ब्लगशुक्रबार, मंसिर २६, २०७१
अस्पतालमा दुर्घटना !

बिरामी ललितमाया खड्काको ज्यान लिएको इमाडोल, ललितपुरस्थित किष्ट मेडिकल कलेज अस्पतालको ‘डक्ट’ भित्रको भ्वाङ। तस्वीरः अन्नपूर्ण पोष्ट
६ मंसीरमा ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको निर्माणाधीन भवनमा ‘लडेर’ ८१ वर्षीया ललितमाया खड्काको ज्यान गयो। संचारमाध्यमहरूमा ‘शौचालयमा खसेर वृद्धाको मृत्यु’ भन्दै समाचार आएको त्यो दुःखद् घटना अस्पताल प्रशासनको लापरबाहीको गम्भीर परिणाम थियो। त्यो घटना शौचालय बनाउन राखिएको खाल्डो या भ्वाङमा नभई भित्र उज्यालो पार्न तथा पाइपहरू पठाउन बनाइएको डक्ट (माथि छानाले छोपिने खाल्डोजस्तो संरचना) मा भएको तस्वीरहरू हेर्दा देखिन्छ। समाचार अनुसार, मेडिकल वार्डको शौचालय खाली नभएपछि शौचालय भन्ठानेर वृद्धाले आडैको ढोका खोलिन्। खोल्नु के थियो, उनी बेसमेन्टमा खस्न पुगिन्।
अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले पाइपहरू मिलाउन ढोका खुल्लै राख्दा दुर्घटना भएको भन्दै पीडित परिवारसँग माफी मागेका छन्। तर, त्यहाँभित्र मान्छे छिर्लान्, दुर्घटना होला कि भनेर सुरक्षागार्ड राख्ने, ताला मार्ने या डोरीले घेर्ने काम नगरिएको प्रष्टै छ। किष्टको यो दुर्घटना एउटा प्रतिनिधि घटना मात्रै हो। भवन निर्माण स्थलहरूमा यस्ता असावधानी दिनहुँ भइरहेको अनुमान सजिलै गर्न सकिन्छ।
सबै घटना मिडियामा आउँछन् भन्ने हुँदैन। सबभन्दा खतरनाक कुरा त, हामीकहाँ निर्माणाधीन भवनमै व्यवसाय संचालन गरिन्छ। कामदारहरूले बेल्ट, हेल्मेट र सुरक्षाका अरू उपाय नअपनाई बाँसमा अडिएर रंगरोगन वा प्लास्टर गरिरहेको दृश्य शहरमा जताततै देखिन्छ। कामदार सचेत भएनन् लौ, इन्जीनियरहरूले त सुरक्षाका उपाय सिकाउन्, व्यवस्थापनलाई भनेर त्यस्ता सामग्री–उपकरण किनाउन सचेत हुनुपर्ने हो नि!
निर्माणमा संलग्न मजदूर–प्राविधिकहरूको सुरक्षाको चिन्ता नगर्नुभन्दा कम घातक छैन, निर्माणाधीन भवनभित्र व्यवसाय सञ्चालन। अस्पतालमा त त्यसो गर्न दिन हुँदै हुन्न। निर्माणाधीन भवनमा जतासुकै मान्छे खस्ने ठाउँहरू हुन्छन्। न डक्टहरू बन्द गरिएका हुन्छन् न त भर्याङ र छतमा रेलिङ हुन्छन्। लिफ्ट राख्ने ठाउँ पनि त्यस्तै डरलाग्दो बनेर बसेको हुन्छ। माथिबाट निर्माण सामग्रीहरू खसेर लाग्ने जोखिम उत्तिकै हुन्छ। त्यस्तो ठाउँमा पनि कसैले व्यवसाय गरेर कमाउने सुर गर्छ भने नियमनकारी निकायहरू सक्रिय हुनुपर्ने हो। निर्माणाधीन भवनमा अस्पताल चलाउन पाइने मापदण्डभित्र पर्ने कुरै आएन। भवन विभाग जस्ता नियमनकारी निकायले राम्ररी जाँच गरेर मात्र सञ्चालनको अनुमति दिने काम भैदियो भने दुर्घटनामा कमी आउँछ।
शिक्षण अस्पतालहरूका भवनहरूले बारम्बार दुर्घटना निम्त्याएका छन्। सन् २००५ मा पोखराको फूलबारीस्थित मनिपाल अस्पतालको छाना अड्याउने फलामे ट्रस खस्दा १० जनाले ठाउँको ठाउँ ज्यान गुमाउनु परेको थियो। अग्लो घर बनाउन नपाइने पोखराको प्रचलित मापदण्ड मिचेर सरकारले नै बढी तला बनाउन अनुमति दिएको उक्त अस्पतालको दुर्घटना स्मरणीय छ। करीब तीन वर्षअघि पनि धनुषाको जानकी मेडिकल कलेजको छतबाट खसेर एमबीबीएस अन्तिम वर्षकी छात्रा विद्या दाहालको निधन भयो। ‘छात्राले हाम्फालेर आत्महत्या गरेको’ भन्दै अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाएको त्यो घटनापछि छत वरिपरि पर्खाल र रेलिङ नभएको समाचार पनि छापामा आएका थिए। माथि नै भनियो, यो प्रकृतिको स–साना दुर्घटना बारम्बार हुने गरेका छन्। तिनलाई लुकाइएको मात्र हो।
भूकम्पीय जोखिम, आगलागी र अन्य दुर्घटनाबाट बचाउन अस्पताल भवनको डिजाइन तथा निर्माण दुवै संवेदनशील कुरा हो। यसका लागि सरकारले मापदण्ड पनि बनाएको छ, तर निरन्तर अनुगमन र मूल्याङ्कन नहुँदा दुर्घटनाहरू हुने गरेका छन्। भवन बलियो र व्यवस्थित छ भने पनि केही दुर्घटना होला कि भनेर हरक्षण चनाखो हुनुपर्छ। त्यसका लागि हरेक अस्पतालको इन्जीनियरिङ्ग विभाग चुस्त–दुरुस्त रहनुपर्छ। किष्टको दुर्घटनाबाट पाठ सिक्दै हरेक अस्पतालले आफ्नो परिसर दुर्घटनारहित बनाउन पहल गर्ने आश गरौं। मानिसहरू अस्पतालभित्रै दुर्घटनाको शिकार भएको सुन्नु नपरोस्। अस्पताल परिसरलाई दुर्घटनामुक्त बनाउनेको जय होस्!
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
