थप समाचारशुक्रबार, मंसिर २६, २०७१
बाइस पाटनको स्वर्ग (१५ मनमोहक तस्वीर)
शब्द/तस्वीरः भरतबन्धु थापा
सुदूरपश्चिम पहाडको बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड क्षेत्र पुग्नै गाह्रो; पुगेपछि भने वैरागी पनि रोमाञ्चित हुन्छन्, प्रकृतिका अनेक छटाले। धार्मिक पर्यटकीय क्षेत्र भनिए पनि खप्तड घोर नास्तिकहरूका लागि पनि दर्शनीय छ। खप्तडको जुनसुकै भागमा उभिए पनि मानिसले मनोहर प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछ।
विशाल–विशाल गलैंचा ओछ्याइएका जस्ता लाग्ने ठूला–साना २२ पाटन (नागी), तिनका वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका हिमालले खप्तडलाई पृथ्वी–तलको स्वर्ग बनाएको छ। त्रिवेणीमा अवस्थित शिवमन्दिर, खप्तड दह, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा, खप्तड बाबाको कुटी लगायतका स्थलहरूले २२५ वर्गकिलोमिटरको यो क्षेत्रमा धार्मिक–सांस्कृतिक आयाम थपेका छन्।
५६७ प्रजातिका वनस्पति रहेको खप्तड क्षेत्रमा १३५ किसिमका फूल फुल्छन् र २७० किसिमका चराचुरुङ्गीमध्ये १७५ प्रजातिले यहीं बच्चा कोरल्छन्। बझाङ्गे पाहा, हरियो छेपारो र बाघबुट्टे निगालो पाइने खप्तड राष्ट्रिय निकुञ्जमा विश्वमै हराउँदै गएको थलथले घाँसे मैदानहरू छन्।
अपार पर्यटकीय सम्भावनासहितको खप्तडको विकासमा सरकारको ध्यान भने पुगेको छैन। एकदमै कम पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा बास र खानपिनको राम्रो प्रबन्ध छैन। यद्यपि, पछिल्लो समय सुदूरपश्चिमका व्यवसायीहरूले यहाँको विकासका लागि व्यक्तिगत र संस्थागत प्रयास थालेका छन्।
कसरी पुग्ने?
खप्तड जाने चलनचल्तीको बाटो डोटी सदरमुकाम सिलगढी भएर जान्छ। विमान वा बसबाट धनगढी पुगेर सिलगढी जाने गाडी समाउनुपर्छ। सिलगढीबाट बिहानै पैदल हिंड्दा खाना खान बगलेग र बास बस्न झिगरानामा पुगिन्छ। दोस्रो दिनको यात्राको शुरूमै खप्तड निकुन्ज भेटिन्छ।
बिहानको शीतलमा ठाडो उकालो काटी बिचपानीमा खानपिन गरेर साँझा त्रिवेणी मन्दिर पुगिन्छ।फागुनमा खप्तड पुग्नेहरूले पाटनहरूमा हिउँ खेल्ने रहर मज्जाले पूरा गर्न सक्छन्। समुद्र सतहबाट २७ सयदेखि ३२ सय २७ मिटरसम्मको उँचाइमा खप्तडले हिउँदका तीन महीना कति बाक्लो हिमसिरक ओढेको हुन्छ भन्ने कुरा वैशाखसम्म पनि रहने हिउँले बुझाउँछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट