थप समाचारबुधबार, मंसिर २४, २०७१
‘विवेकशून्य १० वर्षे युद्धले आँशु मात्रै दियो’
आफ्नो पछिल्लो पुस्तक ‘अ वर्ल्ड अफ विडोज’ मा अधिवक्ता मार्गरेट ओवेन लेख्छिन, “महिलाका लागि पतिको मृत्यु भनेको ‘पार्टनर’, संरक्षक र आय आर्जन गर्ने व्यक्ति गुमाउनु मात्रै होइन, यसले महिलाको सामाजिक हैसियत र जीवन शैलीमै ठूलो फेरवदल ल्याउँछ ।”

प्रमिला कार्की, सीता खड्का, हेमा सिंह, कमला तमाङ र दुर्गा खड्काका पति प्रहरीमा जागिरे हुँदा माओवादीसँगको युद्धमा मारिए । यी एकल महिलाहरु कहिलेकाहीं भेटघाट गरेर दुख साट्दा हलुंगो महशुस गर्छन् ।
नेपालमा १० वर्ष चलेको सशस्त्र हिंसामा पति गुमाउने महिलाहरुको अवस्था निकै निराशाजनक छ ।
जनगणना २०६८ का अनुसार नेपालमा एकल महिलाहरुको संख्या करिब ५ लाख छ, जसमध्येको ठूलो संख्या दशक लामो विवेकशून्य युद्धका कारण पति गुमाउनेहरुको छ । अधिकांश महिलाका लागि पति गुमाउनु भनेको आफूले एकपटक देखेको जीवन सक्किए जस्तै हो ।
महिला विधवा भएपछि उनीहरुको हिंडडुल, आर्थिक क्षमता, लुगा, गहनादेखि कतिपय अवस्थामा आफ्ना सन्तानसम्मको पहुँच पनि नियन्त्रित हुन्छ भने परिवारिक हैसियत पनि दोस्रो दर्जाको हुन पुग्छ । यस्ता महिलाका लागि हिन्दू परम्परा झनै कठोर भइदिन्छ ।
“श्रीमानको मृत्यु पछि पारिवारिक वातावरण एक्कासी बदलिन्छ, घरकै सदस्यहरु टाढिन थाल्छन, सबैले फरक व्यवहार देखाउँछन्,” तेह्रथुमकी कमला तामाङ भन्छिन । कमलाका प्रहरी पति मनप्रसाद मोक्तानको असार २०५८ मा माओवादीसँगको भिडन्तमा मृत्यु भएको थियो । “मैले परिवारबाट कुनै सहयोग पाइन,” कमलाले भनिन् ।
पतिको मृत्युपछि आफ्नो प्रत्येक गतिविधिमा छिमेकीले कुरा काट्ने गरेको सम्झिन्छिन्– मोरङ तेतारियाकी रेणु विश्वास ।
माओवादीले गोली हानेर घाइते भएका रेणुका पतिको ७ महिनापछि भदौ २०६१ मा अस्पतालमै मृत्यु भएको थियो । उनी सदभावना पार्टीका स्थानीय नेता थिए ।
“पतिको मृत्युपछि प्रशासनिक कामका लागि मलाई विराटनगर गइरहनु पथ्र्यो त्यस्तो बेला गाउँलेहरुले मलाई परपुरुषसँग सल्किएको आरोप लगाउँथे,” रेणुले भनिन् ।
आर्थिक परनिर्भरतासँगै खस्केको सामाजिक छवी र विधवापनको लाञ्छनाले एकल महिलालाई आफन्त, छिमेकीबाटै हिंसा र दुव्र्यवहारको जोखिममा पुर्याउँछ भने कैयन महिलाहरुको परिवारसँग सम्पर्क नै हुँदैन ।
मोरङकै ददरबेरियाकी रमावती कामतका पति घनश्याम स्वास्थ्य कार्यकर्ता थिए । माओवादीले आफ्ना घाइते लडाकुको उपचारका लागि भर्ना गरेका घनश्याम वेपत्ता भएपछि परिवारले त्यसको आरोप रमावतीलाई लगाए । यद्दपी उनलाई आफ्ना पतिले कहाँ के काम गर्थे भन्नेसम्म थाहा थिएन ।
