रमझमआइतबार, मंसिर २१, २०७१
आशलाग्दो उदय
मीन बच्चै हुँदा मुगुको कार्कीबारास्थित उनको घरमा हाइभिजन हल थियो। उनको बालमस्तिष्कमा सिनेमाको चस्को र कलाकार बन्ने जिद्दी त्यही हलले लगाइदियो। २०५७ सालमा एसएलसी गरेपछि मुगुबाट राजधानी झर्दा उनको दिमागमा पढाइभन्दा बढी कलाकार बन्ने ध्याउन्न थियो। राजधानी आउनासाथ उनले अभिनयमा एकवर्षे कोर्षका लागि राष्ट्रिय नाचघरमा नाम लेखाइहाले।
त्यसपछि आफ्नै निर्देशनमा केही नाटक मञ्चन गरेका मीन एक्टर्स स्टुडियो र आरोहण गुरुकुलमा थप खारिए–घनचक्कर, कर्णाली दक्षिण बग्दछ लगायतका नाटकहरूमा उम्दा अभिनय गरेर।
२०६५ मा ओस्कार इन्टरन्याशनल फिल्म कलेज (ओआईएफसी) बाट फिल्म निर्देशन र पटकथा लेखनमा स्नातक गरेपछि फिल्म निर्देशनमा आएका मीन यसै साता चलचित्र कालोपोथी को छायांकन सकेर मुगुबाट राजधानी फर्किएका छन्। उनले लेखेको यो फिल्मको स्त्रि्कप्टले बर्लिन फिल्म फेस्टिभलको ‘वर्ल्ड सिनेमा फन्ड’ बाट ३० हजार युरो (रु.३९ लाख) पाएको थियो। फिल्म निर्माण प्रक्रियामा सघाउने यो फण्डका लागि ४३ देशबाट १२६ आवेदन परेकोमा नेपालका मीनसहित थाइल्यान्ड, घाना र कोलम्बियाका फिल्मकर्मी छानिएका थिए। कालोपोथी को स्त्रि्कप्टले त्यसअघि स्वीट्जरल्यान्डको ‘भिजन सुद’ पुरस्कार जितेको थियो, जसमा ५० हजार फ्रान्क (रु.५६ लाख) राशी थियो।

मुगुमा चलचित्र कालोपोथी को छायाङ्कनमा निर्देशक मीन भाम स्क्रिप्ट हेर्दै।
नेपालको १०वर्षे माओवादी द्वन्द्वकालको परिवेश देखाउने कालोपोथी मा दुर्गम गाउँका दुई बालकको कथा छ। मीनको यो पहिलो फिचर फिल्म हो, जसको सम्पूर्ण छायांकन मुगुमा गरिएको छ। उनका अनुसार, करीब २०० स्थानीयलाई प्रशिक्षण दिएर कलाकार बनाएको यो फिल्मको पोष्ट प्रोडक्सनको काम फ्रान्समा हुनेछ। फिल्म जर्मन सिनेम्याटोग्राफर अजिज जाम्बाकेटले खिचेका छन्।
कर्णाली क्षेत्रबाट काम गर्न भारत जानेहरूमाथि बनेको मीनको पहिलो छोटो फिल्म बाँसुल्ली सन् २०१२ को भेनिस फिल्म फेस्टिभलमा छानिएको थियो। बाँसुल्ली फ्राइवर्ग फिल्म फेस्टिभलसहित ११ वटा अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागी बनेपछि मीन सिने संसारमा चिनिए। उनको अर्को छोटो फिल्म डिपार्चर ले कोरियाको बुसान फिल्म फेस्टिभलमा पाँच हजार अमेरिकी डलरसहित आउटस्ट्याण्डिङ अवार्ड जितेको थियो। मीनले रंगीन फोटो, अन्तिम, कालो कोट, अ ह्याण्डसम गर्ल लगायतका छोटा फिल्महरू बनाएका छन्।
बुद्ध दर्शनमा स्नातकोत्तर उनी ओआईएफसीमा फिल्म निर्देशन र पटकथा लेखन पढाउँछन् पनि। आफ्नो करिअरको लागि अति महत्वपूर्ण प्रोजेक्टको रुपमा रहेको कालोपोथी ले अन्तर्राष्ट्रिय क्षेत्रलाई कर्णालीको समाज बुझ्न सघाउने उनी बताउँछन्। नेपाली फिल्मको विषयगत र प्राविधिक पक्ष प्रगतिउन्मुख रहेको देख्ने मीन फिल्म मेकिङमा रहरेहरूको भीडमा क्षमतावानहरू आइसकेको बताउँछन्। “सोच र शिल्प दुवै हिसाबले दक्ष निर्देशकहरू देखिएका छन्”, मीन भन्छन्, “नेपाली सिनेमाका लागि सुखद् छ, यो।”
ऋषिराम कट्टेल
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
