रिपोर्टसोमबार, मंसिर २२, २०७१

सार्कमा सफल सुरक्षा व्यवस्थापन

हिमालखबर

रामेश्वर बोहरा

सार्क सम्मेलनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा जाँच गरिँदै । तस्वीरहरुः बिक्रम राई

सार्क सम्मेलनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा जाँच गरिँदै । तस्वीरहरुः बिक्रम राई

१८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका दक्षिण एशिया क्षेत्रका राष्ट्र–सरकार प्रमुखहरूले आतिथेय मुलुक नेपाललाई सम्मेलनको सफल आयोजनाका लागि बधाई र धन्यवाद दिए । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको नेतृत्वमा रहेको २२ दलीय मोर्चाले समेत यसनिम्ति सरकारको प्रशंसा गर्‍यो । दक्षिण एशियाली राष्ट्र–सरकार प्रमुख र देशभित्रका शक्तिहरूबाट मुक्तकण्ठले तारिफ पाउनुको कारण निश्चय नै सम्मेलन अवधिमा सरकारका सुरक्षा निकायहरूले गरेको चुस्त सुरक्षा व्यवस्थापन पनि एउटा प्रमुख थियो ।

सार्क सम्मेलनका लागि काठमाडौं आएका सात नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष र अफगान राष्ट्रपति असरफ घानी उच्च सुरक्षा ‘थ्रेट’ भएका व्यक्तित्वमा पर्छन् । प्रधानमन्त्री मोदी संसारकै तेस्रो उच्च सुरक्षा ‘थ्रेट’ मा रहेका नेता हुन् । यसैगरी, श्रीलंकामा रक्तपातपूर्ण तमिल विद्रोह समाप्त पारेका राजापाक्ष र पाकिस्तानमा आतंकवाद विरुद्धको मुद्दा उठाएर पछिल्लो आम निर्वाचनबाट तेस्रोपटक प्रधानमन्त्री बनेका शरिफको सुरक्षा ‘थ्रेट’ पनि बढ्दो मानिन्छ । यसैगरी, बढ्दो आतंकवादका बीच अफगान राष्ट्रपति घानी र बाङ्लादेशी प्रधानमन्त्री शेख हसिना वाजेद पनि कम सुरक्षा ‘थ्रेट’ मा छैनन् ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल उच्च सुरक्षा जोखिममा रहेकामध्येका एकै साथ यति धेरै भीभीआईपीहरूलाई सुरक्षाका हिसाबले वैकल्पिक व्यवस्था समेत नभएको काठमाडौं जस्तो ठाउँमा आउँदा सुरक्षा दिनु निकै चुनौतीपूर्ण रहेको बताउँछन् । उनका अनुसार, स्रोतसाधनका विकल्पहरू एकदमै सीमित थिए, आधुनिक प्रविधिको साटो मान्छेले नै सबथोक गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि नेपाली सुरक्षा निकायहरूले जुन कौशल देखाए, त्यो साँच्चै प्रशंसनीय छ । पूर्व एआईजी ढकाल भन्छन्, “हाम्रो सुरक्षा निकायहरूमा अब अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूको सुरक्षा व्यवस्थापन गर्न सक्ने आत्मविश्वास जगाएको छ ।”

यसअघिका सार्क सम्मेलनहरू सुरक्षाका कारण प्रभावित हुँदै आएकोमा काठमाडौं सम्मेलनबारे पनि आशंका र अन्योल कायम थियो । सुरक्षा विषयका अनेक टीकाटिप्पणी तथा कतिपयले चलाएका संदिग्ध समूह र व्यक्तिहरू नेपालमा छिरेको हल्लाहरूले पनि सुरक्षा चुनौती बढाइरहेकै थिए । भारतीय प्रधानमन्त्रीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण स्थगित हुँदा परिस्थिति थप चुनौतीपूर्ण बन्न पुग्यो । तर, नेपाली सुरक्षा निकायहरूले ती सब चुनौतीलाई जितेर सार्क सम्मेलनलाई निर्विघ्न बनाए ।

परिपक्व प्रयास

नेपाल सरकारले सार्क सम्मेलनको सुरक्षा व्यवस्था मिलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरेको थियो । यद्यपि, गृहमन्त्रालयको समन्वयमा परिचालित सुरक्षा प्रणालीले आवश्यक पूर्वाधारको अभाव, सीमित साधनस्रोत र आधुनिक प्रविधिमाथि पहुँच नहुँदा धेरै हदसम्म जनशक्तिमाथि निर्भर हुनुपरेको थियो । सम्मेलन अवधिभर चार सुरक्षा निकायका २८ हजार जनशक्ति खटाइएको थियो ।

