ब्लगआइतबार, मंसिर २१, २०७१
नारायण गोपाल: एक सर्वकालिक गितांगे
आधुनिक नेपाली सङ्गीतका महान गायक नारायणगोपाल (विसं १९९६–२०४७) स्वर्गवासी भएको १९ मङ्सिरबाट २४ वर्ष लाग्यो । बितेको २३ वर्षभित्र नेपाली गीतसङ्गीतका गोपाल योञ्जन, नातिकाजी, शिवशंकर, फत्तेमान, कोइलीदेवी, तारादेवी, धर्मराज थापा, पाण्डब सुनुवार, झलकमान गन्दर्भ, अरुन थापा, राम थापा आदि गरि थुप्रै रत्नहरुले यो धरती छाडेर गए । यी कलाकारहरूले एकपछि अर्को गर्दै महाप्रस्थान गर्दा नेपाली गीतसङ्गीत क्षेत्रले नमिठो शून्यता अनुभूत गरिरहेको छ ।
नारायणगोपालले नेपाली आधुनिक सङ्गीतको सर्बाधिक सिर्जनशील युगको एकछत्र नेतृत्व गरेको थिए । नेपाली सुगम सङ्गीतको जग पनि उनैले निर्माण गरेको मानिन्छ । प्रेम–माणिकको सङ्गीतमा ‘आँखाको भाका आँखैले’ र ‘स्वर्गकी रानी मायाकी खानी’ नारायणगोपालका प्रथम स्पूल रेकर्ड भएका गीतहरू मानिन्छन् भने ‘सबलाई रिझाऊ भन्दा पसलमा बेचिएछु’ र ‘सानै हुरीमा बैशको सपना’ प्रसारण समयमै लाइभ रेकर्ड भएका गीतहरू थिए । गायनमा वर्चश्व राखेका नारायणगोपाल नेपाली गीतसङ्गीतको गरिमा र उचाई बढाउने थोरै कलाकारमध्येमा पर्छन् ।
एउटा कलाकारको रुपमा नारायणगोपालको बौदिकता–विद्वता बागीना (बाजा, गीत र नाच) पत्रिकाको सम्पादकत्वले स्पष्ट पारेकै हो । सत्ता–शक्तिसँग साझ्ेदारी वा सम्झैता नगर्ने कलाकारका रूपमा पनि उनलाई लिने गरिन्थ्यो, उबेला । विशेषतः गोपाल योञ्जन र नगेन्द्र थापासंग मिलेर साङ्गीतिक सिर्जनाको सङ्लो त्रिवेणी बनाएका नारायणगोपाल भाषा–साहित्यका पनि एक अब्बल अध्ययेता थिए भन्ने कुरा पनि बुझउँछ, ‘बागीना’ प्रकासनले ।
काठमाडौं–दार्जेलिङ जोड्न अम्बर गुरुङ र अगमसिंह गिरीले बनाउन थालेको साङ्गीतिक सुकीर्तिको बाटोलाई मितज्युहरु नारायणगोपाल र गोपाल योञ्जनले फराकिलो बनाएका थिए । नवीन बर्देवा, अशोक राई, हिरादेवी वाइबा, कर्म योञ्जन, दिलमाया खाती, कुमार सुब्बा, रन्जित गजमेर आदि पनि नेपाली साङ्गीतिक मूलमेसोमा जोडिने क्रम जारी थियो, नारायणगोपाल युगमा । यतिबेला काठमाडौं र सिक्किम साहित्य–सङ्गीतको सेतुबाट नजिक छ भने दार्जीलिङ पहिचानको समरमा ।
सन् १९८५–८६ पछि नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको साङ्गीतिक ट्राइपोर्ट अष्पृष्य रूपमा भाँचिन पुगेपछि नारायणगोपालले दिव्य खालिङ र आफ्नै सङ्गीतमा ‘द ब्लु नोट्स’ एलपी डिष्क रेकर्ड ल्याएका थिए । त्यसले नारायणगोपालको स्वतन्त्रत व्यक्तित्व निर्माण गर्न खोजेको देखिन्छ, सिर्जनामा । ‘द ब्लु नोट्स’ पछिका दिनहरू नारायणगोपालको साङ्गीतिक अनुलोम–विलोम व्यवसायिक सङ्गीतमा पनि अगाडि बढ्यो ।
आर्थिक उपार्जनको मनसुवाले हुनसक्छ, त्यस अवधिमा उनले केही नेपाली चलचित्रका मनोरञ्जनात्मक गीतहरु पनि गाए । नेपाल टेलिभिजनमा एकल गायनको आरम्भ पनि नारायणगोपालदेखि नै सुरु भयो । सुगम सङ्गीतका हकमा गायन–सङ्गीतलाई व्यावसायिक तुल्याउनुपर्छ भन्ने हेतु प्रथमतः नारायणगोपालले नै राखेको पाइन्छ । नत्र, उनले रूपरेखा सङ्गीत यात्रादेखि दार्जीलिङ–डुवर्ससम्मको एकल गायन यात्रा गर्ने थिएनन् होला ।
नेपाली सङ्गीत आर्जनको पेसा नबनिसकेको अवस्थामा नारायणगोपाल नाचघरको महाप्रबन्धक बन्नु स्वभाविक थियो । आर्थिक अभावको अक्कर काट्न उनले कसैलाई रिसाउने कसैलाई खुस्याउने त्यो प्रशासनिक पेशाको करबल बेहोरेका थिए । सोख त उनको साथीभाइसँग खुलेर जोक्स सुन्दै सुनाउँदै पिउनु पिलाउनु थियो ।
नारायणगोपाललाई कसैकसैले ‘अरोगन्ट’ पनि भने । मेरा सम्झ्नामा भने उनी सरासर सरल र मिलनसार हुन् । उनको बानी–व्यक्तित्वमा कहिल्यै बनावटी बडप्पन पाइनँ मैले । तर, आफुलाई ‘अरोगन्ट’ ठान्नेहरुका लागि पनि उनी महान गायक रहे, रहनेछन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
