रमझमसोमबार, मंसिर २२, २०७१
सुदूरकी सुन्दरी
–बच्चु विक, महेन्द्रनगर
२०६१ मंसीर पहिलो साता सुदूरपश्चिमको बैतडीमा धार्मिक जात्रामा विवाद उत्पन्न हुँदा कथित उच्च जातका केही व्यक्तिले ‘काला, मैला दलित जतिलाई कुट्ने’ उर्दी जारी गरेका थिए । यो मंसीरको पहिलो साता त्यही दलित समुदायकी सरस्वती विक ‘मिस सुदूरपश्चिमाञ्चल–२०१४’ बनिन् । “१० वर्षमा सुदूरपश्चिम कहाँदेखि कहाँ पुगिसक्यो”, २० वर्षीया सरस्वती भन्छिन् । हुन पनि, एउटा संघर्षशील विश्वकर्मा युवतीले मिस सुदूरपश्चिमाञ्चलको ताज पहिरिनु आफैंमा सुदूरपश्चिम परिवर्तनको अकाट्य प्रमाण हो ।
अहिले कैलालीको धनगढी नगरपालिका–८ मा बसेकी सरस्वती ७ मंसीरको प्रतियोगिताको अन्तिम चरणमा १७ प्रतिस्पर्धीलाई उछिन्दै मिस सुदूरपश्चिमाञ्चल भइन् । कैलाली बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षकी विद्यार्थी र धनगढी एफएममा कार्यक्रम प्रस्तोता रहेकी उनी कैलालीको मालाखेती–१ बल्मीमा १२ कक्षा सकेर धनगढी आएकी थिइन् ।
एसएलसी उत्तीर्ण नगर्दासम्म उनी लुगा सिलाउन आमालाई सघाउँथिन् । बुवा चक्रले भारतको महाराष्ट्रस्थित पानीहिलमा ‘टेलरिङ शप’ खोलेर आमा कलशालाई पनि उतै लगेपछि जेठी छोरी सरस्वतीले घरमा दुई जना भाइ रेखदेखको जिम्मेवारी पनि सम्हालिन् । दुःख झेल्दै, बुझ्दै आएकी सरस्वतीलाई आफ्नो सामाजिक परिवेश राम्रोसँग थाहा छ । “आफूलाई कमजोर ठान्दिनँ”, उनी भन्छिन्, “अब त धेरै परिवर्तन पनि भइसक्यो ।”
उनी गीतहरु लेख्छिन् र गायनमा पनि दक्खल राख्छिन् । मिस सुदूरपश्चिमाञ्चलको उपाधिसँगै मोडलिङतिरको यात्रा पनि शुरु गरेकी सरस्वती अब समय पाएसम्म गायनलाई खार्ने बताउँछिन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट