ब्लगसोमबार, मंसिर २२, २०७१
नागरिक धर्म !
काठमाडौं शहरलाई चिरिच्याट्ट पार्न लिपापोती कार्यक्रम चल्दै गर्दा ‘यो बिरालोपन्थी विकास दुई दिनको रगरगी भएकाले तीन दिनमा फुस्स हुने’ अनुमान गरिएकै हो । त्यो बेला सरकारबाट हडबडीको बहानामा तल–वितल गरे भने सम्मेलन सकिनासाथ दूध–पानी छुट्याउने प्रतिबद्धता आएथ्यो । तर, सार्क सकिएलगत्तै नवनिर्मित संरचनाहरू भरिभङ्ग भएको समाचारहरू आउन थालिहाले । यति चाँडो पूर्वानुमान सत्य सावित हुन थाल्नुको गूढ कारण पत्तो लगाउनु नागरिकधर्म हुने भएकोले सडक अवलोकनमा निस्किएँ ।
“यूरोपका गल्ली–गल्लीमा योभन्दा झ्कासको सडक हुन्छ रे !” सडक पार गर्न लागेका एक झ्ुण्ड कर्णधारमध्ये सबभन्दा खाइलाग्दोले पेटीको गमलालाई फूटबल बनाउँदै भन्यो ।
“यो सबै यिनको कमाउने मेसो हो, पोलिटिक्स झूर भएपछि यस्तै हो, यार !” गमलाको बचेखुचेको भूगोलमा लात मार्दै दोस्रोले जुल्फी सम्यायो ।
पढ्नलाई विदेश जान सिकाउने कन्सल्टेन्सी पुग्ने हतारोमा रहेछन्, कर्णधारहरू । उनीहरू सडकबीचमा पुग्दा लेनमा ठड्याएको प्लास्टिकका ढुंगे्र डिभाइडरहरूको शहीद हुने पालो आयो । युएस आर्मी बूटको इस्तेमाल गर्दै तेस्रो फतफतायो, “यस्तो झारे विकास !!” झटपट फोटो अपलोड गर्दै चौथोले ट्विट्यो; “यस्तो झूर देशमा के रुँघेर बस्नु ?”
गाडी पातलिएको मौकामा पारिबाट दुई युवती खित्खिताउँदै सडक पार गर्न खोजेको आँखाले देख्दा खुट्टाले हठात् ब्रेक लगायो । कर्पोरेट कम्पनीको परिचय–पत्रले उनीहरूलाई बडो सुहाएको लाग्यो । म अपलक हेरिर’छु– युवतीहरूले लगालग सडकमाझ्को हरियालीमा उक्लिएर चम्किलो मुस्कानयुक्त ‘सेल्फी’ खिच्न पनि भ्याए । शहरका दुग्ध व्यवसायीहरूले पशु अधिकारवादी र हिन्दू राज्यवालाहरूलाई नैतिक समर्थन पुगोस् भनेर छाडिदिएका विकासे गौमाताहरू सडकमा नयाँ दूबो चर्दै महानगरीय सभ्यता प्रदर्शन गरिरहेका जोर युवती समीप आइपुगे ।
प्राकृतिक हिसाबले निकटवर्ती दोपाया र चौपायाबीच भलाकुसारी हुने मेरो अनुमान विपरीत युवतीहरू त चिच्याउँदै ‘धाईफल क्याटवाक्’ मा पो चले । अत्तालिंदै सडकतर्फ फालहान्ने क्रममा एउटीको हातमा परेको बिरुवा जरासहित उखेलियो । “ल, यो ट्री त ट्यास्स टाँसेका मात्र रहेछन्, वाई !” सडक तरे’सि उनले लजाउँदै भनिन् ।
“यतिका आशलाग्दाहरू नै यस्तो गैर–जिम्मेवार भए’सि कसरी बन्छ देश ?” अनायास उर्लेको धोद्रे स्वरले झ्सङ्ग भएँ । सूट–टाईमा टन्टनी कसिएका एक अधेड मनुवाले मुस्कुराउँदै परिचयका लागि हात बढाए । उनी कलेजका माडसा’ब रहेछन् । विकासको समाजशास्त्रीय आयामका विद्यावारिधि उनी कहिलेकाहीं उच्चपदस्थहरूलाई सामाजिक उत्तरदायित्व सम्बन्धमा प्रवचन समेत दिंदारहेछन् । मैले नमन् गर्नै लागेको घडीमा गुरुवरलाई देखेर आफ्नोतर्फको सामाजिक उत्तरदायित्व पूरा गर्न डाक्टर साहेबको एक शिष्यले ठाउँको ठाउँ गाडी रोकिसकेका रहेछन् । शिष्यले दिएको ‘लिफ्ट’ लिन परिगो । भारी–भरकम शरीरलाई जेनतेन रेलिङ पार गराई डाक्टर साहेब गाडीभित्र घुस्रिए । उनको रेलिङ संघर्षको दौरानमा पेटीछेउ रोपिएका दुई वटा बिरुवा भाँचिएछन् ।
त्यसपछि म एक जोडी टेलिभिजनकर्मीप्रति आकर्षित भएँ, जो शहरीहरूको सडक संस्कृतिमाथि झ्कास कार्यक्रम बनाउने दृश्यहरू खिच्न लागिपरेका रहेछन् । सडक अनुशासनहीनता र बन्करपथवादी पथिकहरूको मतिमा अब बम खसान हुने भयो भन्ने सोच्दै हेर्न लागें । त्यत्तिकैमा क्यामेराम्यानले गथासो पोखे, “कताबाट खिच्ने खै ? ‘एङ्गल’ नै मिलेन ।” त्यसपछि संवाददाताको इशारामा हरियालीमा उक्लेका क्यामेराम्यानको माडीमैदान शुरू भयो । ‘एङ्गल’ मिलाउन थालेका क्यामेराम्यानले दूबोको नयाँ चौरलाई माडीमैदान बनाए । चिटिक्कको चौरले हेर्दाहेर्दै चिन्डे रूप धारण गर्यो ।
सबै जना आफूलाई नहेरी अरूको जुम्रो केलाउन व्यस्त भए’सि कसरी टिक्छ विकास ? बुटवल आसपास फेला परेका पाषाणयुगीन मानव दाँतको बनावट आफ्नो बत्तिसासँग ठ्याक्क मिलेको दाबी गर्दै स्वयंलाई यहाँको असली रैथाने घोषित गर्ने होडबीच कतै हामीले पुच्छरयुक्त पुर्खालाई उछिनेका त होइनौं ? नत्र, आफ्नै लागि निर्मित संरचना भत्काउन किन यति बिघ्न औंताउँथ्यौं हामी ?
सुकिलामुकिलाहरूको चर्तिकला देखेर विरक्तिएको मलाई साँझ परेको हेक्कै भएन । घर फर्किने अन्तिम गाडी पारिपट्टि रोकिएको देख्दा आत्तिएको ‘मंकी’ माफिक ‘जम्प’ दिंदो भएछु, के–के बिग्रिए/भत्किए यादै गरिएन । सार्वजनिक सम्पत्ति सोत्तर पार्नेहरूमाथि नजर डाल्ने नागरिक धर्म गर्न सकेकोमा चाहिं भित्रैदेखि गद्गद् हुँदै गाडीमा झुन्डिएँ । आगे सरकारको मर्जी !
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
