रमझमशनिबार, मंसिर २०, २०७१

समाजका गायक– शिशिर योगी

हिमालखबर

समाज प्रतिबिम्बित नभएको गीत अल्पायुको हुने बताउँछन्, ४५ वर्षीय शिशिर। यही मान्यताले उनलाई व्यक्ति, समाज र राष्ट्रको यथार्थ गाउने गीताङ्गे बनाएको छ।

shshiryogi_guitarउनका गीतहरु राष्ट्रिय एकता, मानवता, कर्णालीको पीडा, जातीय विभेद, जातीय राजनीतिले ल्याएको असहमतिको माहोल आदिको आम बयान बनेका छन्। यस हिसाबले उनका गीतहरु चेतनाको विगुल बनेका छन्।

“फरक ढर्राका कारण नै हो, मेरो गीत–संगीतले मिडियामा कमै ठाउँ पाउँछ” शिशिर भन्छन्, “तर, मलाई यही पारामा आनन्द आउँछ।”

हुन पनि उनका सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि, चौतारीको बरै ढलेछ, यो देशमा म एउटा मानिस खोजिरहेछु, सियोको टुप्पोले मुटु बिझ्यो दमाई दाइ, खै कहाँ बग्यो मेलम्ची खोला, कर्णाली पारि लगायतका गीतहरुको गम्भीरताले श्रोतालाई छुट्टै किसिमको गहिरो अनुभूति गराउँछ।

२०५९ सालमा नारायणहिटी दरबारमा नरसंहार भएपछि क्षेत्रप्रताप अधिकारीले लेखेको चौतारीको बरै ढलेछ… गाएका शिशिरले देशमा निस्वार्थी नेतृत्वको आकांक्षा राखेर यो देशमा म एउटा मानिस खोजिरहेछु गाएका थिए।

यसैगरी, उनले गाएको कर्णाली पारि छैन खेतबारी, रुखो छ टारी ले माओवादी द्वन्द्वमा पिल्सिएका कर्णालीका जनताको पीडा बोलेको छ भने तल रुन्छ गाउँबेंसी माथि भीरपाखा, कहिल्यै पनि ओभाएनन् नेपालीका आँखा ले समग्र नेपालको पीडा।

शिशिरले मायाप्रेम र राष्ट्रिय भावनाका पनि थुप्रै गीत गाएका छन्। जुनसुकै खालका गीत हुन्, उनी बजारभन्दा अर्थपूर्ण शब्दहरुको खोजीमा रहन्छन्। यही कारण अरु गायकभन्दा उनी फरक बनेका छन्। यसको अर्थ, गीतहरु नचलेर उनी फरक भएको भन्ने पनि होइन।

दाङको चैलाही बलरामपुरबाट २०४८ सालमा राजधानी छिरेका पहिचान, सुस्केरा, आकर्षण, मोडमोडमा, छहराको धुन, समर्पण उनैलाई लगायतका एकल अल्बमहरुको बिक्रीले पनि उनी श्रोतामाझ निकै लोकप्रिय रहेको देखाउँछ।

अमर गुरुङका चेला रहेका शिशिर भन्छन्, “गुरुको उचाइका कारण पनि हल्काफुल्कातिर लाग्न सकिएन, बरु थोरै नै होस्, भरसक गुण भएका गीत गाउनेतिर लागियो।”

एउटा राम्रो गायकको हिसाबले शब्दहरुको अर्थ बुझ्न खोज्ने उनी त्यस्तै संगीत र स्वरले गीतलाई कालजयी बनाउने बताउँछन्। हिजोआज कमै स्तरीय गीत आएको ठान्ने उनी शब्दमा मात्र नभई संगीतमा समेत नेपालीपन हराउन थालेको बताउँछन्।

“हाम्रो संगीतको नेपालीपनलाई बाह्य संगीतले अँचेटिरहेको छ”, शिशिर भन्छन्, “त्यसमाथि, दुई–चार महीने चर्चाका लागि मरिहत्ते गर्नेहरुले गीत–संगीतको साधनालाई नै उपेक्षा गरेका छन्।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>