थप समाचारमंगलबार, मंसिर २३, २०७१

गाउँका नर्स

हिमालखबर

दाङको नारायणपुरमा भेला भएका सुँडिनी। तस्वीरः सन्तोष दहित

दाङको नारायणपुरमा भेला भएका सुँडिनी। तस्वीरः सन्तोष दहित

शहरबजारमा सुरक्षित प्रसूति सेवा दिने थुप्रै सुविधासम्पन्न अस्पताल र तालीमप्राप्त स्वास्थ्यकर्मी छन्। तर, दाङको सौडियार–९ कनरियाकी सम्पत्ति चौधरीले गाउँमा सुत्केरी हुने हरेक महिलालाई बेथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म भरपर्दो प्रसूति सेवा दिइरहेकी छन्। औपचारिक तालीम नलिए पनि अनुभवबाट सिकेर २२ वर्षदेखि यो काममा लागिरहेकी उनलाई सुत्केरी गराउने, रक्ताम्मे सुत्केरी र सालनालसहितको शिशुलाई सामान्य अवस्थामा ल्याउने, सुत्केरीलाई तेल लगाउने तथा न्वारानसम्म आमा र शिशुलाई गर्नुपर्ने स्याहारबारे राम्रो ज्ञान छ।

स्थानीय भाषामा ‘सोहि्रन्या’ भनेर चिनिने यी सुँडिनीले यस्तो सेवा दिएबापत दैनिक रु.१०० सम्म पाउँछिन्, सुत्केरीको घरबाट केही लत्ताकपडा र अन्नपात पनि मिल्छ। कहिलेकाहीं एकैदिनमा तीनवटासम्म सुत्केरी गराउनुपर्छ। हिजोआज गर्भवतीहरू पनि सल्लाह लिन आउँछन्। उनी गर्भवतीको पेट जाँच्छिन्, बच्चा चले/नचलेको सोध्छिन्, खानपिनबारे सम्झाउँछिन् र आवश्यक अरू सल्लाह पनि दिन्छिन्। भन्छिन्, “धेरै अप्ठ्यारो अवस्थाका गर्भवतीलाई अस्पताल जान सल्लाह दिन्छु, तर धेरैजसो आफैंले गराउँछु।” अस्पतालले सुत्केरी गराउन नसकेका कतिपय गर्भवतीलाई अस्पतालबाट फर्काएर पनि उनले सुत्केरी गराएकी छिन्। भन्छिन्, “अस्पतालले बच्चा जन्मेपछि घर पठाइदिन्छन्, त्यसपछि फेरि हामीलाई नै खोज्दै आउँछन्।”

सौडियार–५ राजपुरकी मुसी चौधरी पनि गाउँमा भरपर्दो प्रसूति सेवा दिने सुँडिनीका रूपमा परिचित छन्। १५ वर्षदेखि गर्भवती र सुत्केरीको स्याहार गर्दै आएकी उनी सुँडिनी नहुने हो भने गाउँका सुत्केरीहरूको स्वास्थ्य बिग्रिने र पाठेघर खस्ने खतरा हुने बताउँछिन्। दाङकै नारायणपुर–३ झुम्केबारीकी फूलमती चौधरीले पनि यही कामबाट परिवारको गुजारा चलाउँदै आएकी छन्। औपचारिक तालीम केही नलिए पनि २० वर्षदेखि यो काम गरिरहेकी उनी वरपरका गाउँबाट समेत आफूलाई बोलाउने गरेको बताउँछिन्। फूलमती भन्छिन्, “दुःख परेको बेला सहयोग गरेको भन्दै कसैले पाँचसय, कसैले एक हजार रुपैयाँ दिन्छन्।”

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘सोहि्रन्या’ का रूपमा परिचित सम्पत्ति, मुसी र फूलमती जस्ता धेरै महिला छन्, जसले दूरदराजमा आमा र शिशुको जीवनरक्षा गरिरहेका छन्। आफ्नै अनुभवले पोख्त उनीहरूलाई सुरक्षित र व्यवस्थित सुत्केरी गराउन आधुनिकीकरण र समयसापेक्ष गर्ने काम भएको छैन। सरकारले केही समयअघि गाउँगाउँमा सुत्केरी गराउने महिलाका लागि तालीम सञ्चालन गरे पनि सबैले तालीम पाएका छैनन्। औपचारिक तालीम नपाए पनि गाउँघरमा चाहिं उनीहरू नै भरपर्दा ‘नर्स’ बनेका छन्।

सन्तोष दहित, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>