टिप्पणीसोमबार, मंसिर २२, २०७१
गर्भपातको त्रासदी
तीन पटक पहिलो त्रैमासिकमा गर्भ तुहिएकी महिलाको जाँचपड्ताल गर्दा विभिन्न व्याक्टेरियल र भाइरल संक्रमण भएको पाइयो । सोही मुताबिक आवश्यक उपचार गरेर ६ महीनापछि पुनः रगत जाँची संक्रमण बाँकी नरहेको निक्र्योल गरिएपछि गर्भवती हुन सल्लाह दिइयो । त्यसपछि महीनावारी रोकिएदेखि बच्चा नजन्मिएसम्म निगरानीमा हेरचाह गर्दा उनको चौथो गर्भ सफल भयो ।
गर्भ तुहिनुको कारण
गर्भ रहेदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्तासम्म दोस्रो त्रैमासिक र २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ । विकासोन्मुख देशहरूमा गर्भावस्थाको २८ हप्तासम्म (विकसित देशहरूमा २० हप्ता) मा पाठेघरभित्रको भ्रूण र अन्य वस्तुहरू पाठेघरबाट बाहिर आउनुलाई गर्भ तुहिनु भनिन्छ । १५–२० प्रतिशत महिलामा गर्भ आफ से आफ तुहिन सक्छ भने शिशुको मुटुमा धड्कन आएपछि आफ से आफ गर्भ तुहिने समस्या ६ देखि ८ प्रतिशतमा झर्छ ।
डिम्ब वा शुक्रकीटमा वंशाणुगत समस्या, पाठेघरमा भ्रूण बस्ने वातावरण नहुँदा, पाठेघरमा अनावश्यक मासु बढ्दा, जननेन्द्रिय भित्र कीटाणुजन्य संक्रमण हुँदा वा गर्भावस्थाको शुरूमा अधिक ज्वरो आउने संक्रमण हुँदा गर्भ तुहिन सक्छ । दोस्रो त्रैमासिकतिर गर्भ तुहिनुका प्रमुख कारण भने पाठेघरको मुख खुकुलो हुनु हो । गर्भावस्थामा ज्वरो आउने, गन्धयुक्त योनीस्राव बग्ने, रगत देखापर्ने, तल्लो पेट दुख्ने जस्ता समस्या देखियो भने हेलचेक्र्याईं गर्नै हुँदैन, तुरुन्त उपचार थाल्नुपर्छ ।
एक पटक जीवित बच्चा जन्माइसकेको महिलामा गर्भ तुहिने सम्भावना १२ प्रतिशत हुन्छ । त्यसैगरी, दुई पटक, तीन पटक, चार पटक वा सोभन्दा बढी पटक गर्भ तुहिसकेकाहरूमा यो जोखिम क्रमशः २४ प्रतिशत, २६ प्रतिशत, ३२ प्रतिशत, ४६ प्रतिशत र ५० प्रतिशत हुन्छ । आफ से आफ गर्भ तुहिने क्रममा तल्लो पेट दुख्ने एवं योनीद्वारबाट रगत बहने प्रक्रियासँगै पाठेघरको मुखको अवस्था, भ्रूणको मुटुको धड्कन, पाठेघरभित्रको गर्भ सम्बन्धी पदार्थहरूको अवस्था हेरेर तुहिने प्रक्रियालाई पूर्ण, अपूर्ण, आघात मात्र पुगेको (थ्रेटेन्ड), सग्लो भ्रूण नभएको (मिस्ड), सेप्टिक (संक्रमित) गर्भ तुहिने प्रक्रिया रोक्न नसकिने (इन्इभिटेबल) आदि अवस्था छुट्याइन्छ ।
उपचार प्रक्रिया
वंशाणुगत, जन्मजात पाठेघरको खराबी, इन्डोक्राइन ग्रन्थी सम्बन्धी (अनियन्त्रित मधुमेह, थाइरोइड) गडबडी, पाठेघर तथा स्त्री जननेन्द्रियको व्याक्टेरियल एवं भाइरल संक्रमण, मादक पदार्थ तथा धूमपान गर्ने बानी र रक्तनलीमा रगत जम्ने (बाक्लिने) समस्या भएका महिलामा पहिलो त्रैमासिकतिर गर्भ तुहिने समस्या बढी हुन्छ । यस्ता महिलाले गर्भ जाँचमा जाँदा आफ्नो स्वास्थ्य सम्बन्धी सबै रेकर्ड लिएर जानुपर्छ । यस्ता महिलाका गर्भ तुहिने समस्या पत्ता लगाउन मधुमेह, रक्तनलीमा रगत जम्ने समस्या, उच्च रक्तचाप, मिर्गौलाको खराबी, जन्मजात विकलाङ्ग (शारीरिक दोष), आमाको रक्त समूह नेगेटिभ थियो कि भनेर जाँच्नुपर्छ ।
यस्ता महिलाहरूलाई गर्भपूर्व फोलिक एसिड र गर्भकालमा एस्पिरिन, हेपारिन (रगत जम्न नदिने) औषधि ख्वाउनुपर्ने हुन्छ । चिकित्सकको निगरानीमा रहने यस्ता महिलाले महीना पुग्नासाथै वा बच्चाको फोक्सो परिपक्व भएको निक्र्योल हुनासाथ सिजेरियन अपरेशनबाट सुत्केरी हुनुपर्छ । यसमा एकपटक सफल भएपछि त्यसपछिका गर्भ समस्यापूर्ण नहुन सक्छ ।
म्याक डोनाल्ड स्युचरिङ्ग
पाठेघरको मुख खुकुलो भयो भने गर्भावस्थाको दोस्रो त्रैमासिकतिर गर्भ तुहिन्छ । यस्तोमा सानो सूतक (बच्चा वरिपरिको पानीको थैली फुटेको) भएको केही समयपछि नै विना दुखाइको व्यथा लागेर गर्भ खेर जान्छ । त्यसरी निस्केको गर्भे शिशु केही क्षण चल्मलाउँछ, तर बाँच्ने सम्भावना निकै कम हुन्छ । गर्भवती हुनुपूर्व तथा गर्भावस्थामा अल्ट्रासाउण्डबाट पाठेघरको मुखको अवस्था पत्ता लगाउन सकिन्छ । र, समस्या भएका महिलाहरूमा गर्भ रहेको १४ देखि १६ हप्तापछि पाठेघरको मुखमा टाँका लगाइन्छ, जसलाई म्याक डोनाल्ड स्युचरिङ्ग भनिन्छ ।
टाँका लगाएपछि कथंकदाचित योनीद्वारबाट रगत, पानी बग्यो वा तल्लो पेट दुख्यो भने बच्चा विकसित भएको निश्चित गरेर गर्भावस्थाको ३७ हप्तापछि टाँका निकालिन्छ । यस्तो उपचार प्रक्रियामा रहेका धेरैजसो महिलाको थप अपरेशन (सिजेरियन) नगरी योनीद्वारबाटै बच्चा निकालिन्छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
