका लागि पनि लाइभ ब्याक अप ब्याण्डको रुपमा समेत रहेको छ यो समूह। ब्याण्डका सबै सदस्य सेनामा भर्ती हुनु अघिसम्म नेपालमा गितार बजाउँदै हिंड्थे। त्यसबेला स–साना कार्यक्रममा सहभागी समेत भएका उनीहरूले सैनिक जीवनमा भने संगीतलाई समय दिन सकेनन्। त्यो अवधिमा गुम्सिएको इच्छा र सपनालाई अहिले मूर्तरुप दिएको उनीहरू बताउँछन्। भोकलिष्ट/गिटारिष्ट किरण भन्छन्, “अब बुढेसकालसम्मै चल्छ, यो ब्याण्ड।”
उनीहरूले पल्टनमा हुँदा पनि सांगीतिक ब्याण्ड चलाउने कोशिश गरेका थिए। जस्तो, विजयले हिमालयन्स ब्याण्ड–२ र किरणले ‘सुनाखरी समूह’ बनाएका थिए, तर सक्रिय सेवाकालमा ब्याण्ड टिक्ने सम्भावना थिएन, टिकेन पनि। त्यसरी खुम्चिएको रहर फुल्न पाएको पाँच वर्ष पुग्न लाग्दैछ। लन्डनजस्तो भागदौडको शहरमा उनीहरू महीना दिन अघिबाटै विदा मिलाएर कन्सर्टको तयारी थाल्छन्। अधबैंसेहरूको यो ब्याण्डले बेलायतमा नयाँ र पुराना पुस्ताका नेपालीबीच पुलको काम गरिरहेको छ। उनीहरू पप र आधुनिकदेखि लोकगीतसम्म प्रस्तुत गर्छन्। “हाम्रा प्रस्तुतिमा नयाँ र पुराना गीतहरू हुन्छन्, हिन्दी र अंग्रेजी गाउँदैनौं।”
अहिलेसम्म ४० वटा कन्सर्ट गरेको यो ब्याण्ड अल्बम निकाल्ने तयारीमा पनि छ। भूपू सैनिकहरू भएकोले यो ब्याण्ड कडा अनुशासनमा चल्छ। सबैले समयको ख्याल गर्छन्। यो समयमा, यसरी गर्ने भनेको काम त्यही समय र त्यसरी नै हुन्छ। खगेन्द्र भन्छन्, “नत्र त, उमेरको आधा बाटोमा थालेको काममा जोश घटिहाल्छ नि!”
अनुशील श्रेष्ठ
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