१२ चैत २०६० मा घनश्याम र अन्य दुई जना थला गविसमा सुरक्षाकर्मीबाट मारिए । त्यसबेला घनश्याम र रमावतीका नौ महिनाकी छोरी र डेढ वर्षका छोरा थिए । घनश्यामको मृत्यु भएको केही दिनमै उनका सासु–ससुराले आफ्नो छोरा मारेको भन्दै मानसिक यातना दिन थाले ।
“सासु–ससुराले मेरो अरुसँग सम्बन्ध भएकोले मैले उनका छोरालाई ‘खाएँ’ भन्ने आरोप लगाए,” कठिन परिस्थिति भोगेकी ३१ वर्षीयाले सुनाइन् ।
पारिवारिक यातना असह्य भएपछि उनी आफ्नो माइती गइन् । अहिले आफ्ना छोराछोरीसँगै विराटनगरमा बसेकी रमावतीको घनश्यामका परिवारसँग कुनै सम्पर्क छैन । उनले परिवारबाट अंश समेत पाएकी छैनन् ।
मोरङ सिसबनीजहदाकी गितादेवी मुखियाले सेनाको इन्काउन्टरमा आफ्ना माओवादी पति गुमाइन् । दुई सन्तानकी आमा गीतादेवी त्यसबेला गर्भवती थिइन् । पतिको मृत्युपछि विक्षिप्त बनेकी उनी बेलाबेला पति जीवितै छन् जस्तो व्यवहार देखाउँथिन् ।
ठूलो मानसिक आघात पुगेकी उनलाई गाउँलेहरु ‘बोक्सी’ भन्दै थप मानसिक यातना दिए । रमावती जस्तै गीताले पनि दुव्र्यवहार सहन नसक्दा पतिको घर छोड्नु पर्यो ।
गीताले राज्यबाट तीन लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप प्राप्त गरिन तर आम्दानीको अन्य स्रोत नहुँदा उनलाई अहिले हातमुख जोर्न धौ धौ छ । उनले परिवारबाट अंश समेत पाएकी छैनन् ।
पति वा पुरुषको संरक्षण नहुँदा एकल महिलाहरु अनुचित हेराई र यौन हिंसामा पर्ने गरेका छन् ।
मोरङकै केराबारीकी दुर्गा खड्काका पति चन्द्रबहादुर १ माघ २०६० मा धनकुटामा भएको माओवादीसँगको भिडन्तमा मारिए । नेपाल प्रहरीका जागिरे चन्द्रबहादुरकी विधवा ३६ वर्षीया दुर्गा अहिले छोरीसँगै इटहरीमा पसल गरेर बस्छिन् ।
आफू एक्लै छु भन्ने थाहा पाएपछि अपरिचितहरुले दुख दिने गरेको, फोनबाट समेत धम्की दिने उनले बताइन् । “एकजना अपिरिचित बारम्बार पसलमा आउने र फोनबाट समेत दुख दिन थालेपछि अत्यन्तै डर लाग्यो, कति दिन त ढोका थुनेर घरभित्रै बसिरहें, छोरीलाई पनि बाहिर निक्लन दिइनँ” उनले भनिन् ।
विराटनगरकी सीता खड्काको पनि गीता भन्दा फरक अनुभव छैन । उनका पति इन्सपेक्टर जीवन खड्का १९ चैत २०५७ मा माओवादीबाट मारिए ।
पतिको मृत्युपछि एउटा कार्यक्रममा भेटिएका एकजनाले उनलाई बारम्बार फोन गरेर सताउन थाले । “प्रहरीमा खबर गरिदिन्छु भनेपपछि मात्रै उसले फोन गर्न छोड्यो,” सीताले भनिन् ।
“एकल भए पनि हामीले आफूलाई बचाउन विवाहिता भन्ने गरेका छौं, पश्चिम नेपालका कतिपय एकल महिलाहरुले सिन्दूर र पोते लगाउने गरेको देखें” उनले सुनाइन, “सुरक्षित रहन पनि ढाँट्नु पर्ने अवस्था छ ।”
एकल महिलाहरुले उनीहरुको आर्थिक आवश्यकता र सामाजिक ब्यवहारप्रति खुलेरै कुरा गरे पनि प्रेम, स्नेह र दोस्रो विवाहको बारेमा भने खुल्नै चाहँदैनन् ।
