टिप्पणीबुधबार, मंसिर २४, २०७१
शहरको ‘आउटलुक’
विकसित मुलुक पुगेर फर्कने मानिसहरूको प्रायः एउटै प्रतिक्रिया हुन्छ, ‘आहा! कति सफा र उज्यालो।’ प्रतिक्रियाबाटै बुझिन्छ– झट्ट विकसित महसूस गराउन सक्ने दुई कुरा– सफा र उज्यालो रहेछन्। सार्क सम्मेलनकै बहानामा सही काठमाडौंमै बसेर पनि केही दिन यो महसूस गर्न पाए राजधानीवासीले।
कलंकीहुँदै थानकोटबाट काठमाडौं बाहिर जाँदा होस् या आउँदा म विदेश घुमेर फर्केकाहरूको त्यही ‘सफा र उज्यालो’ भन्ने प्रतिक्रिया मनमा खेलाउन पुग्छु। देख्छु– सडकछेउमा मैला घरहरू। अनि ती घरहरूमा मैलोले कट्कटिएका पर्दासहितका होटल बाहिर असरल्ल फोहोर भाँडासहितको रछ्यान। माछापुच्छ्रेको मनमोहक तस्वीर देखेर नेपाल आएका पर्यटक जब यी दृश्य छिचोल्दै हिंड्छन् के सोच्दा हुन् शहरको ‘आउटलुक’ देखेर!
सार्क सम्मेलनका लागि एअरपोर्ट वरिपरिका घरहरूमा त सरकारले रंग पोतिदियो बाँकी ठाउँमा भने उस्तै बिजोग। शहरका बीचमा घर बनाएर आकर्षक भाडा उठाउने र मैलो पारेर राख्नेले पनि खूब तारीफ गरे, सार्क बेलाको काठमाडौंको सफा र उज्यालोको। त्यसमै पर्यौं यहाँका आकाशे पुलमा दिसापिसाब हेर्दै दिसामुक्त गाउँको समाचार लेख्ने हामी जस्ता पनि। त्यसमध्येमै थियौं ठूल्ठूला एक्सन प्लान बनाउँदै दिसापिसाब गरेपछि हात धुन सिकाउनेहरू पनि! दैनिक जीवनका आधारभूत कुरा पनि हामीलाई अरूले सिकाउँदैछन्। सफाइ र आरोग्यको लागि हाम्रो पूर्वीय दर्शन संसारका कुनै योजना भन्दा कम छैन! र, पनि काठमाडौंले यति सफा र उज्यालो हुन सार्क सम्मेलन नै पर्खनु पर्यो।
सम्मेलनको बेला हरेक दिन जसो म शहरको उज्यालोको आनन्द लिंदै हिंडें साँझ्मा। भलै त्यो जोर–विजोर सवारी सञ्चालनका कारण जुरेको किन नहोस्। तीन दिनसम्म लगातार सोल्टीमोडमा उभिएर हेर्दा मानिसहरूको मूड निकै रमाइलो देखिन्थ्यो। सडकपेटीका पोलमा बल्ने सोलारका बत्ती भन्दा चम्किला थिए, तिनका आँखा। धेरैको मुखमा एउटै कुरा ‘यस्तो सधैं भइदिए!’ मानौं ती कुनै सुन्दर सपनामा छन् र ब्युँझ्न चाहेका छैनन्। कम्तीमा म आफूले र हरेक अनुहारमा शायद त्यही महसूस गरें।
बबरमहल पुगेर बानेश्वरतिर हेर्दा मनै फुरुङ्ग हुन्थ्यो। बाटोमा राखिएका फूल–बिरुवालाई हेर्दै टक्क उभिंदा मलाई पनि लाग्यो, म मेरो सपनाको देशमा छु। रातारात यो सबै गराउनेलाई धन्यवाद भनिरहें।
मलाई र मैले महसूस गरेका अरूलाई पनि फुरुङ्ग तुल्याउने त्यही ‘सफा र उज्यालो’ न थियो। हुनैपर्ने न्यूनतम कुरा समेत नभएको शहरमा यति मात्र हुँदा पनि हामीलाई लाग्यो के के न भयो। र अबको चिन्ता– कतै यो रातारात ध्वस्त हुने त होइन! तर चिन्ताले मात्र केही हुनेवाला छैन। र, सरकारलाई गाली गरेर मात्रले पनि यो जोगिंदैन।
श्ाहर सफा र उज्यालो हुन थप बजेट वा अतिरिक्त योजना भन्दा पनि इच्छाशक्तिको खाँचो छ। इच्छा नागरिकले राख्ने हो, बल पुर्याउने सरकारले हो। शहरको ‘आउटलुक’ बिगारेर पैसा मात्र कमाउने ध्याउन्न राख्नेहरूले सम्झ्नुपर्छ, सफा र उज्यालो शहरप्रतिको आफ्नो दायित्व। जसको सुरुआत– आफ्नो घर वरिपरिको वातावरणको जिम्मा लिएर गर्न सकिन्छ। नागरिकतहमा यो बानी परिसकेको छैन भने सरकारले नियम लगाएर भए पनि बानी बसाउन थाल्नुपर्छ। यसको सुरुआत सडक बगैंचाबाट हिंड्ने, जथाभावी बाटो काट्नेहरूलाई ‘कारबाही’ गरेर हुनथालेको पनि छ। तर, यस्तो कारबाही तब मात्र न्यायिक बन्न सक्छ, जब ती ‘अपराध’ को वास्तविक कारण पहिचान गर्न सकिन्छ। किनभने शहर सदैव सफा र उज्यालो हुनसक्ने त सरकार र नागरिकको स्वस्फूर्त सहकार्यबाट नै हो।
सम्मेलन सकिएको पाँच दिनपछिको बेलुकी पुनः त्यही बाटो हिंड्दा पाएँ, सडक बत्तीहरू केही बलेका छन्, कतै निभिसकेछन्। सौर्य ऊर्जाबाट बल्ने बत्ती किन निभ्यो? घाम त लागेकै छ। कतै योजनाकारहरू अर्को विकल्पमा त पुगेनन्! मनमनै कामना गरें, सडकको प्राथमिकतामा परिरहोस्, सोलार बत्ती। अर्को विकल्प नखोजियोस्। अँध्यारो नफर्कियोस्। अँध्यारोमा ठोक्किंदा गमला मात्र फुट्दैन, बटुवा पनि घाइते हुन्छन्। त्यतिबेला गमलाले दोषीको नियति बेहोर्नु नपरोस्।
अनेकन् समस्या र अस्थिरताको बीचमा पनि सार्क सम्मेलनताकाको शहरको सुन्दर स्वरुपबाट हामीले जुन ऊर्जा र खुशी पायौं त्यो गजबकै रह्यो। यति स–साना कुरामा हाम्रो यति ठूला आनन्द लुकेको धेरैलाई महसूस भयो। सरकारको सही कार्ययोजना अनि हाम्रो सानो प्रयासले ती आनन्द निरन्तर हुनसक्छन् भने त्यति किन नगर्ने? स–साना कुराका लागि तड्पिनुपर्ने नियतिबाट अब पार पाउनै पर्छ। यसका लागि सरकारको सहयोगीका रूपमा निजी–नागरिक प्रयास हुन जरूरी छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट