ब्लगशनिबार, मंसिर २०, २०७१

मजलिसको आँखा–३

कमल दीक्षित

भर्खरै सकियो १८औं सार्क सम्मेलन, अरू वस्तुहरूले जस्तै सिंहदरबारको ढोकाले पनि रंगरोगन गरेर चिटिक्क हुने मौका पायो।

विदेशी भीभीआईपीहरू नआई सिंगारिन नपाउने हाम्रा सडक र दरबारहरूको नियति यस पटक पनि आँखाभरि देख्न पाइयो।

तर, त्यस्तो सुखद् आगमनहरू नभई दैवी विपत् आउँदा पनि सिंहदरबारको त्यस ढोकाले भने ‘चोलो’ फेर्नु परेको रहेछ भन्ने प्रमाण मपुपु–मा फेला परेको छ।
gate_singdurbar

सिंहदरबारको मूल गेट पहिले र अहिले (तल)।

Simha_Durbar_Gate

भनिन्छ, चन्द्रशमशेरले १९६०–७० सालतिर आफ्नो निवास बनाउन इन्जीनियर कुमारनरसिंह र किशोरनरसिंह राणालाई उर्दी दिए।

उनीहरूले ‘पानढिकी’ क्षेत्रलाई सम्याई सिंहदरबार निर्माण गर्दा पश्चिमपट्टि दरबारको मूलढोका बनाइदिए भव्य रूपमा। पछि महाराजले त्यो दरबारलाई नेपाल सरकारका श्री ३ हरूको निवासस्थल बनाइदिएका हुन्।

तर अलि वर्षपछि दुर्भाग्यवश नब्बे सालको भैंचालाले दरबारका निकै भागसँगै त्यो ढोका पनि भत्काइदिएछ।

त्यस बेला यो ढोका कति भत्क्यो, पूरै धरासायी भयो कि माथिमाथि मात्र क्षति भयो त्यो देखीजान्ने मान्छे ऐले कोही फेला परेन। भत्केका कुराहरू महाराज जुद्धशमशेरले तुरुन्त जीर्णोद्धार गराइहाले।

त्यसरी जीर्णोद्धार गराइएको सिंहदरबारको मूलढोका ऐले हामीसँग छ। त्यसलाई अस्ति ‘सार्क’ मा हामीले फेरि उजिल्याउन खोज्यौं।

सँगैको फोटोमा ढोकाको सिंगारपटार गर्न लागेको दृश्य देखिन्छ। तर त्यो सिंगार गर्दा पनि हामीले हाम्रो दृश्य सम्पदालाई अलिकति बिगारेछौं।

सिंहदरबारको ढोकामा प्लास्टर गर्दा पैले बज्र र चूनले गरिएको थियो, ऐले हामीले बज्रको सट्टा सिमेन्टको प्रयोग गरेका छौं!

नब्बेसालको भैंचालोपछि निर्माण भएको जुद्धसडकको ढोका र पाटनढोकाकै सरह सिंहदरबारको मूलढोकाको पुनर्निर्माणमा पनि बालकृष्ण शमशेरको केही सहयोग थियो कि जस्तो लाग्छ।

ढोकाको पुरानो फोटोसँग भिडाइहेर्दा ढोकामाथिको आकार र प्रकारमा केही फेरफार भएकै देखिन्छ।

ढोकाको गुम्मज आकारसँग मेल खाने गरी शिरोभागका दुईतिर स्कन्धभाग, कुमतिरका पहिलेको मुण्डा छतलाई, धातुकै भए पनि, गुम्मजले छोपिदिएको देख्दा यसमा ‘बालकृष्णको बुद्धि’ लागेन होला भन्न सकिन्न।

बरु, ‘मूलढोका जस्ताको तस्तै बनाउनू’ भनेर महाराजबाट हुकुम भएको हुनाले तल्लो भाग भने जे जस्तो थियो त्यो त्यही कायम राख्न उनीहरू बाध्य भएका थिए कि!