सुरक्षा निकायहरूले काठमाडौं विमानस्थल, राष्ट्रिय सभागृह र अतिथि राष्ट्र–सरकार प्रमुखहरूको आवास क्षेत्रलाई सीसीटीभी निगरानीमा राखेका थिए । राष्ट्र–सरकार प्रमुखहरूको सुरक्षामा पहिलो पटक देशभित्रै निर्मित ‘टेलिफोन जामर सिस्टम’ प्रयोग गरियो । २ हजारदेखि ३ हजार ६०० मेगाहर्जसम्म विद्युतीय तरंग जाम गर्ने यो सिस्टम राम–लक्ष्मण रिमाल दाजुभाइले चिनियाँ उपकरणहरू एसेम्बल गरेर बनाएका थिए । नेपाल प्रहरीले रिमाल दाजुभाइको ‘टेक्नोलोजी सेल्स प्रालि’ बाट एउटाको रु.१ करोड १५ लाखको दरले चार वटा सिस्टम किनेको थियो । बेलायतमा यस्तो एउटा सिस्टमलाई रु.६ करोड पर्छ । प्रहरी सञ्चार निर्देशनालयका प्रमुख डीआईजी अमृतलाल श्रेष्ठका अनुसार, नेपाल जामर प्रयोग गर्ने भारत र पाकिस्तानपछि दक्षिण एशियाको तेस्रो मुलुक हो ।

प्रविधिको उच्चतम अभ्यास गर्ने अवस्थामा नरहेका नेपाली सुरक्षा निकायहरूले सुरक्षा व्यवस्थापनमा आफ्नो जनशक्तिलाई लगातार १६ घण्टासम्म खटायो । वैकल्पिक बाटो नभएकोले राष्ट्र–सरकार प्रमुखहरूको विमानस्थलदेखि आवास र आवासदेखि सम्मेलनस्थलसम्मको सवारीमा सडक खाली पारियो । त्यसलाई सहज बनाउन सरकारले दुई दिन सार्वजनिक विदा, चार दिन शिक्षण संस्था विदा र यातायातका साधनमा पाँच दिनसम्म जोर–बिजोर प्रणाली लागू गर्‍यो । सडकमा यस्तो कडाइसँगै निरन्तर हवाइगस्ती गर्दा केहीले ‘अघोषित कफ्र्यू’ लगाएको भनेर आलोचना गरे पनि पूर्वानुमान गरिएका सुरक्षा चुनौतीहरूलाई निस्तेज पार्न योभन्दा अर्को विकल्प सम्भवतः थिएन ।

सार्कमा सफल सुरक्षा व्यवस्थापनसुरक्षा व्यवस्थापन अवधारणामा सुरक्षा र सहजता सँगसँगै आउने हुँदा सुरक्षामा कडाइ गर्दा सहजता स्वाभाविक रूपमा कमजोर हुन्छ । सुरक्षाकै निम्ति लिइएका यस्ता निर्णयहरूले राजधानीवासीको दैनिकीलाई अवश्य असहज बनायो, तर सुरक्षा र सहजताबीच सामञ्जस्य मिलाउने अधिकतम प्रयास पनि भएको देखियो । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल सुरक्षामा गरिएको कडाइलाई लिएर केही आलोचकले ‘द्वन्द्वकालको झ्ल्को’ सँग जोडे पनि जनताले पूर्ण सहयोग गरेको बताउँछन् । चीनले एपेक सम्मेलन गर्दा बेइजिङमा सात दिन सार्वजनिक विदा दिएको उदाहरण दिंदै ढकालले भने, “यस्ता उपाय अवलम्बन नगरेको भए जनताले झन् बढी सास्ती बेहोर्नुपर्ने अवस्था आउन सक्थ्यो ।”

सुरक्षा व्यवस्थापनका दुईथरी अवधारणा प्रचलित छन्– आक्रामक र रक्षात्मक । आक्रामक सुरक्षा व्यवस्थापनमा त्रास पैदा गराइन्छ, तर काठमाडौं सार्कको सुरक्षा व्यवस्थापन रक्षात्मक प्रकृतिको थियो । बाह्य आतंकवादी समूहहरूको समेत चलखेल हुनसक्ने भन्दै सुरक्षा व्यवस्थापनलाई लिएर धेरैले आशंका गरिरहेको बेला आफ्नै ‘पोजिशन’ पनि केही कमजोर रहेकाले सम्भव भएजति स्रोतसाधन परिचालन गरिएको थियो, जसमा शतप्रतिशत सफलता हात लागेको छ । थुप्रै असुविधा भोग्दाभोग्दै पनि जनताले सुरक्षा व्यवस्थापनमा पूरा सहयोग गरेबाट यो तहको सफलता सम्भव भएको बताउँदै पूर्वएआईजी नवराज ढकाल भन्छन्, “जनतामा यो तहको सहनशीलता अन्यत्र पाउन गाह्रो छ ।”

