थप समाचारबुधबार, मंसिर २४, २०७१

नयाँ बाटाेतिर बेलायती तन्नेरी

हिमालखबर

-डम्बरकृष्ण श्रेष्ठ, बेलायतबाट फर्केर

एक वृद्धका साथ ‘हेल्पिङ यू’ अभियानकी सदस्य पूजा पुन।

बेलायतका नेपाली समुदायमाझ् तन्नेरीहरुको एउटा समूह छ, जो अंग्रेजी नजान्ने नेपाली वृद्ध–वृद्धालाई मेडिकल चेकअप, सरकारी काममा सहयोग र सामाजिक सुरक्षादेखि ट्राफिक चेतनासम्मका काममा आफैं पुगेर सहयोग गरिरहेको छ।

नेपाली तन्नेरीहरुको ‘हेल्पिङ यू’ समूहले बूढाबूढीहरुलाई साताको एक दिन आइतबार भेला गरेर पैदल यात्रा गराउने र पार्कहरुमा घुमाउने (हे. तस्वीर) सम्मको काम गरिरहेको छ। “सात महीना भयो ‘हेल्पिङ यू’ जन्मिएको”, समूहको संयोजन गरिरहेका लेखराज लिम्बू (२१) भन्छन्, “बेलायतमा पनि नेपालीहरु आफ्नो परिवार, जात र क्षेत्रभन्दा माथि उठ्न नसक्दा अहित बढेको देखेर हामी सक्रिय भएका हौं।”

गैर–आवासीय नेपाली संघ (एनआरएन) लगायतका संस्थाहरु समेत राई, लिम्बू, गुरुङ, मगर, क्षेत्री–बाहुन, नेवार वा पूर्वेली, पश्चिमे, फलाना पार्टी जस्ता भावनाले विभाजित हुन पुग्दा बेलायतमा सामान्य नेपालीहरुको पीडा ओझ्ोलमा परेको लेखराजको विश्लेषण छ।

जात, क्षेत्र र पार्टीको चर्को राजनीतिबीच सामुदायिक हितका लागि गर्नुपर्ने धेरै काममा कसैको ध्यान नगएको उनी बताउँछन्। “उस्तै परे हामी म्यासेजको भरमा एकै पटक २५/३० जनासम्म जम्मा हुन्छौं, समूहमा पदको बाँडफाँड छैन”, लेखराज भन्छन्, “पदले नै नेपालीहरुलाई बिगारेको देखेकाले हामीले समूहमा सानो–ठूलो हुने पद राखेका छैनौं।”

आइतबारे भेलापछिको पैदल यात्रामा तन्नेरी र वृद्ध–वृद्धा।

११ तन्नेरी मिलेर शुरु गरेको ‘हेल्पिङ यू’ अभियानमा अहिले करीब ५०० जना आबद्ध भएका छन्। उनीहरु पढाइ वा काम पछिको समय मिलाएर वृद्धवृद्धाको सेवाको जिम्मा लिन्छन्। समान पेन्सनको माग गरिरहेका भूपू ब्रिटिश–गोर्खाहरुले बेलायतमा बस्ने सुविधा पाएपछि नेपालबाट धेरै मानिस त्यहाँ गएका छन्। त्यसरी बेलायत जानेमा मलाया, बोर्नियोदेखि फकल्याण्ड युद्धसम्म लडेका गोर्खाहरु छन्।

अंग्रेजी भाषा र अंग्रेज संस्कृति नबुझेका उनीहरुले छोराछोरी लैजान पाएका छैनन्। उनीहरु अस्पताल, बजार जता गयो उतै समस्यामा पर्छन्। त्यहाँ जान मद्दत गर्ने नाममा पैसा असुलेका लाहुरे संस्थाहरु अहिले उनीहरुसँग छैनन्।

११ तन्नेरी मिलेर शुरु गरेको ‘हेल्पिङ यू’ अभियानमा अहिले करीब ५०० जना आबद्ध भएका छन्।

‘बोलेर हैन गरेर देखाउनुस्’ भन्दै अघि बढेका तन्नेरीको समूह यस्ता वृद्धवृद्धाका लागि ठूलो सहारा भएको छ। तन्नेरी समूहले ठूलो रकम खर्चेर बेलायत गएका वृद्धवृद्धाको कष्टकर जीवनलाई सहज पार्नुको साथै लागूऔषधको कुलतमा फँसेका नेपाली युवक–युवतीलाई सुधार्ने अभियान पनि चलाएका छन्।

उनीहरुको नजर नेपालतिर पनि छ। गएको दशैंमा उनीहरुले ‘गरीबका लागि दशैं खर्च’ शीर्षकमा रु.६० हजार पठाए, जुन फुटपाथमा चाड पर्खेर बसेकाहरुलाई बाँडियो। “त्यो पैसा पकेट खर्चबाट जोगाएका थियौं”, लेखराज भन्छन् “सडकमा दुःखी जीवन बिताइरहेकाहरुले दशैं मनाउन् भनेर रु.१ हजारका दरले बाँड्यौं, अहिले नेपाल पठाउन न्यानो लुगा संकलन अभियान पनि चलाइरहेका छौं।”

रक्तदान गर्दै समूहलाई संयोजन गरिरहेका लेखराज लिम्बू

‘हेल्पिङ यू’ को कामले बेलायतस्थित नेपाली तन्नेरीहरुमा उत्साह संचार भएको छ। समूहमा आबद्ध भइसकेकी मिरुना मगर (२०) पढाइसँगै साताको एक दिन आफ्नो समुदायको लागि खट्दा बेग्लै आनन्द महसूस हुने बताउँछिन्।

समाजशास्त्रमा स्नातक गरिरहेकी उनी आफू पढिरहेको ब्रुनोल युनिभर्सिटीको सामाजिक सेवा कार्यक्रम अन्तर्गत तीन महीनाअघि नेपालको काभ्रेमा सामुदायिक भवन निर्माणमा सहभागी भएकी थिइन्। ब्रुनोल युनिभर्सिटीमा नेपाली विद्यार्थी समूहकी अध्यक्ष समेत रहेकी मिरुना भन्छिन्, “बेलायतको तन्नेरी पुस्ता नेपाली समाजप्रति जिम्मेवार बनेको उदाहरण हो, ‘हेल्पिङ यू’।”

रोहाम्टन युनिभर्सिटीमा सोसल एण्ड एन्थ्रोपोलोजी विषयमा स्नातक गरिरहेकी सुमिता आले (२६) र गोर्खा वेलफेयर सोसाइटी अन्तर्गतको युवा समूहका अध्यक्ष निलिमा थापा (२२) पनि बेलायतको नेपाली समाजमा तन्नेरीहरुको ‘हेल्पिङ यू’ अभियान महत्वपूर्ण हुने बताउँछिन्। धेरैले राम्रो गरिरहेका भए पनि नराम्रो कुराको मात्र बढी चर्चा हुने गरेकोले राम्रोलाई प्रोत्साहन हुनुपर्ने निलिमाले बताइन्।

समूहले वृद्ध–वृद्धालाई मेडिकल चेकअप, सरकारी काममा सहयोगदेखि साताको एक दिन पैदल यात्रा र पार्कहरुमा घुमाउनेसम्मको काम गरिरहेको छ ।

समूहकी सदस्य मिरुना मगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>