अथवा ढोकाको माथिका केही भाग मात्र भत्केकाले त्यति विधि नवनिर्माण गर्नु नपरेको होला। यहाँनिर बालकृष्ण समको नाम त्यसै आएको होइन, प्रसङ्ग परेरै ल्याइएको हो।

यस विषयमा अलि बढी चर्चा पछिका अरू प्रसङ्गमा गरिएला। ऐलेलाई चाहिं यत्ति भनूँ त्यस बेलाका शैक्षिक क्षेत्रका ‘तालुकवाला’ जर्नेल मृगेन्द्रशमशेर थिए।

उनका सल्लाहकार थिए कवि तथा नाटककार कप. बालकृष्णशमशेर (जर्नेल मृगेन्द्रका ‘बालकृष्णदाइ’)।

भैंचालापछिका जीर्णोद्धार कार्यहरूमा मन्दिरहरू बाहेक अरू स्थापत्यका डिजाइन इत्यादिमा ‘बालकृष्णदाइ’ का रायसल्लाह जर्नेल मृगेन्द्रका लागि अहं हुन्थे नै।

त्यसै हुँदा त्यो मूलढोकाको जीर्णोद्धार या पुनर्निर्माणमा पनि उनको हात थियो होला भनिएको हो।

सो त्यसबेला, पूरै नवनिर्माण गर्न नपर्दा पनि माथि भनेजस्तै त्यसमा नयाँ केही निर्माण चाहिं गरेकै देखियो।

अतः पहिलेको र पछिको बनोटमा के कति परिवर्तन गरियो त्यसमा अलिकति मीनमेख गरिहेरूँ।

सबभन्दा पहिले देखिने टड्कारो फरक त ‘सेन्टर’ या बीचको अल्गो भाग हटाइएको नै हो। त्यस्ता संरचना ठूलो भूकम्पमा टिक्न नसक्ने ठानेर अफालियो।

त्यसरी शिरोभाग हटाएपछि वास्तुकलामा केही नपुगेजस्तो देखियो होला अनि त्यसको क्षतिपूर्ति स्वरूप दुईतिर दुइटा गुम्मज थप गरिए। तर्क मिल्छ।

अतः त्यो यसै भयो होला भन्ने अनुमान गरूँ। किनभने ऐले हामी अनुमानै मात्र त गर्न सक्छौं, जान्नेहरू त सबै गई नै सके।

पहिलेको बीचको अल्गो संरचना हटाए तापनि त्यसमा रहेको कलशको ढाँचा भने कायमै राखेको देखिन्छ।

अझ पहिलेकोमा थप गरी ढोकाको दाहिने र बायाँ कुमार र गणेशका मूर्ति स्थापित गरेको भने महत्वपूर्ण लाग्छ।

सिंहदरबारको ढोका पनि बनिसकेपछि महाराज (चन्द्रशमशेर) लाई अलि अप्ठेरो परेको बुझिन्छ किनभने शहरबाट सिंहदरबार आउने जाने बाटो भद्रकालीबाट बनाउनुपर्ने थियो तर भद्रकाली र सिंहदरबारका बीचमा गहिरो खेत थियो त्यसैले ओरालो र उकालो हुने भयो त्यो बाटो, दरबार सुहाउँदो पटक्कै भएन!

त्यसैले इन्जीनियरहरूले बुद्धि खियाए र त्यहाँ यौटा पुलबाटो तयार पार्ने योजना गरे। केही बढी खर्च लाग्ने भए पनि महाराजले त्यो स्वीकार गरे।

अनि बन्यो त्यो ‘कजवे’। इन्जीनियरहरूले अर्को जुक्ति पनि निकाले, त्यो पुलबाटो मुन्तिर गोदामहरू बनाइदिने– एक पन्थ दुई काज!

त्यसबाट महाराजलाई अर्को पनि फाइदा भयो, उनको दरबार अगाडिबाट सर्वसाधारण (दुनियाँदारहरू) ले डिल्लीबजार–थापाथली आवतजावत गर्नु परेन, मूलढोका अगाडि त्यो पुल–बाटो मुन्तिर जनताको बाटो बन्यो, जनपथ!

त्यो ‘जनपथ’ कायमै थियो सातसालसम्म, नेपालमा प्रजातन्त्र नआउञ्जेल! सिंहदरबारभित्र जानेहरू र राणा उच्च पदाधिकारीहरू बाहेक हामीहरू सबै त्यही पुलमुनिको बाटोबाटै हिंड्थ्यौं।

(१३ अंकसम्म ‘मजलिसघर’ शीर्षकमा प्रकाशित भएर हाल ‘मजलिसको आँखा’ शीर्षकमा निरन्तर गरिएको यो स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ। *यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...