सुरक्षामा कडाइ गर्दागर्दै पनि नागरिकसँग सुरक्षाकर्मीहरूले गरेको व्यवहार अर्को प्रशंसायोग्य पक्ष रह्यो । सुरक्षाका नाममा कतै दुव्र्यवहार भएको सुनिएन । सुरक्षामा चुनौती पैदा हुने आशंकामा केही व्यक्ति पक्राउ पर्नुलाई नेपाली सुरक्षाकर्मीहरू प्रविधि र डाटाबेसमा अभ्यस्त नहुनुको परिणाम मानिएको छ । सुरक्षा निकायबीचको समन्वय भने अब्बल देखिएको थियो । यो पटक नेपालमा सुरक्षा ‘थ्रेट’ का रूपमा चर्चा गरिने कतिपय भ्रमहरू पनि तोडिएको सुरक्षाविज्ञहरू बताउँछन् । उनीहरूका अनुसार, सुरक्षा निकायहरूको समन्वयात्मक प्रयास र नागरिकको साथबाट जस्तासुकै सुरक्षा चुनौतीलाई पनि निस्तेज पार्न सकिन्छ भन्ने विश्वास पलाएको छ ।

‘न्युट्रल भेन्यु’ हुने अवसर

१८औं सार्क सम्मेलनको सफलताले नेपाल अन्तर्राष्ट्रिय जमघटहरूको सुरक्षा व्यवस्थापन गर्न सक्षम रहेको सन्देश प्रवाह भएको छ । त्यसले आउँदा दिनमा नेपाल अन्तर्राष्ट्रियस्तरका सभा–सम्मेलनका लागि उपयुक्त ‘न्युट्रल भेन्यु’ बन्ने सम्भावना बढाएको छ । “पूर्वाधार विकास, क्षमता अभिवृद्धि र प्रविधिको उच्चतम प्रयोगमा ध्यान दिने हो भने नेपाल अब अन्तर्राष्ट्रिय सभा–सम्मेलनको ‘न्युट्रल भेन्यु’ बन्न सक्छ” पूर्वएआईजी ढकाल भन्छन्, “सुरक्षा व्यवस्थापनलाई पनि त्यही अनुसार डिजाइन गर्न सकियो भने छिमेकका दुई उदीयमान आर्थिक शक्तिका कतिपय अवसरलाई नेपालमा तान्न सक्छौं ।”

नेपालले अर्को वर्ष आफूसहित भारत, बाङ्लादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भूटान सदस्य रहेको विमस्टेक सम्मेलन आयोजना गर्दैछ । सार्क सम्मेलनका क्रममा देखिएका कतिपय कमजोरीको समाधान त्यसबेला हुनेछ– ओभरल्यापिङ सीसीटीभी, पोर्टेबल एक्सरे मेशीनको प्रयोग लगायतबाट । सुरक्षा संवेदनशीलताकै कारण उत्तरी छिमेकी चीन लगायतका मुलुकहरूबाट उच्चस्तरीय राजनीतिक भ्रमणहरू हुन नसकिरहेका बेला सार्क सम्मेलनको अनुभव र यसबाट प्रवाह भएको सन्देशले अनुकूलता सिर्जना गरेको छ । सुरक्षा व्यवस्थापनका निम्ति पूर्वाधार र प्रविधि विकासमा गरिने पहलले त्यसलाई थप सुनिश्चित बनाउन सक्छ ।

गृह मन्त्रालयका प्रवक्ता ढकाल नेपालले यसपालि धेरै पाठ सिकेको बताउँछन् । अब त्यही अनुसार कार्ययोजना बनाउँदै प्रविधि प्रयोगमा विशेष जोड दिंदा सडकमा यतिका सुरक्षाकर्मी नउतारी नै ठूल्ठूला सम्मेलन आयोजना गर्न सकिने ढकाल बताउँछन् । “यसपटक हामीले परम्परागत रूपमा काम गर्‍यौं”, प्रवक्ता ढकाल भन्छन्, “अब आधुनिक प्रविधिबाट काम लिने हो ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>