रमझमबिहीबार, मंसिर २५, २०७१

फ्रन्टलाइन रिपोर्टर

हिमालखबर

-सञ्जीव शर्मा

तस्वीरः बिक्रम राई

तस्वीरः बिक्रम राई

कोलकाताबाट २०६ किलोमिटर पश्चिमको असनसोल शहर ठूलै ‘रेल्वे जंक्सन’ हो जहाँ वर्षौं पहिले स्मिताका हजुरबुबा जितेन्द्र र हजुरआमा तिलोकीदेवी पनि उत्रेका थिए। अन्तरजातीय विवाहलाई परिवारले अस्वीकार गरेपछि स्याङ्जा आँधीखोलाबाट झ्रेर देशै छाडेको त्यो जोडीले असनसोल नजिकै गोपालपुरमा घरजम गर्‍यो, त्यहाँको कोइलाखानीमा काम गर्दै।

तिनै जितेन्द्र र तिलोकीदेवी शर्माकी नातिनी स्मिता अहिले टेलिभिजन पत्रकारिताबाट भारतमा चर्चित छिन्। ‘टीभी टुडे नेटवर्क’ मा उप–सम्पादक रहेकी उनले काठमाडौंमा भर्खरै सम्पन्न सार्क शिखर सम्मेलनताका सञ्चालन गरेको ‘इन्डिया टुडे ग्लोबल राउण्ड टेबल’ धेरैले रुचाए। ‘टीभी टुडे नेटवर्क’ मा विदेश मामिला इन्चार्ज समेत रहेकी स्मिता ‘सनसनीखेज रिपोर्टिङ’बाट नभई इजिप्ट र बाङ्लादेशको आन्दोलनदेखि पाकिस्तानको निर्वाचनसम्मका लाइभ रिपोर्टिङबाट चर्चामा आएकी हुन्।

तस्वीरः बिक्रम राई

तस्वीरः बिक्रम राई

प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराईको अन्तर्वार्ता लिएकी स्मिताले बालुवाटारमा आफू ‘नेपाली हुँ’ भनेपछि भट्टराई पत्नी हिसिला छक्कै परेको बताउँछिन्। हिसिला छक्क पर्नुको कारण अर्को पनि थियो, उनी अन्तर्वार्ताका लागि ठूलो क्यामरा बोकेर एक्लै पुगेकी थिइन्। त्यसमाथि स्मिताले नेपाली भाषा–संस्कृति बिर्सेकी छैनन्। स्मिताकी आमा अझै पनि असनसोलमै बस्छिन्।

नारायणचन्द्र र निर्मला शर्माका चार सन्तानमध्ये साहिंली स्मिताले असनसोलमा १२ कक्षा सकेपछि कम्युनिकेटिभ इङ्गलिशमा कोलकाताबाट ग्य्राजुएशन गरिन्। कोलकाताकै  जादवपुर युनिभर्सिटीमा मासकम्युनिकेसनमा पीजी डिप्लोमा र दिल्लीस्थित इन्डियन इन्स्टिच्यूट अफ मासकम्युनिकेशनमा ब्रोडकास्टिङ जर्नलिज्म पढ्दा ब्याच टपर भएकी स्मिता भन्छिन्, “सानो शहरको परम्परागत परिवारमा हुर्केकी हुँदा मलाई पत्रकारिताको फराकिलो र उदार क्षेत्रले आकर्षित गर्‍यो।”

२००३ मा सरकारी टेलिभिजन ‘दूरदर्शन’ मा जुनियर करेस्पोन्डेन्टको रूपमा पत्रकारिता थालेकी स्मिताले दूरदर्शनले छुट्टै समाचार च्यानल शुरू गरेपछि त्यसमा ‘यूथ टक शो’ चलाउन थालिन्। स्मिता भन्छिन्, “भारतका साना शहरहरूमा अहिले पनि मलाई धेरैले त्यही ‘टक शो’ बाट चिन्छन्।”

२००५ मा ‘आईबीएन–१८’ समूहको आईबीएन सेभेनमा काम शुरू गरेकी उनले गत असोजसम्म करीब नौ वर्ष त्यहाँ काम गरिन्। अमेरिकाको एडवर्ड आर मरो फेलोशिप लगायतका प्रशिक्षणमा सहभागी भइसकेकी स्मिता पत्रकारितालाई लगनको पेशा मान्छिन्। “राइट टू क्वेश्चन र स्टोरी टेलिङले पनि मलाई पत्रकारिता मन परेको हो”, उनले भनिन्।

पत्रकारितामा राष्ट्रियस्तरको पुरस्कार पाइसकेकी उनले भारतका चर्चित अन्य पत्रकारले जस्तै किताब लेख्न थालेकी छन्– ‘ट्राभलग इन पाकिस्तान।’

पत्रकारिताले स्वस्थ शरीरको माग गर्ने बताउने उनी साधिएकी कत्थक नर्तकी पनि हुन्। ‘फिट’ रहन उनी कत्थक नाच्छिन्। स्वास्थ्य रक्षाका लागि जङ्क फूड ठ्याप्पै छोडेकी यी चर्चित टीभी जर्नालिष्ट भारतीय च्यानलहरूको ‘सनसनीखेज’ समाचारमोहका पछाडि ‘टीआरपी बढाउने चक्कर’ रहेको बताउँछिन्।

लगातार तीन वटा सार्क शिखर बैठक ‘कभर’ गरेकी स्मिता भारत–पाकिस्तान चिसो सम्बन्धले सार्कको उद्देश्य ओझ्ेलमा पर्दै आएको बताउँछिन्। उनका अनुसार, यस पटकको काठमाडौं सम्मेलन पनि अपवाद हुन सकेन। भारतमा नरेन्द्र मोदीको उदय नेपालको लागि सहज हुने उनको विश्लेषण छ। “सबै कुरा आफ्नै नियन्त्रणमा राख्ने प्रधानमन्त्री मोदीको स्वभाव छ”, स्मिता भन्छिन्, “यसको अर्थ, अब नेपाल–भारत ‘डिलिङ’ सुरक्षा एजेन्सीमार्फत नभएर राजनीतिक तहमा हुन्छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>