अधिकांश एकल महिलाहरु आफ्ना सन्तानकै भविष्यका लागि संघर्ष गरिरहँदा उनीहरुका लागि व्यक्तिगत खुशी प्राथमिकतामा परेको छैन । हाम्रो जस्तो समाज जहाँ महिलाले अरुको आवश्यकतामा पहिले ध्यान दिनुपर्ने बाध्यता छ, त्यसमाथि एकल महिलाहरुलाई संशयको नजरले हेरिन्छ, त्यस्तो समाजमा व्यक्तिगत खुशीको कुरा गर्नका लागि पनि ठूलै साहस चाहिन्छ ।
अर्कोतिर, युद्धका बेला पत्नी गुमाएका पुरुषहरुलाई भने परिवारले नै अर्को विवाह गर्न प्रोत्साहित गरेका छन् ।
“भावनात्मक साथका लाग दोस्रो विवाह गर्ने महिला निकै कम छन्, बरु दोस्रो विवाहमा आर्थिक कारण नै बढी देखिएको छ । सन्तानको स्याहार राम्रोसँग भइरहेको छ भने दोस्रो विवाहमा समाजले आपत्ति जनाउनु पर्ने कुनै कारण छैन,” दोस्रो विवाहको प्रस्ताव आए पनि अस्वीकार गरेकी हेमा सिंह भन्छिन् ।
हेमा सिंहका पति प्रहरी निरीक्षक अजयकुमार जनकपुरमा माओवादीले थापेको एम्बुसमा परेर मारिए । अहिले हेमा बिराटनगरमा ४ सन्तानसँगै (अजयकी जेठी पत्नीतर्फका तीनजना समेत) सँगै बस्छिन् ।
अजयको मृत्युपछि हेमालाई उनका सासु–सासुराले सिरहाको धनगढीस्थित घरमा बोलाए पनि उनी गएकी छैनन् ।
ससुरा नथुनी सिंहले अजयको मृत्युपछि सरकारले दिएको राहत रकम आफूले पनि पाउनुपर्ने माग गर्दै मुद्दा दायर गरे । अजयको पेन्सनमा समेत आफ्नो राजनीतिक पहुँचका भरमा दाबी गरेका उनले हेमालाई अंश समेत दिएका छैनन ।
तीन वर्षसम्म चलेको राहत रकमसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उक्त रकम हेमा, उनका छोरा, सौतापट्टिका ३ सन्तान, सासु र ससुराबीच बाँड्नु पर्ने फैसला सुनायो । यद्दपी सिंह परिवार धनगढीमा राम्रै आर्थिक–सामाजिक अवस्थाको परिवार मानिन्छ ।
हेमा भन्छिन, “हो उहाँहरु अजयका बाबु–आमा हुनुहुन्छ, तर उहाँहरुलाई राहतको आवश्यकता थिएन र उहाँहरु अजयमै निर्भर पनि हुनुहुन्थेन । त्यती रकमका लागि उहाँहरुबाट म सताइएँ, निकै दुख लागेको छ ।”
“सासु–ससुराले पैसामा हक देखाउन कुनै कसर बाँकी राख्नुभएन, तर मलाई भने अहिलेसम्म अंश समेत दिनुभएको छैन,” ४१ वर्षीया हेमाले भनिन् ।
मार्गरेट ओवेन भन्छिन, “युद्धमा पति गुमाएका महिलालाई द्वन्द्वपछिका संयन्त्रमा सहभागी बनाउन उनीहरुको पीडालाई बढी मुखर बनाउनु जरुरी छ ।”
अघिल्लो संविधानसभाका १९७ महिला सदस्यमध्ये ५१ जना एकल महिला थिए जसमध्ये अधिकांशले युद्धका बेला आफ्ना पति गुमाएका थिए ।
त्यस्तै एकल महिला दामा शर्मा भन्छिन, “क्षतिपूर्ति बाहेक युद्धमा पति गुमाएका महिलाका सन्तानलाई उच्च अध्ययनसम्म निशर्त छात्रवृत्तिको व्यवस्था गरिनुपर्छ र त्यसभन्दा माथि जनताले आफ्नो स्वामित्व महशुुस गर्ने संविधान चाँडै लेखिनु पर्छ ।”
तस्वीरहरु सबै: तृष्णा राणा
मुल अंग्रेजी संस्करणमा पढ्नलाई यहाँ क्लिक गर्नुहोस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
